नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको नयाँ सत्तासमीकरणको सरकार पनि परिवर्तन हुने हल्ला शुरू भएको छ । बहुमत नभएको अवस्थामा गठबन्धन र समीकरणको नाममा बनिरहेको सरकारको आयु मापन गर्न सकिन्न । २०७९ मा माओवादी केन्द्र–नेपाली काङ्ग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीलगायत छ दलीय गठबन्धनबाट स्थानीय र सङ्घ तथा प्रदेशको आमनिर्वाचनमा गठबन्धन भएको थियो भने एमाले, राप्रपा, रास्वपालगायतका दलहरू छुट्टाछुट्टै चुनावमा प्रतिस्पर्धा गरेका थिए । चुनावपछि सरकार बनाउने क्रममा नेपाली काङ्गे्रसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि प्रचण्डले एमालेसँगको सामीप्यतामा आफू नेतृत्वको सरकार बनाएका थिए । सो बखत एमाले, राप्रपा, रास्वपा, जसपा पनि सहभागी भए । तर यो सरकार पनि लामो समय चलेन र दुई महीनामा राष्ट्रपति पदमा एमालेको दाबी स्वीकार्न नसकेर प्रचण्ड फेरि पुरानै गठबन्धनमा पुगेर नेकासँग सहकार्य गरी आफू नेतृत्वको सरकार बनाए । त्यसपछि गठबन्धन सरकारको विरोधमा एमाले लाग्यो । एमालेले कुनै न कुनै मुद्दालाई ‘इस्यू’ बनाएर संसद् अवरोध गर्ने, गठबन्धनमा नेकालाई रिझाउने, माओवादी र नेकपा (एस)लाई सत्तोसराप गर्ने काममा लागि रह्यो ।
एमालेको यो अभियान १४ महीनापछि पूरा भयो र माओवादी केन्द्रसँग फेरि राजनीतिक समीकरण बन्यो र प्रचण्ड नेतृत्वमा राप्रपाबाहेक पुरानै पाँच दलीय समीकरण बन्यो । अहिलेको समीकरणमा तत्कालीन नेकपाको लगभग दुई तिहाइ बहुमत हुँदा तत्कालीन प्रम ओलीले दुर्ई/दुर्ई पटक संसद् विघटन गरेपछि सोको विरोधमा उत्रिएर एमाले पार्टीबाट अलग भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) माओवादी अध्यक्ष प्रचण्डको प्रयासमा जोडिन पुगेको थियो । अहिले नयाँ समीकरणको सरकार सञ्चालनको दुई महीना बितिरहेको छ र यसबीचमा फेरि सत्ता परिवर्तनको हल्ला शुरू भएको छ । वर्तमान सत्तासमीकरणको सरकारको आयु लामो छैन भन्ने कुरा प्रायः सबैलाई थाहा भएकै हो । यो अवस्थामा दीर्घकालीन सरकारका लागि एमाले र काङ्ग्रेस सम्मिलित सरकार बनोस् भन्ने आम नेपालीको चाहना पनि रहँदै आएको छ । तर सरकार परिवर्तनपछि मात्र यी दुई दलबीच सरकार बन्ने हल्ला चल्ने गरेकोले अहिलेको हल्लामा आम नेपाली जनता त्यति विश्वस्त हुन सकिरहेको छैन । नेकासँगको समीकरणको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेका सभापति शेरबहादुर देउवासँग संवादको प्रयास गरेका थिए । तर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड रिसाउलान् भनेर सभापति देउवाले ओलीसँग भेट्ने साहस जुटाएनन् र भेट गरेनन् ।
भेट नगर्नुको एउटै कारण थियो हल्लाबाजी, जुन अहिले दुवै दलबीचको भेटवार्तापछि शुरू भएको छ । एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएपछि नै यो सरकारको बारेमा चिन्ता व्यक्त गरिंदै आएको छ । यसबीचमा अहिले नेका र एमाले नेताहरूबीच शुरू भएका संवादमा दुवै दलका नेताहरूले सम्भावनालाई नकार्न नसकेका र असम्भव पनि नहुने भनेर प्रतिक्रिया दिन थालेपछि नयाँ समीकरणको सरकार अल्पायुमा सकिने र अर्काे नयाँ गठबन्धनको सरकार बन्ने हल्लाले मलजल पाएको छ । नेपालको राजनीतिमा असम्भव केही छैन । सत्ताको लागि नेपाली नेताहरू जे पनि गर्न तयार हुन्छन् ।