सुग्रीव साह, भिस्वा, ८ वैशाख/
भारतीय सीमावर्ती बेतिया जिल्ला, मैनाटार प्रखण्डको बसनपुरका किसानले गहुँको खेतमा रहेको ठुटो र छवालीमा आगो लगाउँदा त्यसको झिल्कोले नेपालतर्फ आगलागी फैलिएर ठूलो परिमाणमा क्षति भएको छ । बसनपुरका किसानले आफ्नो खेतमा गहुँ काटेपछि रहेको ठुटो र छवालीमा आगो लगाएका थिए । आज बेस्सरी हावा चलेको कारण त्यहाँबाट झिल्को आएर नेपालतर्फ नहर पारि तीनवटा घर र दशौं बिघा गहुँबालीमा आगो सल्केर क्षति पु-याएको छ ।
नेपालतर्फ छिपहरमाई गापा–१ मिर्जापुरको भलुवहियामा बिसुन पासवान, वीरेन्द्र यादवसहित दुईजनाको घर, मनबोध यादवको कुखुरा फार्म र सो क्षेत्रमा रहेका दशौं बिघा रहेको गहुँबाली आगलागीको चपेटामा परेका छन् ।
कुखुरा फार्ममा कुखुरा देखिएन तर फार्म सञ्चालक मनबोध यादवले भने कुखुरा दुई हजार, डब्बा, भाँडाबर्तन गरी लाखौं मूल्यको क्षति भएको बताए । जिल्ला प्रहरी कार्यालय, पर्साले ताराचन्द्र साह तेली, किशुनदेव यादव, अर्जुन यादव, जुगुल यादव, साहेब राउत अहिर, हाकिम यादव, विश्वनाथ यादव, भिखारी राय यादवसहितको दशौं बिघा गहुँबाली गरी करीब साढे १२ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । उनले कुखुरा फार्मका सञ्चालक यादवको चार लाख रुपैयाँ बराबर क्षति भएको बताए । आगलागी भएको स्थलदेखि दुई सय मिटर दक्षिणतर्फ आजदेखि १० दिने विष्णु महायज्ञ शुरू भएको छ ।