ओमप्रकाश चौधरी, सेढवा, ६ वैशाख/
पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तर थरुहट क्षेत्रका किसानहरूले वार्षिक तीन बाली लगाउने गरेका छन् भने गण्डक नहरदेखि दक्षिण बझियान क्षेत्रका किसानहरूले वार्षिक दुई बाली लगाउँछन् ।

गण्डक नहरदेखि उत्तर ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिकाका केही वडा र वीरगंज महानगरपालिकाका केही वडाका किसानहरूले वार्षिक तीन बाली खेती गर्दै आएका छन् । यहाँका किसानले दुई बाली धान र एक बाली गहुँ, मकै, सुर्ती, दलहन, तेलहन तथा केहीले तरकारीखेती गर्दै आएका छन् ।

अहिले यो क्षेत्रका किसानहरूले चैते धान बाली अन्तर्गत हर्दिनाथ–२ (१४४२) जातिका धान रोपेका छन् र यो धान तीन महीना अर्थात् नब्बे दिनमा आगामी असारको पहिलो सातामा तयार हुन्छ । उनीहरूले चैते धान भिœयाएसँगै अगहनी धानबाली लगाउँछन् र कात्तिक मसान्तसम्म तयार पार्छन् । अगहनी धान चार महीना अर्थात् १२० दिनमा तयार हुन्छ । त्यसपछिको समयमा यहाँका किसानहरू जग्गाको अनुकूलताको हिसाबले गहुँ, सुर्ती, मकै, राजमा, बदाम, दलहन, तेलहन तथा तरकारीखेती गर्छन् ।

पटेर्वासुगौली गाउँपालिका–१ का वडाध्यक्ष फरमान मियाँले आफ्नो र छिमेकी वडा नं २ मा खेतीयोग्य जमीनमध्ये ८० प्रतिशत क्षेत्रफलमा किसानले चैते धान लगाएको बताए । उनले वार्षिक तीन बाली उत्पादन हुने बताए । वडाध्यक्ष मियाँले बेलाबखत यहाँका किसानहरूले रासायनिक मल तथा उन्नत जातको बीउको अभाव झेल्नुपरेको गुनासो गरे ।

ठोरी गापा–५ गडुवालाइनका किसान देवीप्रसाद दाहालले सुवर्णपुर क्षेत्रमा पनि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा तीन बाली उत्पादन हुने गरेको बताए । उनले दुई बाली धान र एक बाली तोरी वा सुर्ती उत्पादन हुने गरेको जानकारी गराए । थरुहट क्षेत्रका अधिकांश खेत बाँझो हुँदैनन् ।

यहाँ सिंचाइ सुविधा भएको कारण तीन बाली उत्पादन हुने गरेको छ । कुलो, बाँध तथा खोला, नहर र बोरिड्ढो उचित व्यवस्था भएको कारण यहाँका किसानहरूले सिंचाइ सुविधाको प्रचुर मात्रामा सुविधा भोग गर्दै बाली तयारीमा उत्साह देखाउँदै आएका छन् । थरुहट क्षेत्रमा स्थानीय पालिका र किसानहरूको संयुक्त सहभागितामा प्रत्येक चार बिघा जमीनमा बोरिड्ढो व्यवस्था गरिएको छ । नहर, खोला, कुलोको पहुँचमा पर्न नसकेका किसानहरूले बोरिङबाट सिंचाइ सुविधाको उपभोग गर्दै बाली तयार पार्दै आएका छन् । बोरिङ सुविधा भएका किसानहरूले दमकल (पम्पसेट)को प्रयोग गरी सिंचाइ गर्छन् ।

यो क्षेत्रमा कृषि ज्ञान केन्द्र, पर्सा र सम्बन्धित पालिकाहरूले किसानहरूलाई अनुदान सहयोगमा बोरिङ र कृषि वाटरपम्प उपलब्ध गराइरहेका छन् । यसैगरी, नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले सिंचाइका लागि कृषि मिटर उपलब्ध गराएको कारण किसानहरूले कम खर्चमा सिंचाइ सुविधा भोग गर्न पाएका छन् । यहाँका केही पहुँचवाला किसानहरूसँग सोलर प्यानलयुक्त वाटर पम्पको पनि सुविधा छ । सरकारी अनुदान सहयोगमा उनीहरूले यो सुविधाको पनि उपभोग गरेको पाइएको छ । आकाशे सिंचाइका अतिरिक्त यहाँका किसानहरूलाई अन्य वैकल्पिक सिंचाइ सुविधा प्राप्त भएकाले उनीहरू कृषि कर्ममा दत्तचित्त भएर लागिपरेका छन् ।

तर गण्डक नहरदेखि उत्तरतर्फको बझियान क्षेत्रका किसानहरू भने आकाशे सिंचाइमा मात्र भर पर्नुपर्दा दुई बाली मात्र उत्पादन गर्न सकिरहेका छन् । एक बाली धान र एक बाली गहँु गरी दुई बाली मात्र यहाँ उत्पादन गरिन्छ । अहिले गहुँ कटान अन्तिम अवस्थामा छ तर नहरसँग जोडिएका र बोरिङ सुविधा प्राप्त मुश्किलले पाँच प्रतिशत किसानले चैते धानखेती गर्छन् भने १० प्रतिशत किसानले हरियो तरकारीखेती । बाँकी ८५ प्रतिशत खेती आगामी अगहनी धान नरोपुन्जेलसम्म वैशाख, जेठ र असार तीन महीना बाँझो हुन्छ । गण्डक नहरबाट आवश्यक परेको बखत सिंचाइ सुविधा उपलब्ध नहुने र आकाशे सिंचाइ भगवान्भरोसे भएकोले त्यसको विकल्पमा अन्य सिंचाइ सुविधा नहुँदा यहाँका खेतहरू तीन महीना बाँझो हुने गरेको हो ।

स्थानीय पालिका प्रमुखहरूले बेलाबखत बझियानमा वैकल्पिक सिंचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै आए पनि अहिलेसम्म यसलाई प्राथमिकतामा राखेर काम गरिएको छैन । सिंचाइको पर्याप्त उपलब्धता नभएकै कारण चार महीना अगहनी धान र पाँच महीना गहुँखेतीपछि यहाँका खेतहरू तीन महीनाका लागि बाँझो रहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here