नेकपा (एमाले) बारा जिल्लाको अधिवेशन एक साता लामो चल्यो । अधिवेशन उद्घाटन भएर बन्दसत्रबाट अध्यक्षमण्डल र निर्वाचन अधिकृत चयन तोकिएकै अवधिमा सम्पन्न भएपनि निर्वाचन प्रक्रिया तोकिएको समयमा हुन सकेन । मुश्किलले तीन दिनमा सकिनुपर्ने अधिवेशन एक साता लम्बियो । नयाँ नेतृत्व चयनका लागि सहमतिबाट सम्भव नभएपछि निर्वाचनबाट त्यसको टुङ्गो लगाउनुपर्ने हो । निर्वाचन प्रक्रियासँगै सहमतिका प्रयासहरू हुनुपर्ने हो । सहमतिका प्रयास गरिंदा निर्वाचन प्रक्रिया रोकिनुहुँदैन । यसले सहमतिको नाममा आपसी द्वन्द्वलाई निम्त्याउँछ र बाराको अधिवेशनमा त्यस्तै भयो । निर्वाचन अधिकृतले निर्वाचन कार्यविधि सार्वजनिक गरेपछि सोअनुरूपको कार्यतालिकालाई अगाडि बढाउन नसक्नु कमजोरी होे । निर्वाचन कार्यतालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनमा पूर्वसहमति नहुँदा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनको काम गरिएको भए ढिला हुने थिएन । यसो नहुँदा नेता, कार्यकर्ताहरूले स्थानीय र माथिको शक्ति देखाउने अवसर पाए ।
कुनै कुरामा असहमति देखिए त्यसको निराकरण पार्टीको विधि विधान अनुसार गरिनुपर्नेमा सोविपरीत नेताहरूको सोर्सफोर्समा केन्द्रित भएको कारण निर्वाचन प्रक्रिया लम्बियो । एमाले कार्यकर्ताहरूको लेबीमा सञ्चालित हुँदै आएको दाबी गरिन्छ । अधिवेशन लम्बिंदा पार्टी कार्यकर्ताहरूले बुझाएको लेबीबाट मात्र सम्भव हुने सवाल रहेन । त्यसमा अदृश्य आर्थिक कारोबार भएकै हुनुपर्छ । अरू पार्टीभन्दा पृथकरूपमा सञ्चालनको दाबी गर्ने एमालेको अधिवेशनले आर्थिक पारदर्शितालाई तिलाञ्जलि दिएको देखिएको छ । एक सातासम्म अधिवेशन लम्बिंदा पार्टीका मतदाताहरूलाई समस्या भयो नै त्यसको व्यवस्थापन गर्ने नेताहरूलाई पनि थप आर्थिक भार थपियो । अधिवेशन सदरमुकाम कलैयामा गरिएको थियो र निजगढ, सिम्रौनगढ, कोल्हवी, जीतपुरसिमरा, परवानीपुर, महागढीमाईलगायतका पालिकाहरूबाट पार्टी कार्यकर्ताहरू मतदानका लागि सदरमुकाम केन्द्रित हुँदा कतिको आर्थिक समस्याहरू झेल्नुप¥यो त्यसको अनुमान गर्न सकिन्छ । भर्खरै बारा जिल्लामा भएको यो घटनाबाट एमाले पर्साले पाठ सिकेर अधिवेशनलाई व्यवस्थित तरीकाबाट तोकिएको कार्यसूची अनुसार सञ्चालन गराउन सक्नुपर्ने थियो ।
तर पर्साले पनि बाराको सिको गरेर जगहँसाइ गर्न पुग्यो । नेतृत्व चयनको लागि हात हालाहालसमेत भयो । पर्साको अधिवेशन उद्घाटन समारोह बिपी उद्यानको लाल बङ्गलामा तामझामका साथ गरियो । त्यसपछिको बन्दसत्र क्लासिक ब्याङ्केटमा गरियो भने निर्वाचन अनमोल पार्टी प्यालेसमा । बाराभन्दा झन बढी खर्च भयो, दूरदराजका पालिकाहरूबाट आएका कार्यकर्ताहरूको बिजोग भयो । नेताहरूका आसेपासे र गुटबन्दीमा रहेकाहरूले मोजमस्ती गरेपनि अन्य तटस्थ कार्यकर्ताहरूलाई समस्या भयो । पार्टीले खाना, नास्ता र बाँसको प्रबन्ध गरेको थिएन । एकाध छाक लाजगालले खानासम्म खुवायो, बाँकी भगवान्भरोसे । कार्यक्रमहरू कम खर्चमा गर्नुपर्छ भनी भाषण दिन एमाले नेताहरू खप्पिस छन् तर आफ्नै पार्टीको अधिवेशनमा भने यो नियम पालना गराउन सकेनन् । जित्ने पनि एमाले हार्ने पनि एमाले, नेतृत्वमा जानेहरूले पार्टीको काम गर्ने हो, त्यो पनि विनापारिश्रमिक । त्यसको लागि यत्रो महाभारत गर्नु बुझिनसक्नुभएको छ ।