प्रस, वीरगंज, २५ चैत/
मधेस विश्वविद्यालयले नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ स्थापनाको स्मरण गरेको छ । नेपालको पहिलो विश्वविद्यालयको परिकल्पनाले नै आज मधेस विश्वविद्यालय स्थापना गर्न सफल भएको भन्दै नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालयको स्मरण गरिएको हो ।
मधेस विश्वविद्यालयको सभाकक्षमा आइतवार मधेस प्रदेशका मुख्यमन्त्री एवं विश्वविद्यालयका कुलपति सरोजकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले विसं २००७ सालमा राणाशासनको अन्त्यपछि वीरगंजमा उच्च शिक्षाको लागि महाविद्यालयको आवश्यकता महसूस गरेर वीरगंजमैं विश्वविद्यालय स्थापनामा अग्रसर भएको बताए ।
उनले वीरगंजमा विश्वविद्यालय स्थापना गर्ने सोचले यहाँका विभिन्न विद्वत्वर्ग, राजनीतिक नेतृत्व, उद्योगी–व्यवसायीलगायत सरोकारवालाहरूको पहलमा वीरगंजको श्रीपुरमा रहेको विद्यापीठमा २००७ चैत २५ गते आजकै दिन नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय
विद्यापीठ विश्वविद्यालयको परिकल्पना गरिएको थियो । त्यही बेलादेखिको निरन्तर पहल र प्रयासले मुलुकको शासकीय स्वरूप परिवर्तनपछि वीरगंज विश्वविद्यालय स्थापना गर्न सकेको बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वविद्यालयको पूर्वाधार संरचनाका लागि मधेस प्रदेश सरकारले पहल गर्ने आश्वासन दिए । पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेस विश्वविद्यालय स्थापना ऐतिहासिक मधेस आन्दोलनको उपलब्धि भएको र यसको पूर्वाधार संरचनामा मधेस प्रदेश सरकारको मुख्य जिम्मेवारी रहेको बताए । पहिले वीरगंज विश्वविद्यालय स्थापनाका लागि सङ्कलन गरिएको छ करोडभन्दा बढी रकम बैंकमा राखेर ब्याज खाइरहेको हुँदा त्यसलाई ठाकुर राम बहुमुखी क्याम्पसको छात्रावास निर्माणमा खर्च गर्न सुझाव दिए ।
कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, शिक्षा तथा सामाजिक विकासमन्त्री एवं मधेस विश्वविद्यालयका सहकुलपति प्रमोद जयसवाल, पूर्वमन्त्री नागेन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले गरेका थिए ।