प्रस, सेढवा, ५ वैशाख/
छिमेकी राष्ट्र भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको गौनाहा प्रखण्डको जमुनिया पञ्चायतमा ऐतिहासिक मन्दिर आदिशक्ति सहोदरामाईमा बुधवारदेखि १० दिने मेला लागेको छ । देवाढ गाउँस्थित सो मन्दिरमा हरेक वर्ष रामनवमी अर्थात् चैत नवमीको अवसरमा मेला लाग्दै आएको छ ।

मेलामा माता सहोदराको पहिलो पूजापाठ र बलि नेपाली परिवारले गर्ने चलन छ । पहिलो पूजापाठ तथा बलि चढाउने कार्य पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरियाका दहित परिवार रहेको सो परिवारका महादेव दहितले बताए । यो परिवारमा ज्येष्ठताका आधारमा क्रमशः जगन दहित, शिव दहित, शङ्कर दहित, पलट दहित र अशोक दहितले पूजा गर्ने महादेव दहितले बताए ।

यो परिवारका अधिकांश सदस्य मङ्गलवार नै मन्दिरमा पुगेर पूजा प्रक्रिया पूरा गरी आज बलिदान गरेपछि सर्वसाधारणका लागि पाठपूजा तथा बलिदान शुरू गरिएको महादेवले बताए । आज बिहानैदेखि माताको भाकल अनुसार बोका, हाँस, कुखुरालगायतको बलि चढाइएको छ ।

ऐतिहासिक आदिशक्ति सहोदरामाई मन्दिरको उत्पत्ति आदिवासी थारू समाजको प्राचीन इतिहाससँग जोडिएकोले यस मन्दिरमा प्राचीनकालदेखि नै थारू पुजारी बस्ने गरेको जमुनियाका अमितकुमार चौधरीले बताए । मन्दिरमा माताको दर्शनका लागि पर्सा, बारा, रौटहट तथा चितवन जिल्लाका हजारौं थारू तथा गैरथारू समुदाय आउने गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here