दलितलाई महायज्ञको वेदीमा बस्न नपाउने विषयलाई लिएर यस वर्ष पनि पर्साको छिपहरमाई गाउँपालिकामा विवाद भयो । छिपहरमाई गापाको मिर्जापुरमा वैशाख ८ गतेदेखि शुरू लक्ष्मीनारायण महायज्ञको वेदी पूजामा दलितलाई बस्न निषेध गरिएपछि त्यहाँका दलितहरूले महायज्ञका लागि निकालिएको कलशयात्रा बहिष्कार गरे । आफ्नो समुदायलाई पूजाको वेदीमा सहभागी नगराइएपछि बहिष्कार गर्नु दलितहरूको अधिकार हो । बहिष्कार गरे पनि उनीहरूले महायज्ञ बिथोल्ने कुनै काम गरेनन् र यो उनीहरूको असलपनको उदाहरण हो । नेपालको संविधानले छुवाछूत स्वीकार गरेको छैन र यसको बर्खिलाप गर्नेलाई कानूनी कारबाहीको व्यवस्था गरेको छ । पर्साका दलितहरूले भने संविधानमा भएका अधिकारका लागि स्थानीय प्रशासनमा पनि गुहार नगरेका होइनन् । तर कानून पालना गर्ने, गराउने काममा हाम्रो समाजमा अहिले पनि भेदभाव हुने गरेको छ र यहाँका दलितहरू यसै कारण न्याय पाउनबाट वञ्चित हुँदै आएका छन् । महायज्ञ एकै दिनमा हुने विषय होइन ।
लाखौं रुपैयाँ खर्च गरिन्छ र त्यसको तयारी पनि महीना दिनभन्दा बढी समय पहिलेदेखि गरिन्छ । महायज्ञ सम्पन्न गर्न सबै समुदायको सहयोग लिइन्छ । दलितहरू पनि महायज्ञका लागि चन्दालगायतका अन्य तयारीमा जुटेकै हुन्छन् । महायज्ञका सबै कार्यमा उनीहरूको सहभागिता अछूत हुँदैन तर जहाँ वेदी पूजाको कुरा आउँछ, त्यसमा उनीहरूको सहभागिता अछूत बनाइन्छ । अहिलेसम्म यही विषयमा विवाद देखिएको छ । वेद, पद्धति र शास्त्रले कर्मको आधारमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरी चार वर्ण मात्र छुट्याएका छन्, जात र जाति छुट्याएका छैनन् । “जन्मना जायते शुूद्र, कर्माण्य दिज्य उच्चते” अर्थात् जन्मको प्रकार सबैको एउटै हो र कर्मले ब्राह्मण, क्षत्री, वैश्य र शूद्र हुने हो । तर हामीकहाँ न त धर्म, न त कानून दुवै मान्य छैनन् । तराई, पहाड र हिमाल गरी देशका सबै ठाउँमा दलितहरू जातिको हिसाबले हेपिंदै आएका छन् । महायज्ञको वेदी पूजामा बिजोड अङ्कमा यजमान (मूलकर्ता) को सहभागिता गराइन्छ । पति र पत्नी वेदी पूजामा बस्छन् । पूजा अवधिभर बिहान र साँझ वेदी पूजा गरिन्छ । यसमा दलित र गैरदलितको कुरा आउनु नपर्ने हो । यज्ञकर्ताहरूले पनि आयोजकहरूलाई यसबारेमा सचेत पार्ने काम गरेको देखिन्न । यज्ञकर्ता विद्वान् पण्डितहरूले यसतर्फ सचेत गराएको भए दलितहरूविरुद्धको काम हुँदैन थियो ।
तराई–मधेसमा मानिस मर्दा डोमबाट आगो लिने प्रचलन छ । मरेका मानिसको अन्तिम संस्कार दलित (डोम)को आगोबाट पवित्र हुने र मरेका व्यक्तिले मोक्ष प्राप्त गर्ने विश्वास राखेर अहिलेसम्म डोमबाटै आगो किन्ने प्रचलन छ । मरण कार्यमा पवित्र दलित पूजन कार्यमा कसरी अपवित्र हुन्छ ? यो सामान्य कुरा पनि बुझिदिने हो भने विवाद हुँदैन थियो । पोखरिया नपाले यो विषयमा फड्को मारेको छ र यही वैशाख १४ गतेदेखि हुन गइरहेको शिव महापुराण, महायज्ञमा दलित सहभागिता गराउँदैछ । धार्मिक गतिविधि विवादरहित हुनुपर्छ । सबैको भलो होस् भन्ने अभिप्रायले नै महायज्ञको आयोजना गरिन्छ । यस्तोमा एउटा समुदाय गरीब, अशिक्षित, कमजोर भएकै कारण महायज्ञबाट वञ्चित पार्ने काम धार्मिक र कानूनी हिसाबले पनि पाच्य हुँदैन र यस्ता कार्यमा संलग्नहरूलाई समाज र कानूनबाट सजाय गराउन सकिएको खण्डमा मात्र वास्तविकरूपमा समाज परिवर्तनको कल्पना गर्न सकिन्छ ।