प्रस, वीरगंज, २८ चैत/
वीरगंज महानगरपालिका कार्यालयले सडक अतिक्रमण हटाएको छ ।
सडक डिभिजन कार्यालयले रु २६ करोडको लागतमा सुक्खा बन्दरगाहदेखि इटियाही, मनियारी हुँदै गण्डक सिंचाइ नहरसम्मको कालोपत्र सडकमा पर्ने अतिक्रमण हटाएको नगरप्रमुखका सचिवालय सदस्य हरि पोखरेलले बताए ।
उनले बिहीवार वीरगंज महानगरपालिका–२२ मनियारीटोलमा सडक अतिक्रमण गरी बनाइएका एक दर्जन बढी पक्की, खपडा र टिनको छानो रहेको संरचना हटाइएको बताए ।
सडक डिभिजन कार्यालय, हेटौंडाले ३२ फिट फराकिलोमा कालोपत्र सडक र नाला निर्माण गर्दै आएको र सो क्रममा मनियारीमा अतिक्रमित क्षेत्र खाली गराइएको पोखरेलले बताए ।
अतिक्रमण हटाउन नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी इन्चार्ज हरि भुसाललगायतको सहभागिता थियो ।