नितेश कर्ण, वीरगंज, ७ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीवार दिउँसोदेखि वीरगंज महानगरपालिका–६ महावीरस्थानमा रहेको पमपम बिल्डिङमा शुरू गरेको छापामारी शुक्रवार पनि जारी रह्यो ।
जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले शुक्रवार घटनाबारे पत्रकार सम्मेलन गर्दै बिहीवार दुईवटा गोदामबाट मात्र भण्डार गरिएका कपडाहरू बरामद गरिएको र सोको मूल्य एक करोड २० लाख भएको अनुमान गरिएको बताए । उनले हिजो बरामद कपडाहरू आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय चलान गरिएको जानकारी गराए । प्रवक्ता थापाले दुईवटा गोदामबाट बरामद सामानहरू प्रारम्भिक अनुसन्धानमा वीरगंज महानगरपालिका–६ स्थित काजल इम्पेक्सका रामबाबू कुशवाहा र वीरगंज महानगरपालिका–१६ का आकाश गुप्ताको भएको दाबी गरे । उनले पमपम बिल्डिङ (तुल्स्यान मार्केट)मा कोठा भाडामा लिएर कुशवाहा र गुप्ताले भन्सार छलीका कपडाहरू भण्डारण गरेको पाइएको बताए । उनले हिजो दुईवटा गोदाममा छापामारी गरिएको र तीन वनटन गाडी कपडाहरू बरामद भएको बताए ।
यसैबीच, प्रहरीले हिजो दुईवटा गोदामबाट सामान बरामद गरेपछि अन्य गोदामहरू आफ्नो नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको उक्त गोदामहरूमा भने शुक्रवार दिउँसोदेखि पुनः खानतलाशी शुरू गरेको छ । प्रहरीले आजको खानतलाशी जारी रहेकोले घटनाबारेमा पूर्ण विवरण दिएको छैन ।
प्रहरीले सूचनाको आधारमा पमपम बिल्डिङमा छापामारी गरी ठूलो परिमाणमा कपडाहरू बरामद गरेपछि वीरगंज नाका भएर अवैधरूपमा चोरी पैठारी भइरहेको कुरालाई पुष्टि गरेको छ । तर प्रहरीको यो कारबाहीबाट भने अवैध कारोबारमा संलग्नहरूबीच खैलाबैला मच्चिएको छ । कारोबारीहरूले प्रहरी कारबाहीप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले भण्डारण गरिएका कपडाहरू नेपाली र चाइनिज तथा केही मात्रामा भारतीय भएको र प्रहरी कारबाहीले व्यापारीहरूको मनोबल अहिलेको आर्थिक मन्दीमा अझ खस्किएको बताएका छन् । तर घटनाबारेमा अहिलेसम्म कसैले आधिकारिकरूपमा गोदाममा भण्डारण गरिएका सामानको जिम्मेवारी लिएका छैनन् । पमपम बिल्डिड्ढा चारवटा गोदाममा करीब पाँच/सात करोड मूल्यका कपडाहरू भण्डारण गरिएको वडाध्यक्ष जयप्रकाश शाहले हिजै बताएका थिए । जसमध्ये हिजो प्रहरीले रु एक करोड २० लाख बराबरको कपडा बरामद गरिसकेको छ ।