प्रस, वीरगंज, २९ चैत/
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह प्रशासन गलत क्रियाकलाप नगरीकन राज्यलाई कर तिरेर वैध व्यापार–व्यवसाय गरिरहेका सबैखाले व्यापारी–व्यवसायीको पक्षमा रहेको बताएका छन् ।

गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा बिहीवार वीरगंजमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा गृहमन्त्री लामिछानेले जसले कर छलिरहेको छैन, वैध व्यापार गरिरहेका छ, तस्करी गरिरहेको छैन, जसले राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको छ, त्यस्ता व्यापारी–व्यवसायीहरू कसैबाट पनि डराउनु नपर्ने बताए । उनले यस्ता व्यापारी–व्यवसायीहरूलाई स्थानीय प्रहरी, प्रशासनले दुःख दिएको पाइए गृहले कारबाही गर्ने बताए ।

उनले राजस्व सङ्कलनमा देखिएका चुनौतीहरूको सामना गर्न नीतिगतरूपमा सरकारले चाल्नुपर्ने कदम अहिले छलफलमा रहेको बताए । यस विषयमा सरकारले कानून नै संशोधन गर्नुपर्छ भने पनि गरेर अगाडि बढ्ने बताए । राजस्व चुहावट पूर्णरूपमा नियन्त्रण गरी मुलुकको राजस्व सङ्कलनमा वृद्धि गर्नका लागि अहिलेको सरकार लागिपरेको उनले दाबी गरे ।

गोष्ठीमा गृहसचिव नारायणप्रसाद भट्टराई, अर्थसचिव कृष्णहरि पुष्कर, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी क्रमशः दिनेशसागर भुसाल, शशीधर अधिकारीलगायतको सहभागिता थियो ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने पार्टीका अगुवा कार्यकर्ताहरूको भेलामा पनि सहभागी भए । उनले पार्टी कार्यकर्ताहरूलाई पार्टीको विधान परिधिमा रहेर समाजमा असल काम गरेर देखाउन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here