प्रस, रौतहट, ३ वैशाख/
देवाहीगोनाही नगरपालिका वडा नं १ करुनिया टोल बस्ने ५२ वर्षीय शेख नुरुल्लाहलाई भारतको सिमानानजीक पर्ने राजदेवी नगरपालिका वडा नं ८ बेलबिछुवा चोकमा शङ्कास्पदरूपमा हिंड्डुल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी अनुसन्धान प्रारम्भ गरेको छ ।
जेठ ११ गते राति ००ः३० बजे देवाहीगोनाही नगरपालिका वडा नं १ करुनियास्थित सडकमा बस्ने ७८ वर्षीय शेख तैयबलाई शेख सेराजसमेतले गोली हानी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा पुस १६ गते रौतहट जिल्ला अदालत गौरबाट वारेन्टसहितको पक्राउ पुर्जी जारी भएको थियो । सो घटनामा संलग्न भई घटना वारदातपश्चात् फरार रहेका प्रतिवादीहरू नेपाल–भारतको सीमावर्ती ग्रामीण इलाकामा लुकीछिपी बसेको भन्ने विशेष सूचना प्राप्त भएपछि निजहरूलाई खोजतलाश गरी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले खोजतलाश गर्ने क्रममा शेख नुरुल्लाहलाई वैशाख २ गते बिहान करीब २ः०० बजे फेला पारिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
रौतहट जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी दिई न्यायिक हिरासतमा पठाइएको जिप्रकाका सूचना अधिकारी एलिजा गिरीले बताइन् ।