प्रस, रौतहट, २३ चैत/
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ह्वाट्सएप गु्रपबाट चिट चोर्न सघाउने परीक्षा निरीक्षकहरूलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय, रौतहटले हाजिर जमानीमा रिहा गरेको छ ।
जिल्लाका विभिन्न परीक्षा केन्द्रमा खटिएका परीक्षा निरीक्षकहरूले ह्वाट्सएपमार्फत चिट चोर्न लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई आज हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटकी सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।
शिक्षा ऐन–२०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गत कसूरमा मुद्दा दर्ता गरी बाहिर राखी अनुसन्धान गरिने सूचना अधिकारी एवं प्रनाउ गिरीले बताइन् ।
रिहा हुनेहरूमा श्रीमावि पथराका प्रधानाध्यापक राजदेवी नपा–१ बस्ने ४५ वर्षीय उतिचन्द्र यादव, सरस्वती मावि पिपरा परीक्षा केन्द्रका परीक्षा निरीक्षक गढीमाई नपा–७ मा बस्ने २२ वर्षीय ललनराय यादव, पथरा बुधराम परीक्षा केन्द्रका परीक्षा निरीक्षक मौलापुर नपा–६ बस्ने ४८ वर्षीय रामअमोदप्रसाद यादव, शङ्कर मावि सरमुजवा परीक्षा केन्द्रका परीक्षा निरीक्षक मौलापुर नपा–६ मा बस्ने ४४ वर्षीय अवधलाल राम रहेका छन् । यसैगरी, राकेशकुमार यादव, रामसोगारथ साहलगायत १० जना पनि रिहा भएका जिप्रका, रौतहटले जनाएको छ ।