यस वर्ष पनि हरेक वर्षझैं ‘मजदूर दिवस’ को अवसरमा मजदूरहरूको खिसी गर्दै भोको पेट, विस्थापित पेशा तथा बेरोजगारी हातहरूको दर्दनाक आलो घाउमा नुनचुक दल्दै शुभकामना दिने काम निर्लज्ज राजनीतिक पार्टीहरूले मात्र होइन, राजसत्ताले समेत हाँसीहाँसी हर्षोल्लासका साथ निर्वाह गरेको छ । भन्नको लागि यस वर्षको मजदूर दिवस ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ नाराका साथ धूमधामसँग मञ्चन गरियो । मजदूर आन्दोलनको सम्झनामा विश्वभर १३५ वर्ष पहिले मजदूरहरूमाथि गरिएको दमन र त्यसविरुद्ध भएको सशक्त आन्दोलनको सम्झनास्वरूप आजसम्म निरन्तर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ । त्यति बेला श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदूरका लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको भए पनि नेपालजस्तो देशमा मजदूरको हालत साह्रै दयनीय छ । मजदूर आन्दोलनको इतिहास हेर्दा सन् १८८६ मा अमेरिकाको शिकागोको हेय मार्केटमा एक अज्ञात व्यक्तिद्वार बम विस्फोट गराइयो । विस्फोट कसले गरायो भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदूरमाथि व्यापक दमन ग-यो । प्रहरीको गोली लागी सातजनाको मृत्यु भयो र अन्ततः मजदूर आन्दोलन सफल भयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो । विश्वका मजदूरहरूले सो दिवसलाई विशेष पर्वका रूपमा लिंदै गुणस्तरीय जीवन बिताउन आप्mना सुविधामा समयानुकूल बढोत्तरी तथा अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेको देखिन्छ । तर यति बेला अवस्था बदलिसकेको छ । खासगरी पूँजीवादी व्यवस्था दलाल पूँजीवादमा रूपान्तरण भइसकेपछि नेपालजस्तो देशमा मात्र नभई संसारभरि नै मजदूरहरूको अवस्था निकै दयनीय हुन पुगेको छ । किनभने यति बेला पहिलेको निजी कम्पनीहरूको प्रतिस्पर्धात्मक अवस्थालाई समाप्त गरेर बहुराष्ट्रिय कम्पनीमार्फत बढीभन्दा बढी मजदूरहरूलाई कारखाना बाहिर राख्ने, कानूनीरूपमा अधिकारविहीन बनाउने तथा मानव श्रमभन्दा विज्ञान र प्रविधिको प्रयोग बढी गर्ने अवस्थाले मजदूरहरू फेरि एकचोटी दासमा रूपान्तरित हुन पुगेका छन् ।
यद्यपि नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ । तर यी सबै कागजको पानामा मात्र सीमित रहेको छ । यथार्थको धरातलमा यति बेला उद्योग–धन्धा नै चौपट भएको छ । दलाल पूँजीवादले सुनियोजित तरीकाले नेपालको सम्पूर्ण उत्पादन बन्द गरेको छ । र यहाँको सस्तो श्रम विश्व बजारमा किनेर उपयोग गरिरहेको छ । संसदीय राजनीतिमा नेपालका तथाकथित कम्युनिस्ट नेताहरू भोट आकर्षित गर्न यतिसम्म खसेका छन् कि चुनावी भाषणमा फ्री टिकट फ्री भिसा बाँड्ने आश्वासन दिन पछि पर्दैनन् ।
नेपालमा, सबैभन्दा पहिले विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । यस वर्ष विश्व मजदुर दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताए । शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरोन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबूत हुनुपर्ने बताए । शुभकामना सन्देशमा– “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महŒवपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।” तर उक्त शुभकामना कार्यान्वयनका लागि गर्नुपर्ने व्यावहारिक कामहरूको सन्दर्भमा कुनै प्रकारको योजना न राष्ट्रपति महोदयबाट, न सरकारबाट अहिलेसम्म संसद्मा पेश भएको छ ।
विश्व मजदूर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिंदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे । यहाँनिर प्रश्न उठ्छ के शुभकामना दिंदैमा श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक सामाजिक सुरक्षा लगायत व्यवस्थापन भइहाल्छ ?
यस सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताए । शुभकामना दिंदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आप्mनो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हक प्रत्याभूत गरिएको बताए ।
मजदूर दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा प्रेषित शुभकामना सन्देश गर्व गर्ने लायकको देखिन्छ । तर यसको निहितार्थ के हो, हामी सबैलाई थाहा छ । नेपालमा प्रायः उद्योगधन्दा बन्द छन् । मजदूरहरूको बिचल्ली छ । कारखाना मालिकहरू हायर एन्ड फायरको नीति बनाएर बसेका छन् । उनीहरू चाहिएको बेला मजदूर भर्ना गर्न सक्छन्, नचाहिएको बेला बर्खास्त गर्न सक्छन् । यति मात्र होइन, नो वर्क नो पेमेन्ट अर्थात् जति अन्याय अत्याचार भए पनि आप्mनो हक अधिकारको लागि मजदरुरहरू आन्दोलन गर्नै सक्दैनन् । यस्तो खालको कानूनी प्रावधान बनाएर कसरी मजदूरको हक हित फल्नफुल्न सक्छ ? मजदूरहरू हडतालमा गएका दिनको तलब पाउँदैनन् भने आप्mनो हक–अधिकारको लागि कसरी सङ्घर्ष गर्छन् ? यस कुराको जवाफ गणतान्त्रिक सरकारले दिनुपर्दछ । विदेशी दलाल पूँजीपतिहरूको कमिशन खानको लागि आप्mनो देशको सम्पूर्ण कारखाना बन्द गर्ने वा छद्म कारखाना चलाएर मजदूरको हक हित होला भन्ने कसरी मान्न सकिन्छ ? यस अर्थमा नेपाल सरकार वा राजनीतिक पार्टीहरूले रोजगार सिर्जना नगरी, उत्पादनका साधनहरू सञ्चालन नगरी प्रत्येक वर्ष मे १ मा छुट्टी दिनु र मे दिवसको शुभकामना प्रेषित गर्नु मजदूरहरूको आलो घाउमा नुनचुक दल्नुबाहेक के होला ?
हामी सबैले जानेकै कुरा हो । प्रत्येक दिन विदेशबाट रातो बाकसमा मजदूरहरूको लाश नेपाली भूमिमा फर्कने गर्छ । यी लाशहरू बेरोजगारबाट बच्न, घरपरिवार चलाउन विदेशिएका थिए । तर सपना सपनै रह्यो, विपना बन्न नपाउँदै लाशमा परिणत हुन्छन् । यसर्थ शुभकामना वक्तव्यले मात्रै मे दिवसको औचित्य साबित हुँदैन । अबको समयमा आप्mनै देशभित्र मजदूरहरूले रोजगार पाउने, स्वदेशी उत्पादनले बजार पाउने, विदेशी मालसामान आयात नगर्ने, कमभन्दा कम आयात गर्ने तथा स्वदेशी उत्पादन विदेश निर्यात गर्ने नीतिहरूलाई बढावा नदिएसम्म कसरी मुलुक आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न सक्छ ? यसको अभावमा न नेपालको विकास सम्भव छ, न जनताको समृद्धि नै ।
सही अर्थमा नेपाल र नेपाली जनताको विकास र समृद्धि चाहिएको हो भने यथाशीघ्र सम्पूर्ण नेपालीलाई आत्मनिर्भर बनाउने आर्थिक योजना, देशभित्र उत्पादन बढाउने योजना र आवधिक योजना निर्माण गर्न जरूरी छ । यो कुरा सरोकारवालाले नबुझेको वा नजानेको होइन तर उनीहरू कार्यान्वयन गर्न सक्दैनन् किनभने उनीहरू पूँजीवादका एक नम्बर वफादार दलाल हुन् । उनलाई जसरी पनि कमिशन चाहिन्छ । देशको उत्पादन बन्द गरेर विदेशी मालसामान आयात गर्दा पाइने कमिशनमा उनको ज्यानप्राण अड्केको छ । संसदीय निर्वाचनको सम्पूर्ण मिसन नै कमिशनमुखी रहेको देखिन्छ यसर्थ यस्तो अवस्था कायम रहेसम्म मे १ अर्थात् मजदूर दिवसको कुनै अर्थ रहँदैन । होइन भने यस्तो बेला गाउँगाउँमा सहकारीहरू फस्टाउनुपर्नेमा झन् उल्टो भएको छ । सञ्चालकहरू सहकारीको पैसा लिएर भाग्ने तथा सरकारी कलकारखानाहरू निजीकरण गर्ने सरकारी निर्णय अझसम्म कायम रहने जस्ता नीतिले कसरी यो देश आत्मनिर्भर बन्छ त ? वैज्ञानिक महावीर पुन अमेरिकन डलर खान छोडेर नेपाल बनाउँछु, आप्mनै पौरखले आत्मनिर्भर र स्वाभिमान नेपाल बनाउँछु, भन्ने अठोटका साथ नेपाल आउँदा उनलाई आप्mनो किताब बेचेर कृषि औजार कारखाना चलाउनुपर्ने बाध्यता किन आइप¥यो ? करोडौं रुपियाँ कमिशनको चक्करमा कतै बाख्रापालन, कतै कोरोनामा मास्क खरीद, कतै वाइडबडी, कतै ललिता निवासको जग्गा झ्वाम पार्नेहरूले चिनी कारखाना, कपडा कारखाना, चुरोट कारखानाजस्ता तमाम कारखाना पुनः सञ्चालन गर्न किन जोडबल गरिरहेका छैनन् ? यसबाट सरकार कति विकासमुखी छ भन्ने कुरा प्रस्ट हुँदैन र ?
हामीले के बुझ्न जरूरी छ भने जसरी हात्तीको देखाउने दाँत एउटा र खाने दाँत अर्कै हुन्छ, ठीक त्यसैगरी हाम्रा नेताहरू र सरकार जे भाषण गर्छन् ती देखावटी मात्र हुन्, व्यवहार त्यस्तो छैन किनभने न उनीहरू देशभक्त देखिएका छन् न जनताप्रेमी । कहिले भारतलाई कम्फर्टेबल हुनेगरी सरकार बनाउँछन्, कहिले चीनलाई कम्फर्टेबल हुनेगरी । नेपाली जनताले दिएको म्यान्डेट उनीहरू कहिले सम्झदैंनन् । कहिले जनतालाई शिरोधार्य गर्दैनन् । जहिले पनि दलाल पूँजीपतिहरूको पाइताला चाट्ने र त्यसैमा रमाउने सरकारबाट शुभकामनाको पोको र भूmटो आश्वासनको बाढीबाहेक अरू के पो आस गर्न सकिन्छ र ?