अहिले तराई क्षेत्रमा गर्मी बढ्दो छ र जनजीवन बिस्तारै प्रभावित हुन थालेको छ । गत वर्ष र अहिले वैशाखको शुभारम्भदेखि तराई क्षेत्रमा गर्मीले जनजीवन प्रभावित पार्दै आएको छ । गर्मी बढेसँगै वर्षा हुन नसकेर ठाउँठाउँमा पिउने पानीको हाहाकार मचेको छ । तराई क्षेत्रमा गर्मी नौलो कुरा भने होइन । तर गत वर्षदेखि अत्यधिक गर्मीले जनजीवनलाई निकै प्रभावित पारेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पनि वर्षा कम हुने सङ्केत गरेको छ । गत वर्ष पनि औसतरूपमा वर्षा भएको थिएन । अहिलेसम्म अधिकतम तापक्रम ४३ डिग्री सेल्सियससम्म मापन भइसकेको छ र समयमा वर्षा नहुने हो भने तापक्रम अझ बढ्न सक्छ । पर्सामा विगतका वर्षहरूमा ४१ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । गर्मीयाम शुरू भएसँगै अस्पताल, स्वास्थ्य चौकीहरूमा बिरामीहरूको चाप बढ्दो छ । बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो लाग्ने, टाउको दुख्ने जस्ता रोगका प्रकोप गर्मीयामसँगै शुरू भएको छ ।

बढ्दो गर्मीबाट जोगिनका लागि बढी मात्रामा पानीको सेवन गर्न चिकित्सकको सुझाव छ । यसैगरी, अत्यधिक गर्मीमा घरबाहिर निस्कनुपरेमा पूरै शरीर ढाकिने गरी सुतीको पातलो लुगा लगाउन, टाउकोमा कपडा राख्न अथवा छाता ओढ्न चिकित्सकले सुझाएका छन् । गत वर्षदेखि वीरगंज महानगरपालिकाका विभिन्न वडाहरूमा गर्मी बढेसँगै पानीको स्रोत पनि सुक्न थालेको छ । भूमिगत पानीको सतह अहिले औसतभन्दा छ फिट तल पुगिसकेको छ, जसले गर्दा धेरै स्थानमा पानीको हाहाकार मचेको छ । यस अर्थमा वर्षा नहुन्जेलसम्म पानीको सतह माथि नआउने र पानीको सङ्कट जारी रहने जानकारहरू बताउँछन् । पर्याप्त वर्षा भएमा मात्र पानीको सतह बढ्न सक्छ । महानगरपालिकालगायत पर्सा जिल्लाका अन्य पालिकाहरूमा पनि पिउने पानीको अभाव शुरू भइसकेको छ । गत वर्ष महानगरले पिउने पानीको व्यवस्थापनका लागि निश्शुल्क खानेपानी धारा जडान कार्यक्रमका साथै वडाहरूमा डीप बोरिङ जडान गरेको थियो । अहिले पनि यो कार्यक्रम जारी छ । गत वर्ष पिउने पानीको अभाव टार्न महानगर र वडापालिकाहरूले वडास्तरमा ट्याङ्करबाट पिउने पानी उपलब्ध गराएका थिए । अहिले पानीको हाहाकार त्यति नभएपनि चापाकलहरू भने सुक्न थालिसकेका छन् । गत वर्ष खानेपानी संस्थानको १० हजार एक सय ग्राहक थियो भने अहिले ग्राहक सङ्ख्या ह्वात्तै बढेको छ ।

गत वर्षदेखि चापाकल सुक्न थालेपछि हुनेखानेहरूले चार लाख रुपैयाँ खर्चेर डीप बोरिङ जडान गरे भने मध्यम र निम्न मध्यमवर्गले संस्थानको धारा जडान गरे । ग्राहक सङ्ख्या बढेपछि अहिले संस्थानको धाराबाट पानी कम आउन थालेको छ । चापाकलमा आश्रित परिवारहरूलाई अहिलेदेखि पानीको अभाव शुरू भएको छ । डीप बोरिङ गरेका र खानेपानी संस्थानको धारा लिएका परिवारलाई भने पानीको त्यत्ति समस्या भइसकेको छैन । गत वर्ष नै भूमिगत पानीको सतह माथि उठाउन स्रोत रिचार्ज गर्नुपर्ने सुझाव आएको थियो, जसलाई महानगरले लागू गर्न सकेन । चापाकलको लागि सामान्यतया पानीको सतह २७ फिटमा हुनुपर्नेमा तीन महीना अघि सर्भे गर्दा वीरगंजमा पानीको सतह ३३ फिट मुनि फेला परेको थियो । वर्षा नहुने हो भने यस वर्ष पिउने पानीको समस्या झनै विकराल हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here