पाठकवृन्द गताङ्कसम्म मानसिक डिजार्डरको विवेचना सकियो । आजदेखि टोक्सिकोलोजी वा विषविज्ञान र खासखास विषको विवेचना हुनेछ । विषको उत्पत्ति, उत्पादन, प्रभाव तथा उपचारको वर्णन गर्ने विज्ञानलाई विषविज्ञान भनिन्छ । यसो त भनिन्छ कि हरेक औषधि विष हो र विष पनि औषधि हो । फरक केवल मात्राको हुन्छ । यो सम्पूर्ण संसार नै केवल नियम र मात्राको खेल हो । नियमबाट बेनियम भइयो भने विपत्ति निश्चित छ । त्यस्तै, कुनै पनि कुराको मात्रामा तलमाथि भयो भने गडबडी निश्चित छ ।

उदाहरणको लागि बार्बिचुरेट मानसिक बिमारीको औषधि हो तर त्यसको महीनाभरिको खुराक एकैचोटि खाएर आत्महत्या पनि गरिएको देखिएको छ । आर्सेनिक एक शक्तिशाली विष हो तर त्यसको अत्यल्प मात्रा शरीरको लागि आवश्यक तŒव पनि हो । तर यहाँ विवेचना गर्ने कुरा औषधिको होइन केवल विष र विषाक्त प्रभावको मात्र हुनेछ, जसको प्रयोग हत्या, आत्महत्याको लागि र दुर्घटना आदि स्वरूपमा हुन्छ । हामीले पढेका छौं कि परापूर्वकालमा राजाहरूले विषकन्यालाई पालेर राख्थे, जो अर्को शत्रु राजा वा अधिकारीलाई मार्न उपयोगमा आउँथे ।

आज पनि पुटिनले नभाल्नीको हत्या न्युरोजेनिक विष दिएर गर्ने प्रयास गरेका थिए तर विदेशमा उपचार पछि उनी बाँचे पनि कारागारमा मरे । दिनहुँ हामी पढछौं कि फलानाले पारिवारिक कलहबाट आजित भएर डाल्फ वा मेटासिड खाएर मरे अथवा फलाना केटी वा केटा पे्रममा असफल भएपछि विष खाएर आत्महत्या गरे । अतः विषको बारेमा जान्नु, उसको प्रभावको बारेमा जान्नु नितान्त आवश्यक छ ताकि त्यसबाट बच्न उचित उपाय अपनाउन सकियोस् । आज तिनै विषको समग्र सामूहिक सामान्य विवेचना हुनेछ र पछि केही खासखास र महŒवपूर्ण विषका अलगअलग विवेचना गरी यो अध्याय सकिनेछ । विष त्यो पदार्थ हो, जसलाई मुखबाट, सुईबाट, सास वा छालाबाट शरीरभित्र प्रवेश गराएपछि अचानक वा क्रोनिकरूपले शरीरको सामान्य क्रियामा भारी गडबडी पैदा भई मृत्युसमेतको कारण बन्छ । विषले विश्वमा हरेक वर्ष लगभग दुई लाख ५० हजार मानिस मर्छन् । भारतमा यो सङ्ख्या प्रतिवर्ष २८ हजार छ ।

सामान्यतः विषाक्तताको घटना कीटनाशक, घरेलु केमिकल, मटीतेल र चिकित्सकले लेखिदिएका औषधिले हुने गर्छ । कहिलेकाहीं बच्चाले नजानेर मटीतेल खाएको घटना सुनिन्छ । भारत, नेपाल, श्रीलङ्का, इन्डोनेशिया आदि देशमा खेतीपातीमा प्रयोग हुने कीटनाशकको आत्महत्यामा बढी प्रयोग भएको रिपोर्ट आउँछ । यसमा कुनै केमिकल यस्ता पनि छन्, जसको उपचार नै छैन जसरी सल्फास । विषलाई तीन भागमा बाँडिन्छः १. कोरोसिभ जसमा बलियो एसिड र बलियो अल्कली आउँछ २. इरिटेटिभ अथवा जलन पैदा गर्ने विषः जुन तीन प्रकारको हुन्छः इनअर्गेनिक वा अकार्बनिक, अर्गेनिक वा कार्बनिक तथा मेकानिकल । पहिलोमा ननमेटालिकमा फस्फोरस, क्लोरिन, ब्रोमाइड र आयोडिन तथा मेटालिकमा आर्सेनिक, एन्टिमनी, मर्करी, कपर, लिड, जिङ्क, सिल्भर आदि आउँछन । दोस्रोमाः भेजिटेबलमा कास्टर आयल, कटन आयल, मदार आदि, एनिमलमा कैन्थराइड, स्नेक, इनसेक्ट बाइट आदि आउँछन र मेकानिकलमा डायमन्ड डस्ट, पाउडर्ड ग्लास आदि आउँछन् । २. सिस्टमेटिक जसमा छन्ः स्नायुमा प्रभाव पार्नेः जसमा सोम्निफेरसमा अफीम र त्यसको अल्केल्वाइड तथा बार्बिचुरेट्स, इनएबिरिएन्टमा अल्कोहल, इथर र क्लोरोफार्म, डिलिरिएन्टमा धतुरो, बेलाडोना, हायोसिमस र कानाबिस इन्डिका छन् । त्यस्तै, दोस्रोमा जो स्पाइनल कर्डमा असर पार्छः जसमा नक्सभोमिका आदि । ३. जसले बाहिरी स्नायुमा प्रभाव पार्छ, जसमा छन्ः क्रुरारे र क्रोनियम । ४. जसले ह्दयमा र रक्तवाहिनीहरूमा प्रभाव पार्छः जसमा छन्ः एकोनाइट, डिजिटलिस, ओलिएन्डर, टोबैको, हायोसायनिक एसिड आदि । ५. जो फोक्सोमा असर गर्छ, जसलाई एसफिक्सिएन्ट पनि भनिन्छः यसमा आउँछन्, कार्बनडाइअक्साइड, कार्बनमोनोक्साइड, कोलग्याँस आदि ।

अब विष शरीरमा कसरी प्रवेश गर्छ, त्यसको विवेचना गरौं । शरीरमा १० वटा द्वार हुन्छन् : मुख १, नाक २, कान २, आँखा २, गुदा १, मूत्रमार्ग १ र योनीमार्ग १ । कुनै विषलाई शरीर भित्र पु-याउनलाई यी १० द्वार त छँदैछन् तर यस अतिरिक्त छालामा घोपेर पनि पठाउन सकिन्छ । जबदेखि बिमारीलाई ठीक पार्नको लागि सुईबाट औषधि दिन थालियो, त्यसै दिन विषलाई पनि त्यही सुईबाट शरीरभित्र पठाउने काम पनि शुरू भयो । हामीलाई थाहा छ कि सिस्नोको पात छालामा छोइयो कि छाला पोल्न थाल्छ । यस्तो काम कसैलाई जिस्काउनको लागि प्रयोग गरिन्छ । योनीबाट गर्भपात गराउने औषधि पनि र विष पनि दिन सकिन्छ । गुदाबाट एनिमाको रूपमा विष दिन सकिन्छ । हत्या वा आत्महत्याको लागि मुख वा सुईबाट नै विष लिनेदिने चलन छ । दुर्घटना वा जानीजानी पनि ग्याँस वा मटीतेलको प्रयोगले मान्छे मर्छ । कोठा थुनी कोइला बाली सुतेको र मरेको अक्सर हामी सुन्छौं । जानीजानी हिटलरले ग्याँस चेम्बरमा यहुदीहरूलाई मारेको जगजाहेर नै छ ।

विष शरीरभित्र गएर ज्यूँका त्यूँ रहन्छ अथवा त्यसको जैविक टुटफुट हुन्छ, जुन शरीरको मेटाबोलिज्मको सामान्य प्रक्रिया हो । तबसम्म विषले आफ्नो विषाक्त असर गरिसकेको हुन्छ । टुटफुट भएपछि जुन रसायन बन्छ, त्यो पनि या त विषाक्त नै हुन्छ अथवा निरापद पनि हुन सक्छ । यसरी भित्र पसेको विष ज्यूँका त्यूँ वा बदलिएर दिसापिसाब, छाला वा -यालबाट वाहिर निस्किन्छ । -यालबाट निस्कने विष फेरि पेटमा पुग्छ र पुनः विषाक्तता पैदा गर्छ र बाँकी फेरि दिसापिसाबबाट बाहिर निस्किन्छ ।

विषको प्रभावलाई चार भागमा बाँडिन्छः लोकल वा स्थानीय, रिमोट वा दूरस्थ, सिस्टमेटिक वा प्रणालीगत र जेनेरल वा सम्पूर्ण शरीरमा देखिने प्रभाव । उदाहरणको लागि साँपले टोकेकोलाई लिन सकिन्छ । त्यसमा स्थानीय प्रभावमा टोकेको ठाउँमा काटेको निसान देखिन्छ, त्यहाँबाट रगत आएको देखिन्छ । त्यहाँ दुखाइ महसूस हुन्छ । यो भयो स्थानीय प्रभाव । फेरि त्यो विष कलेजोमा पुगेर त्यहाँ नोक्सान गर्छ । यो भयो दूरस्थ प्रभाव । फेरि मुटु र दिमागमा पुग्छ, जो क्रमशः रक्तसञ्चार र स्नायु प्रणाली हुन् । त्यहाँ विषले पार्ने प्रभाव प्रणालीगत प्रभाव भयो । फेरि त्यस विषको प्रभाव शरीरले विभिन्न लक्षणको रूपमा परिलक्षित गर्छ । यो भयो जेनरल वा सामान्य प्रभाव । तर विषको प्रभावलाई बढाइदिने र कम गरिदिने कारक पनि हुन्छ, जसको सङ्ख्या छ चारः ती हुन् विषको मात्रा, विषको रूप, विष प्रवेश गर्ने बाटो जसरी मुख वा नसा आदि तथा शरीरको स्वास्थ्यको अवस्था । यो बिल्कुल स्वाभाविक कुरा हो कि विषको मात्रा जति बढी हुन्छ, त्यति बढी नै उसको प्रभाव पनि हुन्छ र मृत्यु पनि छिटो हुन्छ ।

कति रोचक छ कि तामा, निकेल, आर्सेनिक आदि विष भएपनि हाम्रो शरीरको लागि अत्यल्प मात्रामा आवश्यक पनि छ । अतः फरक केवल मात्राको नै त छ । तर विषको बढी मात्रा बान्ताको कारण बन्छ र यसरी बान्ताबाट बाहिर फ्याँकिएर असर पनि कम हुने देखिएको छ । विषको रूपको मतलब हुन्छ कि विष ग्याँस, द्रव वा ठोस कुन रूपमा छ ? रासायनिक मिश्रण वा भौतिक मिश्रण कुन रूपमा छ ? ग्याँसको रूपमा रहेको विषको असर द्रव्यको रूपमा भएकोभन्दा बढी र द्रव्यको रूपमा रहेकोले ठोस रूपभन्दा बढी हुन्छ । त्यस्तै, रासायनिक मिश्रण कस्तो छ ? सिल्भर नाइट्रेट र हाइड्रोक्लोरिक एसिड अलगअलग विष हुन् । तर दुवैलाई मिलाइयो भने सिल्भरक्लोराइड नामक ठोस साल्ट अथवा नून बन्छ, जुन विषरहित हुन्छ । त्यस्तै, बेरियम र सल्फ्युरिक एसिड बेग्लाबेग्लै विष हुन् तर मिलाइएपछि बेरियम सल्फेट नामक निरापद र विषहीन बन्छ ।

त्यस्तै, कतिपय विष पानीमा घुल्दैन तर पेटमा गएपछि हाइड्रोक्लोरिक एसिडसँग घुलेर जान्छ र अवशोषित भएर विषैला प्रभाव दिन्छ । जसरी लिड, केडमियम र निकेल आदि । त्यस्तै, भौतिक मिश्रण विषलाई कुनै निरापद द्रव्यसँग मिलेको कुरा हो । उदाहरणको लागि कम मात्राको पनि मिनरल कोरोसिभ एक्सनले नोक्सान गर्छ तर त्यसैलाई बढी मात्रामा पानीमा मिलाइयो भने पनि नोक्सान गर्दैन । त्यस्तै, आर्सेनिकलाई पानीमा मिलाइयो त्यो पिंधमा बस्छ र केवल पानी मात्र खान पुगिन्छ । त्यसैले आर्सेनिकलाई कसैको हत्या गर्ने उद्देश्यमा त्यसलाई दूध, कफी, चिया र कोकमा मिलाएर दिइन्छ । अब कुन बाटोबाट विष दिइएको छ, त्यसमा पनि विषको प्रभाव निर्भर गर्छ । ग्याँसको रूपमा भित्र गएको विष धेरै बढी र शीघ्र असर गर्छ । त्यसपछि क्रमशः नसा, मांसपेशी र मुखबाट दिएको विषको असरको नम्बर आउँछ । विष छालामुनि अर्थात् सबक्युटेनियस दिइयो भने ग्याँसबाहेक उपरोक्तभन्दा पनि छिटो असर गर्छ ।

गुदाबाट दिइयो भने मुखबाट भन्दा असर ढिलो हुन्छ किनभने पेट र सानो आन्द्राभन्दा ठूलो आन्द्रा र गुदामा अवशोषण कम हुन्छ । यसको अतिरिक्त कुनै कुनै विष खासखास माध्यमले मात्र असरदार हुन्छ । उदाहरणको लागि साँपको विषलाई खाइयो भने केही हुँदैन तर काटिएको ठाउँमा राखियो भने मृत्यु हुन्छ । त्यसैले साँपले टोकेर घाउ बनाउँछ र त्यसमा विष छोड्छ । खाली पेटमा पनि विषको असर बढी हुन्छ । शरीरको अवस्था र स्वास्थ्यको अवस्थामा पनि विषको प्रभाव निर्भर गर्छ, जसको व्याख्या निम्न बुँदामा गरिन्छः उमेर, हाइपरसेन्सिबिलिटी, जिनेटिक, आदत, सहनशक्ति र निर्भरता, औषधिको आपसी अन्तक्र्रिया, स्वास्थ्यको अवस्था र निद्राको अवस्था । कुनै पनि विषको प्रभाव बालक वा वृद्धमा बढी हुन्छ किनभने बालक र वृद्धमा विषलाई तोडेर त्यसलाई बाहिर निकालिदिने प्रक्रिया कमजोर हुन्छ । त्यस्तै, कोही मानिस कुनै पदार्थबाट बढी संवेदनशील हुन्छ, जसलाई हाइपरसेन्सिभिटी वा एलर्जी भनिन्छ, जसमा त्यस पदार्थको कम मात्राले पनि विषसरह काम गर्छ । मेरो एकजना भान्जाले एउटा केरा खाए पनि उसको पूरै शरीर नै फुलेर आउँथ्यो । त्यस्तोलाई मार्न कुनै विषको जरूरत नै पर्दैन ।

केरा मात्र दिए पुग्छ । त्यस्तै, कुनै मानिसको जीनको बनावट नै यस्तो हुन्छ कि विषले त्यो बढी प्रभावित हुन्छ । इडियोसिन्क्रेसीको मतलब हुन्छ बढी प्रभाव देखाउने । कसैकसैको थ्रेसहोल्ड नै यति कम हुन्छ कि उसले अलिकति पनि दुखाइ सहन सक्दैन जबकि अर्कोमा त्यति दुुखाइ केही माने नै राख्दैन ।

यही कुरा विषबारेमा पनि त्यस मानिसमा लागू हुन्छ । कोही कोही कम मात्राको विषमा नै मर्छ जबकि अन्यमा बढी मात्रा चाहिन्छ । त्यस्तै, विषको असर आदत, सहनशक्ति र निर्भरतामा पनि निर्भर हुन्छ । बच्चाले अफीमलाई पचाउन सक्दैन तर वयस्कले आदतले बढीभन्दा बढी अफीम पचाइदिन्छ र यसलाई बढी मात्रा चाहिएको हुन्छ । यो मात्रा बढ्ने कुरा सहनशक्तिले हुन्छ । अब त्यही मात्राको विषले काम गर्दैन । विषकन्यालाई सर्पले टोकाउँदा टोकाउँदा विषले त्यसलाई रेसिस्टेन्ट पारिदिइएको हुन्छ । त्यही विषकन्याले अरूलाई टोक्छे, तब त्यो मानिस मर्छ । निर्भरतासँग को परिचित छैन होला ? खैनी, चुरोट खाने मानिसलाई यो कुरा राम्ररी थाहा हुन्छ । यो कुरा विषको विषयमा पनि सही छ । यदि कसैलाई अफीमको लत छ भने अफीमले त्यसलाई मार्न सकिंदैन । औषधिको अन्तत्र्रिmयाको मतलब हुन्छ कि जब कुनै औषधि वा विषले आपसमा प्रतिक्रिया गरी अर्काको असरलाई बढाइदिन्छ । भनिन्छ कि मेट्रोनिडाजोल खाएर अल्कोहल लिनुहुँदैन । मेट्रोनिडाजोलले अल्कोहलको एक्सनलाई बढाइ विष बनाइदिन्छ । गाउँघरमा पनि यो भनिन्छ कि घ्यू, चिनी र मह मिलाएर कदापि खानुहुँदैन किनभने त्यो विष बन्छ । स्वास्थ्यको अवस्थाको बारेमा यो सर्वविदित तथ्य हो कि साउन्ड हेल्थभन्दा कमजोर, पिलन्धरे स्वास्थ्यमा विषको असर बढी हुन्छ नै । उसमा स्वाभाविकरूपले विषलाई सहने क्षमता हुँदैन । त्यस्तै छ निद्राको अवस्था ।

निद्राले कतिपय रोगलाई निको पारिदिन्छ र विषको असर कम पार्ने कुरा पनि त्यसमा आउँछ । निद्रामा आन्द्राको चाल पनि कम हुन्छ र यसरी परोक्षरूपले पनि निद्राले विषको असर कम
गर्छ । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here