प्रस, वीरगंज, ८ वैशाख/
वीरगंज भन्सार कार्यालय र सो मातहत सशस्त्र प्रहरी नेतृत्वको भन्सार राजस्व गस्ती टोलीले शनिवार बिहान वीरगंज महानगर–१० आदर्शनगरस्थित दुर्गा ट्रान्सपोर्टमा छापा मारी लाखौं मूल्यको सामान नियन्त्रणमा लिएको छ ।
भन्सार र राजस्व गस्तीको संयुक्त टोलीले ट्रान्सपोर्टको गोदाममा लागेको ताला तोडेर त्यहाँ राखिएका कपडा, काजु, ग्याँस चुलो, स्टीलका सामान, साडी आदि नियन्त्रणमा लिएको थियो । ट्रान्सपोर्ट सञ्चालक मदन गुप्ताले विभिन्न स्थानमा पठाउनका लागि पार्टीहरूले राखेका सामान भन्सार तथा सशस्त्रको टोलीले गैरकानूनी तरीकाबाट नियन्त्रणमा लिएको आरोप लगाएका छन् । उनले वडा प्रतिनिधिसमेतलाई नराखेर गैरकानूनी तरीकाबाट गोदामको ताला तोडिएको र त्यहाँ रहेका बिलबीजकका सामानहरू नियन्त्रणमा लिएर लगेको आरोप लगाए । उनले नेपालमा उत्पादित सामानहरूका साथै १७ जना व्यापारीका सामानहरू बिलबीजक नहेरी भन्सार प्रज्ञापनपत्र माग भएको र पार्टीलाई भनेर भोलि उपलब्ध गराउने बताए पनि अटेर गरेर ट्रान्सपोर्टबाट सामान लगेको गुनासो गरेका छन । भन्सार र सशस्त्रको संयुक्त टोलीले सबै कुरा भन्सार कार्यालयमा आएर गर्नुस् भनी घटनास्थलमा कुनै प्रमाण हेर्नै नचाहेको र सामानलाई जबरजस्ती लगेको बताए ।
वीरगंज भन्सार कार्यालयका प्रतिनिधिले भन्सार छली भित्रिएको आशङ्कामा सामान बरामद गरिएको र सोको छानबीन हुने बताए । उनले भन्सार प्रज्ञापनपत्र पार्टीले नदेखाएको बताए । उनले सूचनाका आधारमा भन्सार छलीका समान ट्रान्सपोर्टमा भण्डारण गरी राखिएको दाबी गरे । सशस्त्र प्रहरीले आज बिहान वीरगंज महानगरपालिका–२ ईदगाहबाट एउटा अटोरिक्शामा कपडा लगिएको र सोको पिछा गर्दै जाँदा दुर्गा ट्रान्सपोर्टमा लगेर त्यहाँको गोदाममा भण्डारण गरिएको पाइएपछि छापा सामान बरामद गरेको दाबी गरेको छ ।