• राजेश मिश्र
“सुन कर के हमरो सेजरीया हो रामा,
पियावा परइलें ।
जहिया से गइलें पिया फोनो नाहिं कइलें,
चिठी चापाती एकहुँ ना भेंजलें ।
कवनो संदेशा ना खबरीया हो रामा,
पियावा परइलें…।”
पति (पिया) मलाई एक्लै छाडेर परदेश गएदेखि एक त ओछ्यान (सेजरिया) सुनसान छ । अनि पतिले फोन वा चिठीपत्रीमार्फत सन्चो/बिसन्चो थाहा नपाएको भन्दै पत्नीको विरह उपरोक्त चैतावर गीतमार्फत प्रकट गरिएको छ । उमेरले आठ दशक कटे पनि ती वृद्धको मुखबाट लयबद्ध शैलीमा चैतावर गीत सुनुसुनु लाग्छ । पारम्परिक गीतहरूले एकातर्फ आन्नदविभोर पार्छ भने अर्कोतर्फ थोरै शब्दमा अनेकौं परिवेशसँग साक्षात्कार गराउँछ । मनको कुण्ठा/विरह/वेदना सार्वजनिकरूपमा व्यक्त गर्न सकिंदैन । साहित्यकारहरूले अदृश्य आम मनोभाव लोकगीतमार्फत अभिव्यक्त गर्ने परम्परा सदीयौंदेखि चलिआएको छ । लोकगीत सीमित शब्द र लयबद्धरूपमा बृहत् संदेश प्रवाह गर्ने खालका हुन्छन् ।
हाम्रा पुरनियाहरू अनुभवका सागर हुन् । किनभने उनीहरू त्यस माहोलमा हुर्केका प्रत्यक्षदर्शी हुन्, जतिबेला नितान्त संस्कृति र परम्परामा आधारित लोकजीवन थियो । भाषा, भोजन, पहिरन र लोकसंसाधन कुनै पनि कुरामा अहिले जस्तो कुण्ठाभाव थिएन । जे थियो त्यसैमा आनन्दित हुन्थे । कसैको नक्कल वा देखासिकी वा फरक संस्कृतिका मानिसको सामुन्ने आफ्नो पहिचान लुकाउने संस्कार थिएन । धार्मिक तथा समाजिक कथा, कहानी, कीर्तन, भजन मनोरञ्जनका सर्वोपरि संसाधन थिए । वेशभूषा, भाषा, हावापानी, पहिरन र पर्व–त्योहारसँगै लोकगीत मौलिकता अनुभूत गराउने उपक्रमहरू हुन् ।
सनातन संस्कृतिमा प्रत्येक महीनालाई बोध गराउने लोकपर्व र लोकगीतहरू सदीर्यौदेखि प्रचलनमा छन् । महीना शुरू हुनुभन्दा केही दिन अगावैदेखि परिवर्तित मौसम र सो महीनासँग सम्बन्धित लोकगीतहरूको गुञ्ज कानमा पर्नेबित्तिकै मस्तिष्कमा चित्र उघ्रिनुपर्छ । शिक्षा, धन र पदको भ-याङ चढेर जति माथि पुगे पनि संस्कृतिको सामीप्यविना अर्थहीन हुन जान्छ ।
मनोरञ्जनसँगै लोकविद्याको पुस्तान्तरण/हस्तान्तरण हुँदै आइरहेको व्यवस्था केीिह दशक यता विभिन्न कारणले सुस्त छ । उहिले लोकसंस्कृतिको राप कणकणमा समाहित थियो । अनि त्यो परिवेशमा श्वास लिंदा सोसँगै संस्कार र संस्कृति मस्तिष्क स्पन्दन गर्दै ह्दयभित्र प्रवेश गथ्र्यो । यसर्थ, लोकसंस्कृति र परम्परा लोकजीवनको अभिन्न अङ्ग उहिले पनि थियो र आज पनि हुनैपर्छ ।
जीवित वृद्धवृद्धाहरूसँग पारम्परिक लोकगीतहरू सञ्चित छ । अहिलेका पुस्ताले सोको संरक्षण गर्नुपर्छ । सञ्चित अनुभव पैसाले कदापि किन्न सकिन्न । भकारीमा सञ्चित अन्नपात भकारीको थुनिएको मुहान खोल्नेबित्तिकै जसरी ह्वारह्वार मन्द नादसँगै बाहिर निस्कन्छ, त्यसैगरी स्नेहरूपी साँचोले वृद्धवृद्धाहरूको हृदयरूपी लकरमा स्पन्दन गर्नेबित्तिकै फट्ट खुल्दोरहेछ । अनि वर्षौंदेखि थन्किएको ज्ञानरूपी सम्पत्ति आर्जन र संरक्षण गर्ने जिम्मा नवपुस्ताको हो ।
एकदिन एकजना वृद्धसँग एक कार्यक्रममा भेंट भयो । भोजपुरी साहित्यको उनीसँग असीमित भण्डार रहेको मैले अनुभूत गरें । चैत महीना भएकोले उनीसँग खासगरी चैतावर लोकगीतको सेरोफेरोमा कुराकानी भयो । बीचबीचमा उनी आफैले लेखेका कर्णप्रिय चैतावर गीतहरू लयबद्ध सुनाइरहेका थिए ।
बारा जिल्लाको परसौनी गापा–५, प्रस्टोका निवासी ८२ वर्षीय विक्रम साहसँग भएको कुराकानीको सङ्क्षिप्त अंश प्रस्तुत छ–
“साहित्य हवे क्षीरसागर, साहित्य निर्मल गङ्गा ह ।
साहित्य ह सुजर गगन के, आसमान के चंदा ह…।”
गायन–वादनमा बाल्यकालदेखि नै आबद्ध थिएँ । पुर्खौंदेखि हस्तान्तरित हुँदै आइरहेका भजन, कीर्तन बाल्यकालमा खुब सुनिन्थ्यो । पछि उमेर बढ्दै जाँदा गाउने रहर जाग्रत भयो । अग्रजहरूबाट हारमुनियम बजाउन सिकें । ठूल्दाइले गोखरपुरबाट हरमुनियम खरीद गरेर ल्याइदिनुभएको थियो । प्रथम ज्ञान गाउँघरका अग्रजहरूबाट प्राप्त गरें । चैतावर गीतमार्फत चैत महीनाको वर्णन यसरी गरेको छु ।
“गुन्जतारे धरती गगनवा हो रामा, चैत महिनावा,
नाहीं लागे घाम कडवा नाहीं लागे सरदी,
नाहीं बा तूफान आँधी नाहीं धुला गरदी,
रस–रस बहता पवनावा हो रामा, चैत महिनावा…।”
तर भोजपुरी साहित्यमा मेरो रुचि बढेको झन्डै दुई दशक अघि हो । त्यसको कारण छ । विसं २०५७ सालमा अद्र्धांगिनीको देहावसान भयो । त्यसपछि छोराछोरी, इष्टमित्र, घरपरिवारको असीम अपनत्व पाइरहें तापनि मनको एउटा कुना खालीको खाली थियो । त्यो रिक्तता पूरा हुन सक्दैन । यद्यपि सत्य स्वीकार गर्नुको विकल्प पनि छैन ।
दिनचर्या व्यस्त पारेर खल्लोपन अदृश्य पार्न चाहन्थें । एउटा भोजपुरी लोकोक्ति ‘जोगिया के भावे ऊ वैदा फुर्मावे’ भनेझैं ईश्वरीय अनुकम्पा नै भन्नुपर्छ, मेरो जन्मथलो प्रस्टोकामा विसं २०५८ सालदेखि हाटबजार शुरू भयो । त्यहीं बजारमा हनुमान मन्दिरको स्थापना भयो । त्यसै मन्दिरमा म स्वेच्छाले हनुमानजीको सेवा गर्ने जिम्मेवारी लिएँ । दिउँसो र राति प्रायःजसो फुर्सतै हुन्थ्यो । फुर्सतको बेला गर्ने के ? अनि भोजपुरी कविता लेख्न थालें । लेख्थें र समकक्षीहरूलाई सुनाउँथे । साथीसङ्गीहरूले मनोबल बढाउँथे । खल्लोपन बिस्तारै ऊर्जामा रूपान्तरण हुँदै गयो । त्यसै बेलादेखि मनको बह शब्दमा कोर्ने प्रयास जारी छ । एकजना पत्नीले ‘नैहर’ (माइती) जाने भन्दै पतिसँग गरेको आग्रह यसरी वर्णन गरेको छु ।
“चैत मासे चुनरी रंगा द बलमु हो,
जाएम नहियरवा ।
चुनरी रंगा द चोलिया सिया द,
आरी आरी घुंघुरू धरा द बलमु हो,
जाएम नहियरवा ।”
वीरगंज, कलैयालगायत भारतको बिहार राज्यमा आयोजित कवि सम्मेलनहरूमा सहभागी हुने अवसर पाउँदै आइरहेको छु । सन् २०१२ मा भारतको राजधानी दिल्लाीमा विश्व भोजपुरी कवि सम्मेलन आयोजना भएको थियो । म पनि आमन्त्रित थिएँ । सम्मानसहित पुरस्कृत भएको त्यो क्षणले झन् ऊर्जान्वित बनायो ।
चैत महीनामा कोइलीको मधुर स्वर सुनूँसुनूँ लाग्छ । बिहानको मिरमिरे उज्यालोमा कोइलीको बोलीले निद्रा खुल्छ । कोइलीको बोलीले पतिको निद्रा भङ्ग भएपछि पत्नीको मनोभाव यसरी वर्णन गरेको छु ।
“सुतल बलमु के जगवले रे कोइली, तोरी मिठी बोलिया ।
कोइली के बोली सुन के आवत नइखे निंदिया,
बिरह के देह में खसकी–खसकी गिरे, माथ पर के बिंदिया ।
विरहा लागल देह में अगिया रे कोइली, तोरी मिठी बोलिया…।”
चैतावर लोकगीत वसन्तऋतुको प्राकृतिक प्रभावलाई दर्शाउँछ । यस बेला बोटबिरुवादेखि जीवजन्तु र मानवीय अङ्गमा नयाँ ऊर्जा प्रवाहित हुन्छ । चैतावर गीतमा प्रायः नारीको भाव दर्शाइएको पाइन्छ । किनभने वसन्त ऋतुको प्रभाव गर्भधारीहरूमा बढी पर्छ । त्यस कारण प्राकृतिक संवेदनालाई महसूस गरी कालान्तरमा चैतावर लोकगीतको उदय भएको बुझ्न सकिन्छ ।
उहिले डफ/डम्फ र झालको तालमा चैतावर गीत गाइन्थ्यो । अनि पूर्ण साजबाज अर्थात् ढोलक, हारमुनियम र कठझाल आदि वाद्ययन्त्रहरूको तालमा पनि चैतावर साङ्गीतिक कार्यक्रम गाउँगाउँमा हुन्थ्यो । त्यो क्ष्Fण निकै रमाइलो हुन्थ्यो । अहिले चैतावर गीत सङ्गीतको माहोल पातलिंदै गइरहेको देखिरहेको छु ।
चैत महीनामा बिहान र बेलुकी घर गृहस्थीको काम सकेर खाना खाई दिउँसो घरको बरन्डा वा बगैचामा आराम गरिन्थ्यो । अनि राति चैतावर गीत सङ्गीतमा मानवीय उपस्थिति सराबोर हुन्थ्यो । पराल र सोमाथि त्रिपाल बिछाएर गायन–वादन हुन्थ्यो । प्रकाशको विकल्प मटितेलले बल्ने दियो हुन्थ्यो । मेरो बाल्यकालीन परिवेशमा उज्यालोको लागि जुटको बोरा डण्डामा लपेटेर मटितेल भिंजाएर बालिन्थ्यो । दुईजनाको त्यहीं ड्युटी हुन्थ्यो । निभ्न थाल्यो भने पटक–पटक मटितेलमा भिंजाउने र बाल्ने अवस्था थियो ।
महिला र पुरुषको भव्य उपस्थितिमा चैतावर गायन–वादन हुन्थ्यो । लोकगीत गायन–वादनको क्षेत्रमा गाउँका अनुप महरा र अनुप सहनी मेरा अग्रज हुन् । उनीहरूबीच जात र थर फरक भए पनि गायन–वादनमा एकविना अर्को अधूरो थिए । उनीहरूबीच अटुट समीकरण थियो । त्यसैगरी एकजना शिक्षक हुनुहुन्थ्यो, शिव विरंची सिंह । उनी पनि गायन–वादन कलामा अब्बल थिए । उनीसँग पनि मैले शिक्षासँगै गायन–वादनमा ज्ञान हासिल गरेको छु । स्मृतिमा धेरै कुराहरू छन् । तीमध्ये आज मनको बह पोख्न पाएँ । खुशी लाग्यो ।
हाम्रो संस्कृति उपर लेखेको मेरो कृतिको विषयम चासो दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।अन्तमा, जीवनको सेरोफेरोमा भोजपुरी भाषामा कोरेको कविता सुनाउँदै बिदा लिन्छु ।
“ना जाने जवानी कहाँ चल गइल, एक बरिस के समान एक एक पल भइल ।
खोजत बानी कतहुँ मिलत हीं ना बा, सुबह के सुरज साम में ढल गइल ।।
देखिं लोगन जवानी चल गइल, अब आ गइल बुढारी ।
हाड–चाम सब देह के लटकल, पाक गइल मोंछ दारी ।।
एक डेग चलल भइल मुश्किल बा, देहिया भइल कबाडी ।
कवनो ठेकान जिनगी के नइखे, खुल जाइ कब गाडी ।
दे रहल बा टिटी सिटी, लाल झन्डा फहरावता ।
सिगनल हो गइल डाउन, ड्राइवर गाडी सोहरावता ।।
खुल जाइ जब गाडी, फेर लौटि ना दोहरा के ।
केतनो कोइ रोइ चिलाई, छाती पिट ठेठा के ।।
खुब मन्थन कइल जाइ, विक्रमजी का वाणी पर ।
छुट जाइ जवन तीर कमान से, फेर ना चढी कमानी पर ।।