सद्भाव भनेको मानिस–मानिसबीच विनाभेदभाव असल भावना, विचार, स्नेह, मेलमिलाप वा मैत्रीपूर्ण सम्बन्ध राख्नु हो । हामी मानिस स्वभावैले सामाजिक प्राणी हौं । यसर्थ हामीले समाजमा बस्दा सामाजिक सद्भाव कायम राख्नुपर्छ । किनभने संसारका मानिसहरू एकै हुन्, कुनै भिन्नता छैन । त्यसैले मानवले मानवलाई समान व्यवहार गर्नुपर्छ । यो भावनाबाट ओतप्रोत भएर नै सद्भाव भन्ने शब्द बनेको हो । यसरी मानवमानवबीच एक अर्कालाई सहयोग गर्ने इच्छा साकार पार्न मानिसहरू ईष्र्या, द्वेष, डाहा, स्वार्थ, घमण्ड, लोभ– लालच, तृष्णाजस्ता चीजबाट टाढा रहनुपर्छ भन्ने सन्देश सामाजिक सद्भावमा प्रत्येक व्यक्तिले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । यी कुराहरूको अभावमा सद्भावको परिकल्पना पनि गर्न सकिंदैन ।
कुनै बेला धार्मिक सहिष्णुता, संस्कृतिको धनी, आत्मीयता र आतिथ्यको खानी, सहयोगी मन र भावना भएका निडर वीर गोर्खालीको उपनामले चिनिने हामी नेपाली यतिबेला गरीब, भ्रष्ट, युवा बेच्ने, मानव तस्करी गर्ने संसारकै प्रदूषणयुक्त देशमा पर्दछौं । संसारको सर्वोच्च शिखर सगरमाथाको शान र गौरव, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल हो । हामी नेपाली हुनुमा गर्व गर्ने थुप्रै कुरा छन् । तर हाम्रो छुट्टै पहिचान र छुट्टै विशेषता एकादेशको कथा जस्तै हुन गएको छ । किनभने आजभोलि दिनहुँजसो भइरहेका साम्प्रदायिक घटनाक्रमले यति बेला हामीमा मानवता हराएको सजिलै अनुमान गर्न सकिन्छ ।
यतिबेला हाम्रो समाजमा सद्भावको निकै अभाव देखिएको छ । जबकि चालीस पैंतालीस वर्ष अघिसम्म नेपाली समाजमा सबैतिर भाइचारा र सद्भाव स्पष्ट देखिन्थ्यो । त्यति बेला समाजमा एउटा उखान निकै प्रचलित थियो –“वसुधैव कुटुम्बकम्’ अर्थात् विश्व–भ्रातृत्व । समयसँगै मिलनसारिताको त्यो भाव बढ्दै जानुपर्नेमा निरन्तर घट्दै गएको सबैले अनुभूति गरेकै कुरा हो । यति बेला हाम्रो समाजमा सद्भावको अवस्था यस्तो भइसकेको छ कि एउटा धर्म, संस्कृति तथा जातिको सांस्कृतिक उत्सव मनाउँदै गर्दा अर्को जाति, संस्कृति र धर्ममा बैर भाव उच्चस्तरमा देखिन थालेको छ । प्रायः यस्ता अवसरहरूमा उनीहरूबीच हिंसक झडपसमेत हुने गरेकोले प्रहरी परिचालन गर्नुपर्ने तथा शान्ति सुव्यवस्था कायम गर्नको लागि जनसमुदायमाथि बल प्रयोग गर्नुपरिरहेको सबैले देखिभोगिरहेकै छ । यसको पछाडि मुख्य कारण के होला ?
मानव समाजमा पूँजीवादको आगमनसँगै सबै सामाजिक सम्बन्ध बदलिएका छन् । आर्थिक व्यवस्था बदलिएको छ । राजनीतिक व्यवस्था फेरिएको छ र सोही अनुरूप सांस्कृतिक अवस्थाको पनि रूपान्तरण भएको छ । यति बेलाको खानपान, स्कूलिङ (सिकाइ) र सङ्गत सामाजिक सद्भावको निम्ति प्रमुख दुश्मन साबित हुन गएको छ । यस अर्थमा हामीले आप्mनो खानपिन र गलत सिकाइ तथा सङ्गतस खासगरी पैसाप्रतिको सोचमा समेत परिवर्तन ल्याउन जरूरी छ । यो सही हो कि सबैलाई पैसा चाहिन्छ तर यसको मतलब सबै थोक पैसा नै हो भन्ने होइन । तर ठीक उल्टो सबैको के सोच छ भने – यो संसारमा ‘न बाप बडा न भैया, सबसे बडा रुपैया’ अर्थात् सबै कुरा पैसा हो । त्यसैले हिजोआज सबैले पैसालाई नै केन्द्रबिन्दुमा राखेर व्यवहार गर्दा सामाजिक सद्भावमा खतरा उत्पन्न हुन गएको हो ।
यस्तो जटिल परिस्थितिमा हाम्रो अगाडि केही यस प्रश्न तेर्सिन पुगेको छ–
१/ हाम्रो सोच र नैतिकता किन पतन हुँदै गएको छ ?
२/ किन हामी यति धेरै विवेकशून्य बन्दैछौं ?
३/ हामीले विरासतमा पाएको र सिकेको संस्कार के हो ?
४/ नयाँ नेपालको नाममा समाजलाई कुन गोरेटोमा लाँदैछौं ?
एक महीना अगाडिको मात्रै समाचारहरूमा ध्यान दिने हो भने कुन खालको समाचारले हाम्रो समाचार पत्रिका, टिभीका स्क्रिन, रेडियोका आवाजहरू भरिएका छन्, प्रस्ट हुन्छ–
दाजुद्वारा भाइको हत्या, प्रेमीद्वारा प्रेमिकाको हत्या, बाबुद्वारा छोरीको हत्या, साथीद्वारा साथीको हत्या, बाबुद्वारा छोरी बलात्कृत, १२ वर्षकी किशोरीलाई सामूहिक बलात्कार, आमाले गरिन् छोराको हत्या, पतिद्वारा पत्नीको हत्या, गाउँले मिलेर लखेटी–लखेटी हत्या, बोक्सीको आरोपमा कुटपिट गरी गाउँ निकाला, ज्वाइँद्वारा ससुराको हत्या । यस्तै होइन त हाम्रा समाचारहरू । आखिर किन गरिन्छ त कतै जातको नाममा हत्या, कतै धर्मको नाममा हत्या, कतै लेनदेनको नाममा हत्या तथा कतै मदिरा सेवन गरी हत्या ?
लामो समयसम्म हिन्दू–मुस्लिम लगायत विभिन्न जातजाति, भाषाभाषी तथा धर्मावलम्बीबीचमा रहँदै आएको सामाजिक सद्भावको कडी आजभोलि निकै कमजोर भएको देखिन्छ, यद्यपि परिस्थिति बेकाबू भइसकेको छैन । तर अवस्था यही रहिरहने हो भने भोलि ‘अब पछताए क्या होत है, चिडिया चुग गयी जब खेत’– को अवस्था नआउला भन्न सकिन्न । कहिले सरस्वतीको मूर्ति विसर्जनको क्रममा त कहिले रामनवमीको शोभायात्रामा त कहिले दाहा ( सोबरात) र झन्डा (महावीर) आदिको क्रममा सामाजिक सद्भाव बिथोलिने क्रमले केही वर्ष यतादेखि निरन्तरता पाउन थालेको छ । यो निकै संवेदनशील विषय हो । भारतीय सीमावर्ती नेपाली जिल्लाहरूमा यस्ता समस्या छिटफुट हुने गरेकोमा यसले निरन्तरता पाउनु साह्रै चिन्ता र दुःखद विषय हो । भनिन्छ मानव जीवनमा सङ्गतको प्रभाव निकै हुन्छ । पछिल्लो समय भारतीय राजनीतिमा दुई कार्यकाल भारतीय जनता पार्टीले पाएपछि मुसलमानप्रति पूर्वाग्रहपूर्ण नकारात्मक सरकारी रवैया तथा कट्टर हिन्दूवादी सोचले गर्दा यस प्रकारका साम्प्रदायिक दङ्गामा बढोत्तरी भएको देखिन्छ । नेपाली समाज, खासगरी तराई, भारतीय राजनीतिबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित हुने हुँदा यहाँ पनि सामाजिक सद्भावमा समस्या उत्पन्न हुने गरेको देखिन्छ ।
गणतन्त्रपछि नेपालमा युरोपेली मुलुकहरूको प्रभावले गर्दा क्रिश्चियन धर्मको प्रभाव समेत बढेको महसूस भइरहेको छ । गाई–गोरु काटेर खाने धरानको घटनालाई इसाई धर्मसँग जोडेर व्याख्या गर्नेहरूको कुनै कमी छैन । जबकि गाई–गोरु काटेर खाने समुदाय हजारौं वर्षदेखि नेपालमा बसोवास गर्दै आएको छ । अहिलेसम्म मिलेर बसेका जनसमुदाय यतिबेला किन धार्मिकरूपमा लड्न खोजिरहेका छन् ।
हिजो आज यस्तो परिपाटी बसेको छ कि असल विचार अनुसरण गर्ने कुरा एकादेशको कथा जस्तै भएको छ । एक समय थियो, जब सादा जीवन उच्च विचार र मितव्ययी व्यवहार आदर्शको रूपमा स्थापित थियो । आजभोलिको पीढीलाई यो कुरा बताउने पनि कोही छैन । अरूलाई ठगेर, कमिशन–घूस खाएर, लुटेर, बेइमानी गरेर धनी भएको देखेपछि यो गैरकानूनी काम हो, यस्तो गर्नुहुँदैन भन्नुभन्दा योभन्दा पनि बढी गरेर देखाउनु छ भन्ने भावना अहिले के गाउँ के शहर सबैतिर व्याप्त छ । हो यो पनि एउटा प्रमुख कारण हो जसले गर्दा आज समाजबाट सद्भाव विस्थापित भएको छ । त्यसैले असल विचारको अनुसरण गर्ने काम कहिले पनि छोड्नुहुँदैन । सबै मानिसमा मानवता देखिनुपर्छ । एउटा मानवले अर्को मानवलाई सेवाभावले सहयोग गर्नुपर्छ अनि मात्रै हाम्रो समाजमा सद्भावको दिगो विकास हुन सक्छ ।
हाम्रो समाजमा मानिसहरूले अरूको दुःखलाई आप्mनो ठान्दैनन्, जसले गर्दा अरूको दुःखमा दुःखी हुनुभन्दा उल्टो उ खुशी हुन्छन् । वास्तविकता के पनि छ भने हिजोआज मानिसहरू आप्mनो दुःखले दुःखी हुनुभन्दा अरूको सुखले दुःखी हुनेहरू धेरै छन् । यस्तालाई अरूको दुःखसँग केही मतलब छैन । भाग्यवादको चक्करमा यिनीहरूले के बुझेका छन् भने उसको दुःख उसले पूर्व जन्म गरेको पाप कर्मले गर्दा हो। मेरो खुशी, मेरो सुख मैले पूर्व जन्म गरेको पुण्य कर्मको फल हो । जबकि यो सो¥है आना अवैज्ञानिक, अव्यावहारिक भूmटको खेती मात्रै हो । कुनै पनि मानिसको दुःखको कारण उसको भाग्य होइन । किनभने भाग्य भन्ने चीज छट्टु मानिसहरूको कल्पना मात्र हो । वास्तविकमा भाग्य हुँदैन, त्यसैले मानिसले के बुझ्नुपर्छ भने संसारभरिका सबै मानिस समान हुन् भने सबैले एक अर्कोको दुःखमा दुःखी हुने र सुखमा खुशी हुने अनुभूति गर्न सक्नुपर्छ । अनि मात्रै समाजमा दिगो सद्भाव स्थापित हुन्छ ।
कसैले मानोस् नमानोस्, भनोस् नभनोस् वा स्वीकार गरोस् नगरोस्, सत्य यही हो कि सबै मानिस एक दिन मर्नुपर्छ । मर्ने दिन कसैले पनि आपूmसँग कुनै चीज लगेको देखिएको छैन । मानिस खाली हात जन्मछ र खाली हात नै मर्छ पनि । यो कुरा थाहा पाउँदापाउँदै पनि बाँचुन्जेल पैसाको लागि एक अर्कालाई नोक्सान पु-याउने, अहित गर्ने र उस्तै परे चरित्रहत्यादेखि भौतिक हत्या गर्न समेत पछि पर्दैन । आखिर किन ?
यो सबैको ठोस उत्तर एउटै छ । पूँजीप्रति तृष्णास अर्थात् कहिले भोक नमेटिने तृष्णा, यसले गर्दा मानिसहरू एक आपसमा खराब व्यवहार गर्छन् । एक अर्कोलाई धोका दिन्छन् र एक अर्काको दुश्मन भएर बाँच्छन् । जब समाजको स्वरूप यस्तो बीभत्स हुन्छ अनि त्यो समाजमा सद्भाव, प्रेम, शान्ति र मानवता दिउँसै टुकी बालेर खोज्नुपर्ने हुन्छ । बेलैमा सरोकारवाला सबै सचेत बनौ र मानवभित्र विनाविभेद मानवताको स्थापना गरौं । सबै मानव एकै हुन् भन्ने भाव फेरि जागृत गरौ ं। यसैमा मानव जातिको कल्याण छ ।