ओमप्रकाश, सेढवा, ८ वैशाख/
बिहार, पश्चिम चम्पारण जिल्लाको गौनाहा प्रखण्डमा यही वैशाख ५ गतेदेखि आदिशक्ति सहोदरामाईको मन्दिरमा लागेको १० दिने मेला भर्न जाने श्रद्धालु भक्तजनका थप दुईवटा गन्तव्य थपिएका छन् । ती दुई गन्तव्यमा पर्साको पर्यटकीय स्थल ठोरी र बिहारको सोही प्रखण्डमा पर्ने भगवान् शिवको शोभा मन्दिर हो ।
आदिशक्ति सहोदरामाईको दर्शन तथा पाठपूजा गरी अधिकांश भक्तजन यी स्थानहरूको भ्रमणका लागि जाने गरेका छन् । बिहार राज्यमा मादक पदार्थ सेवन गर्न पूर्णरूपमा प्रतिबन्ध रहेको कारण यात्रीहरू ठोरी पुग्ने गरेका छन् । यात्रीहरू ठोरी पुगेर ठुटे खोलाको पुल, राईधारा, सीता गुफा, गोले डाँडा पुग्ने गरेका छन् । बारा जिल्ला करैयामाई गाउँपालिका निवासी साजन चौधरीले आफू सहोदरामाईको मेला भर्न पहिलोपटक आएको बताए । उनले प्रसिद्ध शोभा मन्दिर र पर्यटकीयस्थल ठोरीको नाम सुनेकोले यी ठाउँहरूको भ्रमण गरेको बताए । उनले सहोदरामाईको मन्दिरसँगै ठोरी भ्रमण गर्दा राम्रो अनुभूति भएको बताए । आगामी दिनमा ठोरी फेरि पनि घुम्न आउने उनले बताए ।
वीरगंज–ठोरी हुलाकी सडक निर्माण भएको कारण पनि नेपालबाट सहोदरामाईको मन्दिरमा मेला भर्न जाने अधिकांश भक्तजन ठोरी भएर जाने गरेका छन् । बिहारको प्रहरी प्रशासनले पनि चार चक्का सवारीसाधन आवागमनका लागि ठोरी र इनर्वा नाका मात्रै खुला गरेका छन् ।
शोभा मन्दिर भ्रमणका लागि बिहारका भक्तजनहरूको ठूलो सङ्ख्यामा भीड बढेको छ । आदिशक्ति सहोदरामाईको मन्दिरभन्दा करीब आठ किलोमिटर उत्तरपश्चिम दोमाठ पञ्चायतका महजोगिन गाउँभन्दा उत्तर डाँडामा शोभा मन्दिर छ । प्राचीनकालमा सो क्षेत्रका राजा हेतु कुँवर थिए । उनकै पालामा मन्दिरको उत्पत्ति भएको र मन्दिरभित्र एउटा सुरुङ पनि छ । जसलाई भारत सरकारले अहिले एउटा दुलो मात्र राखेर बन्द गरेको छ ।
मन्दिरको छेउमा पण्डई नदी छ । मन्दिर क्षेत्रमा पाँच पाण्डव वनवास गएका बेला बसोबास गरेका र खोलामा नित्यकर्म गरेकाले खोलाको नाम पण्डई भएको किंवदन्ती छ । ठोरीको ठुटे
खोला भारतमा पण्डई नामले परिचित छ ।