नितेश कर्ण, वीरगंज, १७ चैत/
यही चैत १५ गते बिहीवारदेखि सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वीरगंज महानगरपालिका–१७ द्वारदेवी माविका एकजना शिक्षकको बदमाशीले गर्दा संस्थागत विद्यालयका चारजना विद्यार्थीको परीक्षा खराब भएको छ ।

वीरगंज महानगरपालिका–२० हरपतगंजस्थित गोल्डेन वाटिका इङ्ग्लिश स्कूलका चारजना विद्यार्थीहरूको एसइई अन्तर्गत अङ्ग्रेजी विषयको परीक्षा त्यहाँका शिक्षक राकेश तिवारीले बिगारेको गोल्डेन वाटिका इङ्ग्लिश स्कूलका सञ्चालक लालबाबूप्रसाद यादवले आरोप लगाएका छन् ।

उनले आफ्नो विद्यालयका १४ जना परीक्षार्थीको सेन्टर द्वारदेवी माविमा परेको र परीक्षा हुनुभन्दा अगाडि शिक्षक तिवारीले प्रतिविद्यार्थी एक हजार रुपैयाँको दरले घूस माग गरेको र सो दिन अस्वीकार गरेपछि चारजना विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने काम गरिएको आरोप लगाए । सो दिन शुरूमा विद्यार्थीहरूमध्ये दुईजनाको सिरियल नं सूचनामा टाँस नगरेको केहीबेरपछि परीक्षा केन्द्रमा प्रवेश नगराएर मानसिक यातना दिने कार्य गरिएको बताइएको छ ।
उनले यसबारेमा विद्यालयका प्रधानाध्यापक दयानन्द झालाई अवगत गराएपछि उनीहरूलाई परीक्षामा समावेश गरिएको तर नियमिततर्फका चारजना विद्यार्थीलाई गे्रडवृद्धिको प्रश्नपत्र दिएर परीक्षा दिन बाध्य पारिएको बताइएको ।

सञ्चालक यादवले परीक्षाको दिन घटनाबारे शिक्षा विकास तथा समन्वय एकाइ र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताए । उनले यसबारेमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा लिखित उजूरी गरेको जानकारी गराएका छन् । उनले चारजना विद्यार्थीको पुनः परीक्षा लिनुपर्ने र दोषी शिक्षकमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय वीरगंजका प्रमुख श्याम गुप्ताले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र दुईजना निरीक्षक, दुईजना सहायक निरीक्षकलाई आइतवारदेखि सो परीक्षा केन्द्रबाट हटाउने निर्णय गरेको बताए । उनले यसबारेमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराइसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here