प्रस, वीरगंज, ५ वैशाख/
जिल्ला प्रशासन कार्यालय, बारा, कलैयाले सार्वजनिक बिदामा पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रका कार्य सुचारु राखिने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले १८ वटा सार्वजनिक बिदामा सार्वजनिक सेवाहरू नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको लागि व्यवस्था मिलाइएको जानकारी गराएका छन् । उनले गृह मन्त्रालयबाट गत माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अन्तर्गत सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार जिप्रका, बाराले केही सार्वजनिक बिदाका दिनमा पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको लागि सेवा प्रवाह गरिने बताएका छन् ।
उनले यस वर्षको क्यालेन्डर अनुसार आज वैशाख ५ गते रामनवमी, जेठ १० गते उधौली, बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते कृष्ण जन्माष्टमी, असोज १७ गते घटस्थापना, मङ्सिर ३० गते उधौली पर्व, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होेसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते शहीद दिवस, माघ १७ गते सोनम ल्होसार, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, १४ गते महाशिवरात्रि र फागुन १६ गते ग्याल्बो ल्होसार, ईद र बकरीदमा पनि ती सेवा प्रभाव गर्ने जानकारी गराए ।