प्रस, वीरगंज, १७ वैशाख/

इलाका प्रहरी कार्यालय, सिम्रौनगढले ९५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

बाराको पचरौता नगरपालिका–१ बैरबारीमा रहेका १५ वटा अवैध घरेलु मदिराभट्टीमा छापा मारी कच्चा मदिरा ७५० लिटर, तयारी मदिरा २०० लिटर, मेशीन, भाँडाकुँडालगायत सामग्री बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

यसैगरी, कुटपिट मुद्दामा जरिवाना गरेपछि फरार रहेका सिम्रौनगढ नगरपालिका–४ बस्ने ३० वर्षीय राजेश सहनी भन्ने दिनेश सहनीलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

यसैगरी, बारा प्रहरीले शनिवार कलैया उपमहानगरपालिका–१२ शीतलपुरबाट स्रोत नखुलेको तीन लाख ५० हजार नगदसहित एकजनालाई पक्राउ गरेको छ ।

कलैया उपमनपा–६ बेलापाती बस्ने ४५ वर्षीय मदनकुमार मिश्रलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।

यसैगरी, बारा प्रहरीले चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

कलैया उपमनपा–१६ मझौलिया बस्ने विजय महतो कोइरी र मुस्कान अन्सारीलाई मोटर चोरेको आरोपमा पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।  दुवैजनाले शनिवार कलैया–१६ मझौलिया बस्ने लक्ष्मी महतो कोइरीको माछापोखरीबाट पानी तान्ने मोटर चोरी गरेको प्रहरीको दाबी छ ।

यसैगरी, बारा प्रहरीले ट्राफिक नियमविपरीत सञ्चालित ३१४ वटा सवारीसाधनका चालकलाई कारबाई गरेको छ । बाराका विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने क्रममा ३१४ जना चालकबाट दुई लाख ८२ हजार जरिवानाबापत राजस्व सङ्कलन गरिएको बारा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here