अब २०८० इतिहास बन्दैछ । इतिहासको मूल्याङ्कन इतिहासले नै गर्दछ । यस वर्ष देशमा धेरै कुराहरू भएका छन् । यहाँ राजनीतिक दृष्टिकोणले होइन, मुख्यतः सामाजिक दृष्टिकोणले २०८० को मूल्याङ्कन गर्ने प्रयास गरिएको छ तर आर्थिक दृष्टिकोणले पनि अलिकति हेर्ने प्रयास गरिन्छ । यस वर्ष देशले केही उपलब्धिहरू हासिल गरेको छ । यस वर्ष नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित भएको छ । निर्माण भएर सञ्चालन भएको समयदेखि यो वर्ष नै पूर्ण क्षमतामा सञ्चालन भएको हो । नेपालको आन्तरिक हवाई उडानमा पर्याप्त यात्रुले यात्रा गरेका छन् । अपेक्ष्ति विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । देशबाट बिजुली निर्यात राम्रो भएको छ । देशमा पहिलेको तुलनामा जति पेट्रोलियम पदार्थ बढ्दो दरमा आउँथ्यो, त्यसमा केही कमी आएको छ । देशमा बिजुलीमा चल्ने गाडीहरूको प्रयोगमा वृद्धि भइरहेको छ ।

समाजमा २०८० को मिश्रित प्रभाव परेको देखिएको छ । देशमा कुनै उल्लेख्य परिवर्तन नभए पनि एक दुई क्षेत्रमा भने निकै परिवर्तन भएको छ जसको सामाजिक प्रभाव बेजोड देखिएको छ । सबैलाई थाहा छ, यस वर्षको सबैभन्दा चर्चित प्रसङ्ग मिटर ब्याज नै रह्यो । काठमाडौं केन्द्रित आन्दोलन त मिडियामा बढी चर्चामा थिए नै, जब पीडितहरूसित निवेदन माग भयो र हजारौको सङ्ख्यामा पहिले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भयो त्यसपछि समाजमा अनेक किसिमले प्रभाव परेको देखियो । मिटर ब्याज पीडितहरूले जसरी निवेदन दर्ता गराए र केही हदसम्म जसरी प्रशासनले मुद्दा फछ्र्योट गर्ने काम ग¥यो त्यसले एकातिर अन्यायमा परेका धेरैलाई न्याय दिलाउने काम भयो नै, ग्रामीण क्षेत्रमा भने ऋण प्रवाहमा क्रम–भङ्गता देखियो ।

धेरै मानिस ऋण लगानी गर्न डराइरहेका र धेरैले ऋण नपाइरहेको अवस्था रहेको छ । गाउँघरमा ऋण परिचालन धेरै हुन नसक्दा बैंकमा पैसा जम्मा रहेको तर लगानी गर्न नसकिएको देखिएको छ । यसको दोहोरो प्रभाव यो देखिएको छ कि गाउँमा कसैले कुनै सामान बिक्री गर्न चाहँदा पनि भइहरेको छैन । गाउँघरमा जग्गाको दाम पनि कम भएको छ । खेतको दाम कम हुुनु मात्र होइन, उद्योग तथा व्यवसायको क्षेत्रमा पनि यसको प्रभाव परेको छ । अहिले चाडपर्वको बेला मात्र व्यावसायीहरूले सोचेजस्तो ग्राहक पाउने गरेको र अन्य समयमा ग्राहक नहुँदा त्यत्तिकै बस्नुपरेको बताउने गरेका छन् । सबै क्षेत्रको व्यवसायमा कमी आएको छ, दैनिकी भने चलिरहेको छ । गाउँघरमा आर्थिक गतिविधिमा खासै धेरै गतिशीलता यस वर्ष देखिएन ।

किसानहरूका लागि केही हदसम्म अनुकूल समय मान्नुपर्दछ । कृषि उपजले राम्रै बजार पाएको देखिएको छ । पहिलेका वर्षहरूभन्दा केही बढी मूल्य पाउनु र हरेक उत्पादनले निरन्तर मूल्य पाइरहनु कृषकको दृष्टिकोणले वर्ष राम्रो रह्यो । धानको भाउ राम्रै छ, गहुँ र मसुरोले पनि भाउ पायो । हरियो तरकारीले किसानलाई निकै राम्रो आम्दानी दियो । आलुखेती गर्ने किसानले सोचेभन्दा धेरै राम्रो आम्दानी गरेका छन् । यद्यपि पशुपालक किसानलाई भने खासै फाइदा भएन । मुख्यगरी दूध उत्पादन गर्ने किसानले दूधको मूल्य कम पाएका छन् । दूधको उत्पादन बढी हुँदा धेरै किसानले समयमा दूध बेचेको पैसा पाउन सकेनन् । यसैगरी कुखुरा व्यवसाय तथा बाख्रा–खसी पालन गर्ने किसानले पनि सोचेजस्तो आम्दानी गर्न सकेको देखिएको छैन । यसको मुख्य कारण चाहिं मासुको खपतमा कमी आउनु हो । मासुको खपत गाउँघरमा पनि कम भएको छ भने बजार क्षेत्रमा पनि कम भएको छ । मासुको मूल्यमा कमी आएकोले पशुपालक किसानको हातमा पुग्ने रकममा पनि सोही अनुसार कमी आएको हो ।

आम्दानी कम हुँदा सर्वसाधारण युवाको चाहना विदेशमा रोजगारको खोजी निकै प्रमुख रह्यो । यहाँ व्यापार, व्यवसाय गरेर वा कुनै नोकरी गरेर जीवनयापन गर्न सकिन्छ भन्ने सोचभन्दा पनि बढी विदेश गएर केही गर्नुपर्छ भन्ने सोच हावी भइरह्यो । शिक्षितदेखि निरक्षरसम्मले विदेश पलायनको मनोविज्ञान बनाइरहे । धेरै मानिस कामको खोजीमा विदेश गएका पनि छन् । त्यसले यहाँ मजदूरको अभाव भयो । भारतमा मुख्यतः कृषि मजदूरको रूपमा काम गर्न जाने र फेरि फर्केर आई कृषि गर्ने प्रवृत्तिले प्रमुखता पाइरह्यो । कामको खोजीमा भारत पुगेका ग्रामीण कृषि मजदूरहरूको पनि कमाइ खासै हुन नसकेको गुनासो रह्यो । कामको कमी र मजदूरको उपलब्धता बढी हुनुले प्रतिस्पर्धा बढी भएर कामै पाउन गा¥हो भएको बुझाइ कृषि मजदूरहरूको छ । कृषि मजदूरहरूले गाउँमा ऋण र सापट पाउन निकै सङ्घर्ष गर्नुपरेको तथा अन्यत्र गएर पनि काम पाउन सङ्घर्ष गर्नुपरेको वर्षको रूपमा लिएका छन् ।

संस्कृतिको दृष्टिकोणले पनि दुई किसिमको प्रतिक्रिया देख्न पाइयो । पहिलो यस वर्ष संस्कृतिमा केही जागरण आएको अनुभव हुन्छ । अयोध्यामा राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको समयलाई हरेक घर परिवारमा धार्मिक तथा उत्सव मनाउन समाजले सामूहिक भूमिका निर्वाह ग¥यो । हरेक गाउँमा सार्वजनिक यज्ञ हुनु, मठ मन्दिरमा विभिन्न देवदेवीका प्रतिमा स्थापित हुनु तथा धर्म र संस्कृति संरक्षणमा अग्रसरता देखिनु सांस्कृतिक दृष्टिकोणले उपलब्धिपूर्ण वर्षको रूपमा रहेको देखिन्छ । यसैगरी विभिन्न संस्कृति र चाडपर्वहरूको मौलिकताको खोजी गर्दै स्वस्थ संस्कृति मनाउने चेतना, थोरै भए पनि, गाउँ समाजका शिक्षित समुदायमा आएको देखिन्छ । कसरी हुन्छ, मौलिक संस्कृतिको स्वस्थ रूपलाई संरक्षण गर्न शिक्षित समुदायमा सचेतना देखिनु एउटा उपलब्धिपूर्ण वर्षको रूपमा रहेको छ । सर्वसाधारणमा धार्मिक विश्वास तथा सांस्कृतिक चेतनामा अभिवृद्धि भई धेरैलाई आप्mनो संस्कृतिप्रति गर्वको अनुभूति गराउनु यस वर्षको उपलब्धि नै रहेको मान्न सकिन्छ । निस्सन्देह चाडपर्व मान्ने, देवीदेवताप्रति आस्था र श्रद्धा प्रकट गर्ने तथा संस्कृतिलाई मौलिकतासहित मान्नुपर्छ भन्ने चेतनशील मस्तिष्कमा वृद्धि भएको छ । संस्कृतिसम्बन्धी अर्को प्रतिक्रिया हो, केही मनोमालिन्य देखिनु । मुख्यरूपमा मलङ्गवामा यस वर्ष पटकपटक कफ्र्यु जारी भयो । रौतहट, पर्सा, सप्तरी आदि जिल्लामा पनि केही अमिलो अनुभूति भयो । समाजमा शताब्दीयौंदेखि मिलेर बसेका विभिन्न समुदायको मनमा अमिलोपन देखिनुले यस वर्षको सामाजिक अनुहारमा दाग लगाइदिएको छ ।

बसाइँसराइ र विदेश पलायनको सन्दर्भ पनि यस वर्ष चर्चामा रहिरह्यो । हिमाल तथा पहाडका जिल्लाहरूमा मानिसको सङ्ख्या कम भइरहेको र धेरै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून बनेका समाचारहरू निरन्तर आइरहे । पहाडका कतिपय नगरपालिकाको जनसङ्ख्या गत दश वर्षको अवधिमा उल्लेख्य मात्रामा कम भएको पाइएको छ । धेरै मानिस विदेश पलायन गरिरहेको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ । प्रशासनिक क्षेत्रका उच्चपदस्थ मानिसहरूमा पनि यस किसिमको चिन्ता देखिएको छ कि पहाड र हिमालका जिल्लाहरू खाली भइरहेका छन् । जनसङ्ख्या मुख्यगरी शहरी क्षेत्र तथा तराई–मधेसमा बढी केन्द्रित हुन थालेको छ । यस किसिमको प्रवृत्तिले निरन्तरता पाउँदा भविष्यमा जनसङ्ख्या असन्तुलन आउने सङ्केत हो भनी सचेत रहनपर्ने सुझावहरू पनि दिन थालिएको छ ।

सामाजिक क्षेत्रमा मिटर ब्याजको प्रसङ्गले ल्याएको हलचल र पारेको दीर्घकालीन प्रभावबाहेक खासै सामाजिक परिवर्तन देखिएन । यस वर्ष सामाजिक धरातलका धेरै किसिमका विश्लेषणहरू भएका छन् । शिक्षाको क्षेत्रमा पनि धेरै चर्चा भएको छ तर सकारात्मकतातिर जाने सङ्केतमात्र देखिएको छ । यद्यपि शिक्षामा लगानी बढाउन अभिभावकहरू तयार देखिएका छन् । अबको दिनमा शिक्षाको अवस्था राम्रो हुने सम्भावना बढेको यो वर्ष औसत किसिमको देखिन आउँछ । आसन्न नयाँ वर्ष उपलब्धिमूलक बन्ने आशासहित सबैमा नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here