प्रस, वीरगंज, ९ वैशाख/
नेपाल बुद्धिचाल महासङ्घ, पर्सा जिल्ला बुद्धिचाल सङ्घ, मूनलाइट मावि र नेशनल इन्फोटेक कलेजको संयुक्त आयोजनामा सोमवारदेखि वीरगंजमा राष्ट्रियस्तरको खुला बुद्धिचाल प्रतियोगिता शुरू भएको छ ।

पर्सा जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको मूनलाइट युथ एन्ड क्याडेट नेशनल चेस च्याम्पियनशिपको उद्घाटन पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले गरेका थिए । उनले प्रतियोगितामा सहभागी सबैलाई जीतको लागि शुभकामना व्यक्त गरे ।

प्रतियोगिताका मुख्य निर्णायक एवं नेपाल बुद्धिचाल महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामकिशोर सिंह परागले देशभरिबाट प्रतियोगितामा सहभागी गराइएको बताए । उनले ८, १०, १२, १४, १६, १८ वर्षमुनि छवटा समूह प्रतियोगितामा सहभागी भएको बताए । १४ जना महिला र ६३ जना पुरुष गरी प्रतियोगितामा ७७ जना सहभागी रहेको मुख्य निर्णायक परागले बताए । उनले ८ र १०, १२–१४, १६–१८ समूह मिश्रित गरेर प्रतियोगिता आयोजना गरिएको र महिलाहरूको छुट्टै समूह बनाइएको बताए । प्रतियोगितामा सबै खेलाडीले नौपटक खेल्नुपर्ने र जित्नेले एक अङ्क तथा बराबरी गर्नेले आधा–आधा अङ्क पाउने र सोही आधारमा वैशाख १२ गते प्रथम, द्वितीय, तृतीय घोषणा गरिने बताए ।

उमेर समूहका विजेताहरूले आगामी जून ९ देखि २१ सम्म कजाकिस्तानमा हुने २७औं एशियन युथ चेस च्याम्पियनशिपमा नेपालबाट सहभागिता जनाउने परागले बताए । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here