प्रस, निजगढ, १८ वैशाख/
जिल्ला प्रहरी कार्यालय, बाराले २१६ किलो गाँजासहित दुईजना मानिसलाई पक्राउ गरेको छ ।
जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय, निजगढ र अस्थायी प्रहरी पोस्ट, रतनपुरको संयुक्त टोलीले निजगढ नगरपालिका–१० लालपार्कस्थित रतनपुरबाट सो परिमाणको गाँजा बरामद गरेको बताए ।
उनले रतनपुरबाट निजगढ जाँदै गरेको ना.५ख ७५५२ नम्बरको ट्रकलाई सूचनाको आधारमा रोकेर चेकजाँच गरिएको र सो ट्रकमा लुकाएर राखिएको अवस्थामा २१६ किलो गाँजा बरामद भएको बताए । उनले ट्रकबाट गाँजा बरामद भएपछि जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी ट्रकचालक आकाश भन्ने दीपक कोइराला र ट्रकमा सवार हेटौंडा उपमहानगर–१३ पदमपोखरी बस्ने जीवन घलानलाई पक्राउ गरिएको बताए ।