चिरञ्जीवी सापकोटा, ठोरी, १२ वैशाख/
भरतपुर ठोरी आँखा अस्पतालले बुधवार १०औं स्थापना दिवस मनाएको छ । ठोरी गाउँपालिका–२ मा रहेको भरतपुर ठोरी आँखा अस्पतालले आज १०औं स्थापना दिवस मनाएको हो ।

आँखा अस्पताल सहयोग समितिका संयोजक तथा ठोरी गापा–२ का अध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षता तथा गापाध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको हो । कार्यक्रममा गापाध्यक्ष श्रेष्ठले ठोरी आँखा अस्पतालले ठोरी क्षेत्र र भारतीय क्षेत्रमा समेत राम्रो प्रभाव जमाएको हुँदा अस्पताललाई आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत वर्ष १४ हजारभन्दा बढी आँखाका बिरामीको आँखा परीक्षण गरिएको र एक हजारभन्दा बढी मोतीबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । १०औं स्थापना दिवसको अवसरमा २३ जनाको मोतीबिन्दुको निश्शुल्क शल्यक्रियासमेत गरिएको अस्पतालले जनाएको छ ।

समारोहमा ठोरी गापाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, नेत्रज्योति सङ्घ चितवनका तेजेन्द्रबहादुर खड्का, ठोरी आँखा अस्पतालका सल्लाहकार प्रकाश खनाल, प्रधानाध्यापक कृष्णप्रसाद पौडेललगायले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । सहयोग समितिका सदस्य केशवप्रसाद रेग्मीले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण समितिका कोषाध्यक्ष अनन्तकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here