प्रस, परवानीपुर, ९ वैशाख/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अनियमित बन्दै गएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
मासिक उठ्ने बिल एवं जरिवानामा कुनै सम्झौता नगर्ने वितरण केन्द्रले विद्युत् सेवालाई प्रभावकारीरूपमा अगाडि बढाउन नसक्दा उपभोक्ताहरू मर्कामा परेका छन् ।
अहिलेको प्रचण्ड गर्मीमा छिनछिनमा विद्युत् सेवा अवरोध भइरहने, हावा चल्दा विद्युत् ट्रिपिङ हुने, अघोषित आधा–एक घण्टाको लोडसेडिङजस्ता समस्याले गर्दा वितरण केन्द्रको चौतर्फी आलोचना हुन थालेको छ् । वितरण केन्द्रको फोनमा ‘किन लाइन कटेको’, ‘कति बेला लाइन आउँछ’लगायतका आशा बोकेर उपभोक्ताले फोन गर्दासमेत ल्यान्डलाइन फोन नलाग्ने, लागे पनि नउठ्ने जस्ता कार्यले गर्दा वीरगंज वितरण केन्द्रले जिम्मेवार कार्यालयको रूपमा काम गर्न नसकेको उपभोक्ताहरूको गुनासो छ ।
वितरण केन्द्रलाई नियमन गर्ने निकायले यस्ता समस्याहरू समाधान गरी प्रभावकारी सेवा उपलब्ध गराउनुपर्ने उपभोक्ताहरूले माग गरेका छन् । यस विषयमा वितरण केन्द्र प्रमुख अवधेश दुबेले वीरगंजको प्रतिदिनको विद्युत् माग तीन सय मेगावाट भएको तर यस क्ष्Fेत्रको भौतिक संरचना दुई सय मेगावाट मात्र धान्ने रहेकोले माग अनुसार आपूर्ति हुन नसकेको बताए । साथै भारतले प्रतिदिन विभिन्न नाकाका प्रसारण लाइनबाट ६०० मेगावाट बिजुली दिने सम्झौता गरे पनि गर्मी बढेसँगै भारतबाट आयात हुने बिजुली पनि २०० मेगावाटले घटेको र यसको असर वीरगंज, रक्सौलसमेतमा परिरहेको उनले बताए ।
भारतमा आम निर्वाचन भइरहेकोले बिजुलीको खपत बढेर उसले प्रतिदिन चार सय मेगावाटभन्दा बढी बिजुली दिन नसकेको उनले बताए । नेपालका जलविद्युत् आयोजनामा पानीको सतह घटेका कारणले स्वदेशी उत्पादन पनि पर्याप्त मात्रामा नहुँदा वीरगंजमा विद्युत् आपूर्तिमा कमी आएको बताउँदै उनले विद्युत् आपूर्ति नियमित गर्न आफू प्रयासरत रहेको बताए ।