प्रस, वीरगंज, १७ चैत/
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा गत फागुन ४ गते भएको आगलागीबाट घरबास गुमाएका परिवारलाई विभिन्न सङ्घसस्थासँग सहकार्य गरेर घर बनाइ दिने घोषणा गरेकी छन् ।
प्रवासी नेपाली सङ्घ तथा ताइवानी संस्था (चुजी फाउन्डेशन)सँगको सहकार्यमा घरबास गुमाएका २७ घर परिवारको पुनर्वासको निम्ति आवश्यक घर तथा विद्यालय निर्माण गरिदिने उनले बताइन् । सो क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेकी मन्त्रीले नेपाल सरकार, दातृ निकायसँग सहकार्य गर्दै पीडितको पुनर्बासको निम्ति आवश्यक काम गर्ने बताइन् । विराटनगर महानगरपालिकाबाट नजीकै रहेको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा गत फागुन ४ गते दिउँसो आगलागी भएको थियो ।
आगलागीबाट २७ घरटहरा जलेका थिए । आगलागीबाट जोगिन विभिन्न उपाय अपनाउनुपर्ने भन्दै मन्त्री चौधरीले कहिलेकाहीं जति नै सचेत हुँदाहुँदै पनि आगलागी हुन सक्छ दैवी प्रकोप भनौं वा विपत्ति भएको उनले बताइन् । पीडितका पीडामा मलहम लगाउन आफू आएको भन्दै आफूलाई एक्लो महसूस नगर्न र साथमा सरकार रहेको भन्दै पीडितलाई आश्वस्त पारेकी थिइन् ।
प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीले आफू सङ्घीय सरकार र स्थानीय सरकारसँग सहकार्य गर्दै पीडितको गाँस, बासको निम्ति जस्तोसुकै कार्य गर्न तयार रहेको बताए ।
आगलागीपीडितका लागि मन्त्री चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीले आगलागीबाट पीडित १६ घर परिवारका लागि आवश्यक राहत सामग्री वितरण गरेको रेडक्रस सुनसरी सभापति उमेश थापाले बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, गैरआवासीय नेपाली सङ्घकी अन्तर्राष्ट्रिय समन्वय समितिकी महिला संयोजक राधिका गुरुङ, उपाध्यक्ष रोजिना राई, समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, चुजी फाउन्डेशनका निर्देशक निर्देश शाक्यलगायतको सहभागिता थियो ।