नितेश कर्ण, वीरगंज, ५ वैशाख/
मानव बेचबिखन नियन्त्रण एकाइ क्षेत्र मुख्यालय बेतियाको ४७औं कोर सशस्त्र सीमा बल रक्सौलले १३ वर्षीया नाबालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउँदै गरेको अवस्थामा तीनजना भारतीयलाई पक्राउ गरेको छ ।
भारतको तमिलनाडु राज्य निवासी १३ वर्षीया नाबालिकालाई नेपाल ल्याउँदै गरेको सूचनाको आधारमा इन्स्पेक्टर मनोजकुमार शर्माले नाबालिकाको उद्धार गर्दै तीनजनालाई पक्राउ गरेका
हुन् ।
इन्स्पेक्टर शर्माले राजीव रोशन, राकेश रोशन, दिलीप कुमारलाई पक्राउ गरेको पुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानमा नाबालिकालाई विवाहको प्रलोभन देखाएर तमिलनाडु लगेको र त्यसपछि दिल्ली लगेको र अहिले नेपाल ल्याउन खोज्दा परिवारको उजूरीको आधारमा पक्राउ गरिएको उनले बताए । इन्स्पेक्टर शर्मालाई यो अभियानमा इन्स्पेक्टर शिवनाथ मिश्र, हवलदार अरविन्द द्विवेदी, पम्मी मिश्र, अन्ना मनी, ओमप्रकाश जाट, प्रयास किशोर र अभिषेकले सहयोग गरेका थिए ।