प्रस, वीरगंज, ९ वैशाख/
वीरगंज महानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको समस्या शुरू भएको छ । चापाकलहरू सुकिरहेका छन् । चापाकलमा आश्रित परिवारहरू अहिले पानीको अभाव झेल्न बाध्य छन् ।
गत वर्षदेखि महानगरमा चापाकल सुकेर पानीको समस्या सिर्जना भएको थियो । त्यसअघि महानगरमा चापाकल सुक्ने समस्या रहे पनि त्यसले विकराल अवस्था लिएको थिएन । केही सार्वजनिक स्थानका चापाकलहरू मात्र सुक्ने गरेका थिए । तर गत वर्षदेखि घरायसी प्रयोगको लागि जडान भएका चापाकलहरू पनि एकपछि अर्को गरी सुकेका थिए र पानीको हाहाकार भएको थियो ।
गत वर्षको अवस्था आउन नदिनको लागि पूर्वतयारी पनि भएको छ तर बजेट अभावमा खानेपानीको समस्या बढ्दै छ । अहिले विभिन्न वडाहरूमा भूमिगत पानीको सतह घटेर चापाकलहरू सुकिरहेका छन् र मानिसहरूलाई पिउने पानीको समस्या भएको छ ।
धेरैजसो मानिसले गत वर्ष नै खानेपानी संस्थानको पाइपलाइन जडान गरेका थिए । अहिले पनि यो काम तीव्र गतिमा भइरहेको छ । खानेपानीका १० हजार ग्राहक रहेकामा गत वर्षदेखि सो सङ्ख्या ह्वात्तै बढेको छ । महानगरका विभिन्न वडामा खानेपानी संस्थानको पाइपलाइन बिछ्याउने काम अहिले भइरहेको छ । गत वर्ष पनि महानगरले पानीको आपूर्ति सहज बनाउन खानेपानी संस्थानको पाइपलाइन जडान कार्यलाई प्राथमिकता दिएको थियो । नयाँ कालोपत्र, कङ्क्रिट सडकहरू पनि काट्न लगाएर खानेपानीको पाइपलाइन बिछ्याउने र घरघरमा सो सेवा उपलब्ध गराउने काम भएको थियो ।
अहिले चापाकल सुकेपछि मानिसहरूले खानेपानी संस्थानको पाइपलाइन जडान गर्दैछन् । ग्राहक बढेसँगै खानेपानी संस्थानबाट पनि सेवा प्रभावकारी हुन सकेको छैन । अहिले खानेपानी संस्थानले महानगरमा बिहान, दिउँसो र बेलुका गरी तीन चरणमा ११ घण्टा पानीको आपूर्ति गर्दै आएको छ तर ग्राहक बढेकाले खानेपानीको पाइपबाट पनि पहिलेजस्तो तीव्र गतिमा पानी नआउने गरेको उपभोक्ताहरू बताउँछन् । अहिले महानगरका विभिन्न वडाहरूमा एकाबिहानैदेखि अबेर रातिसम्म पानीको व्यवस्थामा मानिसहरू लागेका छन् । चापाकलबाट मध्यरातदेखि बिहान ६–७ बजेसम्म मात्र पानी आइरहेको छ । मध्यरातदेखि एकाबिहानसम्म
मोटरको प्रयोग गरेर चापाकलबाट पानी तान्ने काममा मानिसहरू लागेका छन् ।
गर्मीयाममा पानीको खपत ह्वात्तै बढ्ने गर्छ । नुहाउने क्रम पनि गर्मीमा बढी हुन्छ र पिउनको लागि मानिसहरूले यो मौसममा पानीको बढी प्रयोग गर्छन् । वीरगंजमा खानेपानी समस्या समाधानको लागि गत वर्ष एक अर्बको योजना पठाइएकोमा केवल १४ करोड मात्र विनियोजन भएर आएको खानेपानी संस्थानले जनाएको छ । १४ वटा पालिकामा यो बजेटले खासै उपलब्धि नहुने संस्थानको भनाइ छ । गत वर्ष १३२ किलोमिटर खानेपानीको भूमिगत पाइपलाइन बिछ्याउने योजना रहेकोमा २० किलोमिटर मात्र बिछ्याइएको छ । बजेट अभावमा पाइपलाइन बिछ्याउने कार्यले तीव्रता लिएको छैन । खानेपानी संस्थानको पाइपलाइन जडान नभएको ठाउँमा पिउने पानीको समस्या विकराल बन्दै गएको छ ।
महानगरले गत वर्ष विभिन्न वडाहरूमा पिउने पानीको लागि ट्याङ्करको व्यवस्था गरेको थियो । सँगै केही वडाहरूमा पाँचदेखि १० हजार लिटरको ट्याङ्की जडान गर्नुका साथै डीप बोरिङ पनि जडान गरेको थियो । डीप बोरिड्ढो प्रयोग अहिले पनि केही वडामा गरिंदैछ । एउटा डीप बोरिङ जडानमा महानगरमा चार लाख रुपैयाँ खर्च भइरहेको छ । एउटा डीप बोरिङबाट २०–२२ वटा घरपरिवारको पानीको समस्या समाधान हुने गरेको छ । तर डीप बोरिङ प्रयोगकर्ताहरूले मोटर जडान गर्दा यसमा पनि केही व्यक्तिहरूले मात्र सेवा पाउने गरेको र अन्यलाई मार परिरहेको देखिन्छ ।