प्रस, सिमरा, ३० चैत/
जगदम्बा स्टील १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा मच्छिन्द्र फूटबल क्लब प्रवेश गरेको छ । शुक्रवार राति सिमरा रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिवार एपिएफ र पुलिसबीच हुने खेलको विजेतासँग भिड्नेछ ।
मच्छिन्द्रको जीतमा विमल घर्तीमगर र देवेन्द्र तामाङले एक/एक गोल गरे । मच्छिन्द्रले दुवै गोल खेलको पहिलो मध्यान्तरमैं गरेको थियो । खेलको ३०औं मिनेटमा विमल घर्तीमगरको गोलमार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई विमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिंदै शानदार गोल गरेका थिए । पहिलो मध्यान्तरको इन्जुरी समयमा देवेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुड्ढो कर्नर बलमा देवेन्द्रले हेडिङमार्फत गोल गरेका थिए ।
राष्ट्रिय टीमका अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको मच्छिन्द्र सामु सिराहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो मध्यान्तरमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेले पनि मच्छिन्द्रको अग्रतापछि सिराहाका खेलाडी लयमा देखिएनन् । विमल घर्तीमगर, मनीष डाँगी जस्ता खेलाडीसहित सिमरा रङ्गशालामा उत्रिएको मच्छिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।
पहिलो मध्यान्तरमैं फराकिलो अग्रता बनाएको मच्छिन्द्रले दोस्रो मध्यान्तर पूर्ण नियन्त्रणमा राखेको थियो । सिराहाले दोस्रो मध्यान्तरमा आकर्षक अवसर बनाउन सकेन । जीतपुरसिमरा गोल्डकपमा पहिलोपटक सहभागी भएको प्रतियोगिताबाट बाहिरिंदा मच्छिन्द्र पहिलोपटक प्रतियोगिताको फाइनल पुगेको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका विमल घर्तीमगर घोषित भए । उनलाई शुभारम्भ कलेजले ट्रफीसहित रु १० हजार प्रदान ग-यो । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा राहुल झाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिवार दुई विभागीय टीम नेपाल पुलिस क्लब र एपिएफ फूटबल क्लबका बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।