प्रस, वीरगंज, ५ वैशाख/
नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा आयोजित टी–१० क्रिकेट लिग प्रतियोगिताको उपाधि नेपाल चिकित्सक सङ्घ, पर्साले जितेको छ ।
बुधवार सम्पन्न फाइनल खेलमा नेपाल चिकित्सक सङ्घ, पर्साले वीरगंज महानगरपालिकालाई बल आउटमा एक रनअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
आदर्शनगर खेलमैदानमा पहिला ब्याटिङ गर्दै चिकित्सक सङ्घले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर ८२ रन बनाएको थियो । प्रतिउत्तरमा महानगरले १० ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएर खेल बराबरी गरेको थियो ।
खेल बराबरी भएपछि बल आउटमा चिकित्सक सङ्घ विजयी घोषित भएको नेराबैंक, वीरगंजका सहायक निर्देशक नरेशकुमार सर्राफले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले विजयी टीमलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरे । उपविजेयता महानगरलाई नेराबैंक, वीरगंजका निर्देशक शरणकुमार अधिकारीले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिता अवधिमा उत्कृष्ट ब्याटिङ गरेका चिकित्सक सङ्घ पर्साका डा दीपेन्द्र झा, उत्कृष्ट बलर सङ्घकै डा रूपेन्द्र मिश्र र उत्कृष्ट फिल्डरमा नेपाल पत्रकार महासङ्घ पर्साका सद्दाम हुसेन घोषित भए । उनीहरूलाई सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदीप ताम्राकर र वीरगज महानगरका वडाध्यक्ष रामकिशोर सिंह (पराग)ले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।