प्रस, वीरगंज, ४ वैशाख/
मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मङ्गलवारदेखि बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादवले सो पार्टीका तर्फबाट मन्त्री रहेका रमेशकुमार कुर्मीले सम्हाल्दै आएका वन तथा वातावरण मन्त्रालय आफूमातहत राखेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।
लोसपा संसदीय दलको आज बसेको बैठकले मधेस प्रदेश सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेसँगै सो पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका कुर्मीले आज पदबाट राजीनामा गरेका हुन् ।
मुख्यमन्त्री यादवले गरेको मन्त्रिमण्डल विस्तारमा लोसपाबाहेक यसअघि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले पाएका मन्त्रालयहरूमा भने पुरानै मन्त्री, राज्यमन्त्रीहरू छन् ।
आज गरिएको मन्त्रिमण्डलको विस्तारपछि मुख्यमन्त्री यादवसँग श्रम तथा यातायात, वन तथा वातावरण मन्त्रालय छ । यसैगरी, अर्का सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, सञ्जय यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, सुरीताकुमारी साह खेलकूद तथा समाज कल्याण, राजकुमार लेखी गृह, सञ्चार तथा कानून, सिंगासनसाह कलवार ऊर्जा, सिंचाइ तथा खानेपानी, शत्रुघ्न सिंह स्वास्थ्य तथा जनसङ्ख्या, सुनीता यादव उद्योग, वाणिज्य तथा पर्यटन, प्रमोदप्रसाद जयसवाल शिक्षा तथा संस्कृति र राज्यमन्त्रीहरूमा शेख अबुल कलाम आजाद ऊर्जा, सिंचाइ तथा खानेपानी, रहबर अन्सारी उद्योग, वाणिज्य तथा पर्यटन र केशव राय स्वास्थ्य तथा जनसङ्ख्या छन् ।
बीच, मधेस सरकारका मुख्यमन्त्री यादवले आज निकै रस्साकस्सीका बीच विश्वासको मत लिन सफल भए । जनमत पार्टीले संसद्मा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको घटनामा संसदीय छानबीन समिति गठनको माग गरेर संसद् अवरोध गरेको थियो । आज दुईपटक संसद स्थगित भएको र संसदीय छानबीन समिति बनाउन मुख्यमन्त्री यादव राजी भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउँदा पनि विवाद साम्य भएको थिएन । तर पछि मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिन सफल भए । उनको पक्षमा ६१ जनाले विश्वास व्यक्त गरेका थिए ।