विमला गुप्ता, वीरगंज, २१ वैशाख/
वीरगंज महानगरको ऐतिहासिक एवं धरोहरको रूपमा चिनिने गहवामाई मन्दिरमा रहेको रथको मण्डप चाँदीको बनाइने भएको छ ।
श्री गहवामाई रथयात्रा समितिले पत्रकार सम्मेलन गरी माताको रथको मण्डपलाई चाँदीको पत्रले ढाक्ने जनाएको छ । साथै यही असार २३ गते मन्दिरको १२औं वार्षिकोत्सवका अवसरमा बृहत् रथयात्रा निकालिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।
रथको मण्डप चाँदीको पत्रले ढाक्न १५ किलो चाँदी लाग्ने समितिले जनाएको छ । जसमा अहिलेसम्म पाँच किलो चाँदी स्थानीय दाताहरूले सहयोगबापत उपलब्ध गराइसकेको अध्यक्ष पोखरेलले बताए । उनले अझै १० किलो चाँदी चाहिने भएकोले दाताहरूलाई सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहने व्यक्तिले मन्दिर परिसरमा रहेको समितिको कार्यालय अथवा रथ समितिका उपाध्यक्ष देवानन्द कलवार र कोषाध्यक्ष रवि अग्रवाललाई सम्पर्क गर्न उनले बताए ।
गहवामाईको रथ निर्माणमा पछिल्लो वर्ष करीब २० लाख रुपियाँँ खर्च भएको रथयात्रा निर्माण समितिका महासचिव लक्ष्मीनारायण (पप्पु) गुप्ताले बताए । उनले यसका लागि वीरगंज महानगरपालिकाले तीन लाख रुपियाँ, माईस्थान मन्दिर सञ्चालक समितिले साढे तीन लाख र बाँकी रकम स्थानीय दाताहरूले दानस्वरूप सहयोग गरेको बताए । पछिल्लो वर्ष रथ निर्माणमा करीब चार सय घनफिट काठ प्रयोग गरिएको थियो । काठ वन विभागले सरकारी मूल्यमा उपलब्ध गराएको उनले बताए । सखुवा र सिसौंको काठले तयार पारिएको रथ दुई महीनामा तयार भएको थियो । स्थानीय १० जना कारीगरले निर्माण गरेको रथमा यस वर्ष अधूरो काम पूरा गरिने महासचिव पप्पु गुप्ताले बताए । माताको मन्दिरलाई देशव्यापीरूपमा चिनाउन समितिको अहम् भूमिका रहेको छ ।
गहवामाई मन्दिरको सयौं वर्ष पुरानो इतिहास छ । गहवामाई रथयात्रा समितिले मन्दिरको पहिचान देशव्यापी बनाउन र आन्तरिकलगायत भारतीय पर्यटक भिœयाउन केही वर्षदेखि उदाहरणीय कार्य गर्दै आएको छ । समितिले स्थानीय युवा तथा दाताहरूको सक्रियतामा पछिल्लो वर्षदेखि पहिलोपटक महाआरती र महाप्रसादको समेत आयोजना ग-यो भने मन्दिरकै इतिहासमा पहिलोपटक रथयात्रा निकाल्यो, जसको प्रशंसा देश तथा विदेशमा रहेका वीरगंजवासीले गरेका थिए ।
मन्दिरको दक्षिण भागमा रहेको खाली पर्खालमा पछिल्लो वर्ष स्थानीय दाताले भारतको महाराष्ट्रको पुणेबाट कलाकार बोलाइ माताको आकृतिको चित्रकला बनाए । जसको प्रशंसा पूरै नगरवासीले गरे, यसमा पनि रथयात्रा समितिको विशेष भूमिका रह्यो । अहिले मन्दिरमा आउने जो कोही भक्तजन चित्रकलासँगै फोटो लिएरै जान्छन् । यसरी मन्दिरको पहिचानले भारतमा पनि वीरगंज महानगरको नाम बढ्दै गएको छ । यस वर्ष पनि रथयात्रा समितिले मधेस प्रदेशमैं उदाहरणीय कार्य गर्ने सोच बनाउँदै रथको मण्डपलाई चाँदीको कलाकृतिले शृङ्गार गरेर नगरपरिक्रमा गराउने बताएको छ ।
गत वर्ष हजारौं श्रद्धालुको सहभागितामा गहवामाईको रथयात्रा निकालिएको थियो । गत वर्ष असार ५ गते वीरगंजवासीको आस्थाको केन्द्र मानिने गहवामाईको नवनिर्मित मन्दिरको ११औं वार्षिकोत्सवको अवसरमा पहिलोपटक रथयात्रा निकालिएपछि पर्सा, बारा, रौतहट तथा सीमापारि भारतका हजारौं श्रद्धालु रथयात्रामा एकजुट भएका थिए । देवीको रथलाई तथा पूmलैपूmलले दुलहीझैं सिङ्गारिएको थियो । मन्दिर पनि सयपत्री पूmल र झिलिमिली बत्तीले सजाइएको थियो । रथयात्रामा भोजपुरी समुदायका पारम्परिक लोकबाजा तथा धार्मिक नृत्य र झाँकी प्रस्तुत गरिएको थियो ।
वीरगंज नगरको स्थापना गहवा गाउँँबाट भएको मान्यता रहेको छ । गहवामाईकै नामबाट सो ठाउँको नाम परेकोले गहवामाईलाई नगरदेवीको रूपमा पुज्ने गरिन्छ । यहाँको हरेक धार्मिक कार्यदेखि विवाह, यज्ञ जे गर्दा पनि स्थानीयले घरको कुलदेवतापछि उनैलाई आह्वान गर्ने धार्मिक रीतिरिवाज छ । वीरगंज बजारको मुटुमा अवस्थित गहवामाईलाई ‘दुअरदेवीमाई’ “माईस्थान” अर्थात् देवीको स्थान भनेर पनि चिन्ने गरिन्छ । वीरगंज आउने जो कोही हिन्दू धर्मावलम्बी एकपटक गहवामाईको दर्शन अवश्य गर्छन् ।
स्थानीय युवाहरूको सक्रियतामा भएको रथयात्रा सराहनीय भएको माईस्थान सञ्चालक समितिका पूर्वअध्यक्ष दिनाप्रसाद गुप्ताले बताए । धर्मप्रति युवाहरूको आस्था हराइरहँदा अहिले युवा जमातले ऐतिहासिक काम गरेको र उनीहरूकै सक्रियतामा यस्ता बृहत् कार्यको आयोजना हुनु सम्पूर्ण नगरवासीको लागि खुशीको कुरा भएको उनले बताए ।