विपद् जनाउ दिएर आउँदैन । तर केही विपद्का घटनाहरू बर्सेनि हुने गरेका छन् । जस्तै बाढी, पहिरो, हावाहुरी, आगलागी, गर्मी, जाडोलगायतका विपद्हरू बर्सेनि हुने गर्छन् । भूकम्प, चक्रवात आदि विपद्का घटनाहरू भने हाम्रो देशमा बेलाबखत आउने गर्छ । बर्सेनि हुने विपद्का घटनाबारेमा गृह प्रशासन अन्तर्गतका देशभरिका जिल्ला प्रशासन कार्यालयहरूमा गठित विपद् व्यवस्थापन समितिले पूर्वतयारी गरेका हुन्छन् । विपद् व्यवस्थापनका पूर्वतयारी गरिए पनि बजेट अभाव बर्सेनि हुन्छ । जिल्लामा हुने विपद्का घटनाहरूबाट ठूलो धनजनको क्षति हुन्छ तर समितिले सोअनुरूपको सहयोग पु¥याउन सकिरहेको छैन । विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय संस्था रेडक्रसको प्रमुख सहभागिता रहँदै आएको छ । तत्काल राहत वितरणमा रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गरेको कुरालाई नकार्न मिल्दैन । यो अलग कुरा हो कि अहिले सामाजिक संस्थामा विश्वमैं ख्यातिप्राप्त रेडक्रस नेपालमा विवादित बनेको छ । राजनीतिले देशका सबै क्षेत्रलाई प्रभावित पार्दै आएकोले यो क्षेत्र पनि सोही राजनीतिको शिकार भएर अहिले अन्तर्राष्ट्रिय मान्यताबाट वञ्चित हुन पुगेको छ । तर पनि विपद्मा यसको भूमिका अझै पनि पहिले जस्तै सक्रिय छ । बाढी, पहिरो, हावाहुरी, आगलागी, गर्मी, जाडोमा हुने विपद्मा रेडक्रसबाटै पहिलो राहत दिने काम हुँदै आएको छ ।
स्थानीय प्रशासन तहबाट हुने विपद्सम्बन्धी तयारी अहिलेसम्म प्रभावकारी हुनै सकेको छैन । देश सङ्घीय गणतन्त्रमा गएको पनि अहिले आठ वर्ष हुन लाग्यो । प्रदेश र स्थानीय तह स्थापनाको पनि सात वर्ष पूरा हुने क्रममा छ । यो अवधिमा प्रदेशस्तरमा विपद् व्यवस्थापन समिति छ नै साथै स्थानीय तहमा पनि यसको व्यवस्था गरिएको छ । अहिले पालिकास्तरमा हुने विपद्का घटनामा सम्बन्धित पालिकाहरू सक्रिय हुनुपर्ने हो । तर पालिकाहरूमा अहिले देखिएको बेथितिले सामाजिक उत्तरदायित्वका यी र यस्ता पाटाहरूलाई छुन सकेको छैन । जनप्रतिनिधिहरू आफूले पाउने सेवासुविधा र कमिशनको कुरामा लुँछाचुँडी गर्दैमा बेफुर्सदमा छन् । आफ्नै वडामा निर्माण हुने सडक, नालाहरू के कसरी निर्माण भइरहेका छन् भन्ने विषयमा उनीहरू निष्क्रिय हुन्र्छन् । गलतको विरोधमा उत्रँदा आफ्नै कमिशनको पोल खुल्ने डर जनप्रतिनिधिहरूलाई छ । बाढी, पहिरो, हावाहुरी, आगलागी, गर्मी, जाडोमा हुने विपद्मा पालिकास्तरमा कसरी प्रस्तुत हुने कुनै पनि पालिकाले तयारी गरेको पाइन्न । सिङ्गो प्रदेशको एकमात्र महानगरपालिका यस विषयमा पछाडि छ । विपद्का अन्य घटनाहरू छाडौं गत वर्षदेखि शुरू भएको पिउने पानी अभावको मात्र चर्चा गर्ने हो भने महानगरपालिकाको कुनै तयारी देखिन्न ।
गत वर्ष महानगरका चापाकलहरू सुकेर पिउने पानीको हाहाकार भएको थियो । तत्काल आइपरेको यो समस्यालाई गत वर्ष महानगरले उचित व्यवस्थापन गर्न सकेन । यो कुरा पाच्य हुन सक्ला । किनभने आकस्मिक आइपरेको समस्यालाई तत्काल समाधान गर्न कठिन हुन्छ । उत्तिखेर देखाएको तदारूकता यसबीचमा देखाउन सकेन । यसबीचमा समस्याग्रस्त वडा, टोलहरूमा खानेपानीको पाइपलाइन, डीप बोरिङ आदिको व्यवस्था गरेको भए अहिले फेरि गत वर्षझैं हतारहतारमा काम गर्नुपर्ने थिएन । हिन्दीमा एउटा उखान छ, “रात गई, बात गई” महानगरपालिकाले पनि यही उखानलाई चरितार्थ गर्दैछ ।