नरेश यादव, पर्सागढी, ७ वैशाख/
पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय पकडिया बडनिहारले शुक्रवार कार्यक्रम आयोजना गरी वार्षिक परीक्षामा सहभागी कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोकर्ण पाठकले वार्षिक परीक्षामा सहभागी कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गर्नुका साथै कक्षा १–१० सम्म वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कक्षा ११ र १२ का पहिलो, दोस्रो र तेस्रो समेस्टरमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै नगद प्रदान गरेका थिए ।
उनले शिक्षा जीवनको ज्योति भएको र यसलाई जति ग्रहण गर्न सक्यो, मानिस त्यत्ति नै सफल हुने बताए । उनले उत्कृष्ट हुनेहरूलाई बधाई दिंदै उत्तीर्ण भएका विद्यार्थीहरूलाई आगामी दिनमा अझ बढी मेहनत गरेर उत्कृष्ट हुन सुझाए । सबैजना उत्कृष्ट हुने होडबाजीमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ, यसले मानिसमा परिवर्तन आउँछ, कुनै पनि अवस्थामा निराश नभएर आफ्नो कर्तव्य निर्वाह गर्न विद्यार्थीहरूलाई नगरप्रमुख पाठकले हौंस्याए । उनले नगरको शैक्षिक गतिविधिमा सुधार ल्याउने अभियानमा आफूहरू लागिपरेको बताउँदै शिक्षक, विद्यार्थीहरूलाई आइपरेका समस्याहरूबारे जानकारी गराएको खण्डमा सोको निराकरण गर्ने बताए ।
कार्यक्रममा प्रअ मोहन चौधरी, प्राविधिक शिक्षा प्रमुख तपेश्वर यादव, स्थानीय समाजसेवी अर्जुन नेपाल, वडासदस्य सीता देवीलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रअ डिल्लीराम आचार्यले र सहजीकरण शिक्षक अमित चौधरीले गरेका थिए ।