प्रस, वीरगंज, २८ चैत/
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालका सबै क्षेत्रमा इमानदारिताको सङ्कट परेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारणसभामा बोल्दै नेता रिमालले राजनीतिक, सामाजिक, निजी, सामुदायिक सबै क्षेत्रमा इमानदारिताको खाँचो परेको जिकिर गरे । उनले इमानदारिता अहिले समाजमा प्रश्नको घेराभित्र छ, हरेक क्षेत्र अहिले प्रश्नको घेरामा छ, को कति इमानदार भन्ने प्रश्न उठेको छ, यसले एक किसिमको निराशा बढेको बताए । उनले समाजमा निराशा बढे पनि आफूले भने यति धेरै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
उनले के गर्दा काम गर्ने ठाउँमा एकले अर्कालाई उत्साह भर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने सुझाए । उनले आजको समस्या आपसी विश्वासको समस्या रहेको बताउँदै अहिले विश्वासमा ठूलो खाडल रहेको बताए ।
मुलुक अहिले समस्यामा रहेकोले समाधानको लागि सिङ्गो नेपाली जनता एक हुनुपर्ने बताए । जनताको मनोबल बलियो पार्न सकियो भने सबै खालका समस्या समाधान गरेर अघि बढ्न सकिने उनले बताए ।
नेता रिमालले नेपालका सबै राजनीतिक दलले शासन सञ्चालन गरिसकेकाले कसले कस्तो काम ग-यो भन्ने कुरा व्यवसायी र विद्वत्वर्गको बीचमा प्रस्ट रहेको जिकिर गरे । म भएको भए यसो गर्थें भनेर कसैले मीठा कुरा गर्न जरुरी नरहेको उनको तर्क थियो ।
झिल्के कुरा गर्ने मानिसहरू चाँडै बिक्ने र ओझिलो कुरा बोल्ने मानिसहरू ओझेलमा परेको स्थिति अहिले रहेको भन्दै झिल्के कुराले देशलाई अघि बढाउन नसक्ने बताए ।