प्रस, पोखरिया, ३० चैत/
पोखरिया नगरपालिका–७, ८ र ९ मा शुक्रवारदेखि महिलाहरूका लागि तीन महीने सिलाइकटाइ तालीम शुरू भएको छ ।

नेपाल राष्ट्रिय योजना आयोग र पोखरिया नगरपालिकाको सहयोगमा कम्युनिटी डेभलपमेन्ट सेन्टर प्रालि वीरगंजद्वारा आयोजित पोनपा–९ शिवबर्वाको तालीमको उद्घाटन नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए । उनले सीपको अभावमा महिलाहरू रोजगारविहीन बसेकाले सीप सिकाएर स्वरोजगार बनाउने अभिप्रायले तालीम आयोजना गरिएको बताए ।

उनले तालीम लिने तर सिकाइको प्रयोग भने नगर्ने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न सचेत गरे । लगानी खेर जाने काम गर्नुभएन, सीप सिक्ने र सोअनुरूपको रोजगार गरेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने बताए ।

उनले तालीम अवधिभर टिकाउ रहने र नबुझे, नजानेका कुरा लाज नमानी प्रशिक्षकसँग सोध्न सुझाए । उनले प्रशिक्षकहरूलाई पनि सीप अनुसारको तालीम लिएर रोजगारतर्फ आकर्षित नहुनु प्रशिक्षकहरूको कमी देखिएको भन्दै सहभागीलाई फाइदा पुग्नेगरी तालीम दिन आग्रह गरे । जसरी शिक्षकले पढाएको विषयमा विद्यार्थीहरू फेल हुँदा शिक्षक पनि दोषको भागी हुन्छन्, त्यसरी नै प्रशिक्षकहरू पनि भागीदारी हुनुपर्ने बताए । उनले झारा टार्ने गरी सहभागी र प्रशिक्षक दुवैलाई प्रस्तुत नहुन आग्रह पनि गरे । वडा सदस्य फुलेना चौहानको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सामाजिक शाखा प्रमुख वाल्मीकि साह, वडा सदस्य रोशन कुशवाहा, उमा देवी, सहायक सचिव भगवान साह, राजेश चौहान, प्रदीप चौरसियालगायतको सहभागिता थियो । महिलाहरूको लागि तीन महीने तालीम आजदेखि वडा नं ७ र ८ मा पनि शुरू भएको आयोजक कम्युनिटी डेभलपमेन्ट सेन्टर प्रालिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here