प्रस, परवानीपुर, ७ वैशाख/
सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी बर्दिबासका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलले सशस्त्र प्रहरीले राज्यले तोकेको जिम्मेवारीलाई इमानदारिताका साथ निर्वहन गर्दै आएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेक्वाटर, वीरगंजले १७औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा सप्रवउ पौडेलले सशस्त्र प्रहरीले सीमा सुरक्षाको मुख्य जिम्मेवारीलाई निर्वहन गर्नुका साथै राजस्व चुहावट नियन्त्रण, सामाजिक अपराध नियन्त्रण, विपत् उद्धार कार्यहरूका साथै सामाजिक उत्तरदायित्वका कामहरू इमानदारिताका साथ पूरा गर्दै आएको बताए ।

उनले सीमा क्षेत्रमा बसोबास गर्ने जनतासँगको सम्बन्ध राम्रो बनाउनका लागि हालै सशस्त्र प्रहरीले मधेस प्रदेशका आठ जिल्लालाई लक्षित गरी पैदल यात्रामार्फत गस्ती गरेको बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले सशस्त्र प्रहरीले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न जिम्मेवार भएर काम गर्दै आएको र अझै प्रभावकारी सेवाको लागि दत्तचित्त भएर लाग्न सुझाए । उनले पछिल्लो समय राजस्व चुहावट मुख्य चुनौतीको विषय भएकोले यसबारेमा सशस्त्र प्रहरी अझै गम्भीर हुनुपर्ने जरूरी रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले सशस्त्र प्रहरीले बर्ड (चरा)को अवधारणमा काम गरिरहेको बताए । बर्डको पहिलो अक्षर ‘बी’बाट बोर्डर सेक्युरिटी अर्थात् सीमा सुरक्षा, ‘आई’बाट इन्टरनल सेक्युरिटी अर्थात् आन्तरिक सुरक्षा, ‘आर’बाट रेभेन्यू सेक्युरिटी (राजस्व चुहावट) र ‘डी’बाट डिजास्टर म्यानेजमेन्ट (विपत् व्यवस्थापन)को क्षेत्रमा गम्भीर भएर लागिपरेको दाबी गरे ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्ष सुबोध गुप्ता, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतान, वीरगंज सामुदायिक आँखा सेवा केन्द्रका संयोजक महेशसिंह धामी, युवा उद्यमी अनुप अग्रवाल लगायतलाई सशस्त्र प्रहरीलाई सहयोग गरेबापत सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here