प्रस, वीरगंज, २५ चैत/
युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले आइतवार नारायणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । वर्षौंदेखि जीर्णाेद्धारको अभाव खेपिरहेको रङ्गशालाको नगरप्रमुख राजेशमान सिंहसहितलाई लिएर मन्त्री श्रेष्ठले अवलोकन गरेका हुन् ।

सो अवसरमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंहले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रमार्फत रङ्गशालाको जीर्णोद्धार गर्न आग्रह गरे ।

उनीहरूले करीब चार दशक अघि स्थानीयवासीको सहयोगमा १८ बिघा जग्गामा निर्मित नारायणी रङ्गशालाको मर्मतसम्भारमा तीनै तहका सरकार उदासीन भएको आरोप लगाए ।

ज्ञापनपत्रमा चार वर्षअघि राष्ट्रिय खेलकूद परिषद्ले रङ्गशालाको जीर्णोद्धारका लागि डिपिआर तयार गरेको र दुई अर्ब ६४ करोड खर्च अनुमान गरेकोमा सरकारले भने सात करोड रुपैयाँ मात्र रकम विनियोजन गरेको र सोही रकमबाट पुनर्निर्माणका काम कछुवा गतिमा भइरहेको गुनासो गरेका थिए ।

उनीहरूले रकम अभावमा रङ्गशालाको जीर्णोद्धार हुन नसकेको भन्दै आवश्यक बजेट विनियोजनका लागि सहयोग गर्न मन्त्री श्रेष्ठसँग आग्रह पनि गरे । मन्त्री श्रेष्ठले ज्ञापन बुझ्दै नारायणी रङ्गशाला मधेस प्रदेशको धरोहर भएको र यसको जीर्णोद्धारका लागि सरकारसँग पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद मनीष झा, स्थानीय नेताहरू मुर्ली जालान, महादेव कुर्मी, शेखर अग्रवाल, दीपराज पटेल, मुकेश पटेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here