प्रस, सेढवा, १४ वैशाख/
पर्साका ग्रामीण भेगका बासिन्दाहरू अहिले पनि पूर्णरूपमा स्वास्थ्य सेवाबाट वञ्चित छ । यस क्षेत्रका नागरिकहरूले स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन् ।
गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि यस क्षेत्रमा यो सेवा उपलब्ध नरहेको स्थानीयले बताएका छन् । जसका कारण सुरक्षित गर्भपतन गर्न वीरगंजस्थित मेरी स्टोप्स, नारायणी अस्पताल तथा निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ ।
जिल्लाका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबिनी गाउँपालिकामा दर्जनौं स्वास्थ्य संस्था रहे पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध नरहेको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले बताए । तालीमप्राप्त स्वास्थ्यकर्मीहरू नभएका कारण सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
ठोरी गापाका स्वास्थ्य शाखा प्रमुख रमेश थिड्ढा अनुसार सुरक्षित गर्भपतनसम्बन्धी दक्ष जनशक्तिको व्यवस्था गरे पनि सञ्चालनमा ल्याउन नसकिएको बताए । सुरक्षित गर्भपतन सेवा सञ्चालनका लागि सम्पूर्ण प्रक्रिया पु-याइ अनुमतिका लागि प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुर पठाइएको थिङले बताए । अनुमति पाएपछि केही सातामा यो सेवा सञ्चालनमा ल्याइने थिङले बताए ।
जीराभवानी गापा–२ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पाँच वर्षअगाडि सो सेवा गापामा सञ्चालनमा रहेको तर कर्मचारीको सरुवा भएपछि सो सेवा बन्द भएको बताए ।
पोखरिया नपा स्वास्थ्य शाखा प्रमुख सौलेन्द्र मिश्रले पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल सुरक्षित गर्भपतन गर्ने सेवा सञ्चालनमा रहेको बताए । यहाँ २०८० साउनदेखि फागुनसम्म १४२ जनाले सुरक्षित गर्भपतन गराएको उनले बताए ।
नगरपालिकाबाहेक ग्रामीण भेगका अन्य क्षेत्रबाट सेवाग्राही आउने गरेको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । नेपाल सरकारको नियम अनुसार १२ हप्तासम्मको गर्भपतन गर्ने गरेको उनले बताए । यसका साथसाथै अवस्था हेरेर र चिकित्सकहरूको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भपतन निश्शुल्क गर्ने गरेको मिश्रले बताए ।
यस क्षेत्रमा यो सेवा सञ्चालनमा नहुँदा सीमावर्ती भारतीय बजार इनर्वा, भङ्गहा, मैनाटाड र सिकटामा जोखिमपूर्ण सेवा लिनुपर्ने बाध्य रहेको सर्वसाधारणको गुनासो छ । जोखिमपूर्ण गर्भपतन गराउँदा कतिपय महिलाहरूको मृत्युसमेत हुने गरेको छ ।