पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–३ पकाहास्थित रामचरित्र भगत माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको क्रममा ठेकदारको लापरवाहीले लाखौं रुपियाँको धनमाल क्षति भएको छ । गापाको आर्थिक लगानीमा विद्यालय भवन निर्माण भइरहेको छ । चार करोड निर्माण लागत स्टीमेट गरिएकोमा ठेकदारले दुई करोड २७ लाखमा ठेक्का सकार गरेको छ । गापाले रु चार करोड लागत स्टीमेट तयार गरेकोमा ठेकेदारले आधा रकम कममा ठेक्का सकार गरेकोले विद्यालय भवनको काम गुणस्तरीय हुने कुरामा आशङ्का छ । आठ कोठे पक्की भवनको निर्माण लागत स्टीमेटभन्दा आधा कममा सकार गर्नुले गापाका प्राविधिकहरूको त्रुटि हुनुपर्छ । चार करोड लागत स्टीमेट गरिएकोमा आधामा सकार गर्ने हिम्मत ठेकेदारले जुटाउनुले पनि यसमा मिलेमतो देखिन्छ । हैन भने यति ठूलो अन्तरमा ठेक्का सकार गरेर घाटा बेहोर्ने काम ठेकेदारले गर्न सक्दैन । यो त भयो ठेक्काको कुरा त्यस अतिरिक्त ठेकेदारले विद्यालयको पुरानो संरचनाबाट गापालाई हुने आम्दानी पनि हानि गरेको छ । ठेक्का सकार गर्दा गापा र ठेकेदारबीच केही शर्तहरूमा सम्झौता हुन्छ । कति अवधिमा काम सम्पन्न गर्ने, ठेक्काबापतको भुक्तानी कसरी गर्ने, निर्माण सामग्रीहरू कुन कुन प्रयोग गर्ने आदि । ठेकेदारले ठेक्का सकार गरेपछि गापाध्यक्षले काम शुरू गर्न आदेश दिएको बताइन्छ ।

ठेकेदारले काम शुरू गरेर विद्यालयको पुरानो संरचना भत्काएपछि पूर्वअध्यक्षसहित स्थानीयहरूको विरोध शुरू भएर मात्र गापाध्यक्ष स्वयम् आफूले काम शुरू गर्न भनेको तर पुरानो संरचनालाई स्काभेटर लगाएर भत्काउने आदेश नदिएको कुरो बाहिर आएको हो । विवाद भएपछि पन्छिने र निर्विवाद कामको जस लिने जनप्रतिनिधिहरूको कार्यशैली बनिसकेको छ र पकहामैनपुर गापाध्यक्षले पनि सोही जुक्ति लगाएको देखिन्छ । हैन भने काम शुरू गर्नुपूर्व विद्यालयको संरचना विवादित तरीकाबाट भत्काउने कार्य ठेकेदारले गर्दैन । पुरानो संरचनाबाट हुने आम्दानीको भागीदार ठेकेदार हुने होइन । त्यसको लाभ गापा कार्यालयलाई हुने हो । ठेकेदारलाई पुरानो संरचना यसरी भत्काउनु भनेर निर्देशित गर्नुपर्ने थियो । विद्यालय भवन निर्माण गर्ने क्रममा गरिएको सम्झौतामा पनि यो कुरा उल्लेख गर्नुपर्ने थियो । गरिएको थिएन भने त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारलाई दिनु गलत हुन जान्छ । सम्झौतामा त्यस प्रकारको प्रावधान राख्न भूल भएको छ भने त्यसको नैतिक जिम्मेवारी गापा कार्यालय र अध्यक्षले लिनुपर्छ । ठेकेदारले सम्झौता अनुसार पुरानो भवन भत्काएर नयाँ भवन निर्माणको थालनी गर्नु कुनै पनि दृष्टिकोणबाट गलत देखिन्न । गापाध्यक्षले यसको नैतिक जिम्मेवारी लिएर आगामी दिनमा यस प्रकारका त्रुटि हुन दिनुहुन्न ।

नियत सफा छ भने काम गर्दा गलती हुने कुरालाई इमानदारी साथ स्वीकार्ने परिपाटी हामीमा विकसित हुन सकेको छैन । गलतीलाई ढाकछोप गर्ने, स्वीकार नगर्ने र लिडेढिपी लिने प्रवृत्ति हाबी हुँदै गएको छ । यो राम्रो लक्षण होइन र यस कारण पनि मानिसहरूमा विश्वास गर्ने वातावरण मर्दै गएको छ । गापाध्यक्षले आफूबाट भएको गलती स्वीकार गरेर आगामी दिनमा यस प्रकारका घटना हुन दिन्नँ भन्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ । विद्यालय भवनको निर्माण सबैका लागि हो । गलती मानिसबाटै हुन्छ भन्ने कुरा बुझ्न र बुझाउन नसकिएको कारण विवाद सिर्जना हुने गरेको छ र पकाहामैनपुरमा पनि यही भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here