प्रस, वीरगंज, ६ वैशाख/
शैक्षिक सत्र २०८१ को शुभारम्भ भइसकेको छ । विद्यालयहरूले पुस्तकको सूची परीक्षाफलसँगै प्रकाशित गरिसकेका छन् । पुस्तकपसलहरूमा विभिन्न प्रकाशनका पुस्तकहरू पनि आइसकेका छन् तर पुस्तक व्यवसायीहरूको आन्तरिक कलहले गर्दा विद्यार्थी र अभिभावकले हालसम्म पनि पुस्तक खरीद गर्न सकेका छैनन् ।
पुस्तक व्यवसायी सङ्घले सङ्घ अन्तर्गतका पुस्तकपसलहरूलाई सम्पूर्ण विद्यालयका पुस्तक सूची सार्वजनिक गर्न भने पनि ती पसलहरूले सार्वजनिक नगरेकाले पुस्तकपसल नखोल्ने निर्णय गरेको छ । धेरैजसो विद्यालयले आप्mनो विद्यार्थीको हातहातमा पुस्तक सूची दिंदा पनि उनीहरूले पुस्तक किन्न सकिरहेका छैनन् ।
पुस्तक अभाव भएपनि बिहीवारदेखि धेरैजसो विद्यालय सञ्चालनमा आइसकेका छन् । विद्यार्थीका अभिभावकहरू यस प्रचण्ड गर्मीमा पुस्तक किन्न जाँदा पसल बन्द रहेकाले रित्तो हात फर्किरहेका छन् ।
ससाना पुस्तकपसलहरूले विद्यालयको सूची नपाउनु र ठूला पसलेहरूले कमिशन दिएर ठूला विद्यालयहरूको सूची हात पार्नु नै अहिलेको विवादको मुख्य कारण भएको सङ्घका एकजना सदस्यले बताए ।
स्मरण रहोस्, हरेक वर्ष नयाँ शैक्षिक सत्रसँगै पुस्तक कमिशनको खेल शुरू हुन्छ । कमिशनकै चक्करमा विद्यालयहरूले पाठ्यक्रम विभागले स्वीकृत गरेका पाठ्यपुस्तकबाहेकका पुस्तकहरूको भार विद्यार्थीहरूलाई बोकाउने गरेका छन् । यस कार्यप्रति स्थानीय तहले पनि सूचना जारी गर्नुबाहेक केही गर्न सकिरहेको छैन ।
पाठ्यक्रम विभागले स्वीकृत नगरेका पुस्तकहरू लगाउनुमा ठूला पुस्तकपसलहरूकै हात रहेको छ । अतिरिक्त पुस्तक लगाउँदा विद्यालयले बढी कमिशन पाउने गर्छ । प्रत्येक शैक्षिक सत्रमा पुस्तकपसलहरूले लाखौं रुपैयाँ कमिशन विद्यालयहरूलाई दिने गरेका छन् । जसको लाभ विद्यालय सञ्चालकहरूले मात्र उठाउने गरेका छन् । विद्यालयलाई कमिशन दिएबापत पुस्तकपसलहरूले अभिभावकहरूलाई पुस्तक खरीदमा कुनै प्रकारको छुट दिंदैनन् । यसै कारण धेरैजसो विद्यालयले विद्यार्थीको हातमा पुस्तकको सूची दिंदा अभिभावकको कानमा सुटुक्क फलानो पसलमा जानु भन्छन् भने पुस्तकपसलहरूमा प्रत्येक विद्यालयको सम्पूर्ण पुस्तक उपलब्ध नहुँदा अभिभावक र विद्यार्थी छुटको गोलचक्करमा पुरानै संस्करणका पुस्तक लिई मर्कामा पर्ने गरेका छन् ।
अर्कोतिर नजीकको जिल्लामा यस्तो कुनै समस्या रहेको छैन । यस कारण पहुँच भएका अभिभावकहरू सोही जिल्लामा गएर वा आप्mनो आफन्तसँग पुस्तक झिकाउन थालेका छन् । यसबाट वीरगंजस्थित पुस्तक व्यवसायीहरूलाई नै घाटा हुने देखिएकोले पुस्तक व्यवसायी सङ्घ सचेत हुन आवश्यक छ ।