प्रस, रौतहट, ७ वैशाख/
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रवार बानेश्वर महादेव मन्दिरनजीकको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।
गौर नगरपालिकाका प्रमुख शम्भु साहले गत २०७९ फागुन २८ गते पुल निर्माणको लागि शिलान्यास गरेका थिए । झोलुेङ्गे पुल उद्घाटन गर्दै अध्यक्ष नेपालले गौरमा विकास निर्माणका कार्य देशमैं उत्कृष्ट रहेको दाबी गरे । उनले विकास निर्माणका कार्यमा जनप्रतिनिधिहरूलाई अहोरात्र खट्न आग्रह गरे । पालिकाको विकासका लागि जनप्रतिनिधिहरू खट्नैपर्छ र जनप्रतिनिधिहरू खटेका पालिकाहरूमा विकास भएको देखिएको र त्यसैको उदाहरण गौर नपा भएको उनले बताए ।
गौर नगरपालिकाका प्रमुख शम्भु साहले निर्वाचनको समयमा आफूले गरेका वाचाहरू पूरा गरेको दाबी गरे । उनले निर्धारित समयअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र यसबाट नगरवासीहरू लाभान्वित हुने बताए । पुल निर्माण नहुँदा आवतजावतमा समस्या रहेको बताउँदै उनले निर्मित झोलुङ्गे पुल मधेस प्रदेशमैं दोस्रो ठूलो रहेको दाबी पनि गरे । उनले विकास निर्माणका कार्यमा गौर नपा मधेस प्रदेशका पालिकाहरूमा निकै अगाडि बढेको दाबी गरे ।
लेखराज हिमशिखर जेभी बत्तीसपुतली काठमाडौंले चार करोड २७ लाखमा २५९ मिटर लामो झोलुङ्ग पुल निर्माण गर्न २०७९ चैत १९ गते सम्झौता गरेको र २०८० चैत १८ गते निर्माण कार्य सम्पन्न गरेको थियो ।
कार्यक्रममा पूर्वमन्त्री डा वंशीधर मिश्र, पूर्वसांसद कल्याणी खड्का, संविधानसभा सदस्य सरला यादव, मधेस प्रदेशका विनाविभागीय मन्त्री बेची लुङ्गेली, प्रदेशसभा सदस्यद्वय नागेन्द्र साह र किशोरीदेवी दास, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रहरी उपरीक्षक दिलीप घिमिरे, नेकपा (एस)का जिल्ला अध्यक्ष कमल यादवलगायतको सहभागिता रहेको नगर प्रवक्ता एवं वडाध्यक्ष अर्जुन सिंहले बताए ।