• बैद्यनाथ श्रमजीवी

धम्मपद अन्तर्गत २६ खण्ड र ४२३ श्लोक रहेका छन् । यो सुत्तपिटकको सबैभन्दा सानो निकाय ‘खुद्दक निकाय’ को १५ भाग मध्ये एक हो । त्यसैगरी अभिधम्म पिटकमा ७ ग्रन्थ छन् । जस अनुसार धम्मसंगनी, विभंग, पुग्गलपंजति, कथावत्थु, यमक र पट्ठान पर्दछ । अभिधम्मपिटकमा धर्म, दर्शन र त्यसका क्रियाकलापहरूको व्याख्या पाण्डित्यपूर्ण तरीकाले गरिएको छ । यसमा विभिन्न दार्शनिक समस्याहरूको विवेचना पाइन्छ । त्रिपिटकले बुद्धको समयको राजनीति, अर्थ व्यवस्था, सामाजिक संरचना, शिल्पकला, सङ्गीत आदिको पनि वर्णन गर्दछ । त्यसकारण पनि त्रिपिटकको सम्पूर्ण हिसाबले महŒवपूर्ण स्थान रहेको देखिन्छ ।

कारण सिद्धान्तको रूपमा प्रतीत्यसमुत्पादले दुःखको कारणको खोजी गर्दछ । यसमा दुःखका कारणहरूको बाह्र शृङ्खला प्रस्तुत गरिएको छ, जसलाई द्वादस निदान भनिन्छ । द्वादस निदान प्रतीत्यसमुत्पादको आधारमा दुःखका कारणहरूको तार्किक खोजी हो । यी बाह्र शृङ्खलाहरूमा अविद्या, संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति र जरामरण पर्दछ । यसरी प्रतीत्यसमुत्पादले मानव जीवनका तीनै काललाई जोड्द छ । अविद्या र संस्कार अतीत जीवनसँग, जाति र जरामरण भविष्यको जीवनसँग तथा बाँकी आठ वर्तमान जीवनसँग सम्बन्धित छन् ।

प्रतीत्यसमुत्पादले तीनैलाई जोडेर कर्मवादको स्थापना गर्दछ । यस अनुसार मानिसको वर्तमान जीवन उसको पूर्ववर्ती जीवनको कर्महरूको परिणाम हो तथा भविष्यको जीवन वर्तमान जीवनको कर्महरू अनुरूप हुन्छ । त्यसैले मानिसले आप्mनो सङ्कल्पबाट भविष्यको जीवनलाई शुभ बनाउँद छ ।

प्रतीत्यसमुत्पादको यो नियम अटल छ र संसारका सबै प्राणीहरू यसबाट सञ्चालित छन् । प्रतीत्यसमुत्पाद अन्तर्गत बाह्र शृङ्खलाका तीनकाल अनुसार अतीत जीवनमा अविद्या र संस्कार पर्दछ । अविद्या भनेको अज्ञान हो र प्रायः चार आर्य सत्यको अज्ञान नै अविद्या हो । दुःखको नाशको लागि यसको नाश आवश्यक हुन्छ । अविद्या प्रतीत्यसमुत्पाद चक्रको प्रथम अङ्ग हो र यही नै यो चक्रको प्रथम कारण पनि हो । अविद्या अनादि छ तर शान्त छ । अविद्या सम्पूर्ण दुःखको मूल कारण हो र यसको नाश विद्याद्वारा वस्तुहरूको वास्तविक र यथार्थ ज्ञानबाट हुन्छ । अवास्तविक वस्तुलाई वास्तविक ठान्नु, दुःख उत्पन्न गर्ने वस्तुलाई सुख उत्पन्न गर्ने ठान्नु, आदि अविद्याका प्रतीक हुन् । वस्तुहरूको वास्तविक र यथार्थ स्वरूप नजान्दा अविद्या संस्कारको जन्म हुन्छ । संस्कारको कारण अविद्या हो ।

संस्कार भनेको सञ्चित कर्म हो । पूर्व प्रवृत्तिको रूपमा संस्कारलाई बुझिन्छ । अतीत जीवनका कर्महरूको प्रभावका कारण नै संस्कार निर्मित हुन्छन् । कार्य संस्कार, वाक संस्कार र मन संस्कार गरी संस्कार तीन प्रकारका हुन्छन् । कार्यसंस्कारमा शरीर प्रधान, वाक संस्कारमा वचन प्रधान र मन संस्कारमा मन प्रधान हुन्छ । संस्कारबाट विज्ञान निर्मित हुने भएकोले विज्ञानको कारण संस्कार हो । त्यसैगरी वर्तमान जीवन अन्तर्गत विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान र भव पर्दछ । विज्ञानको आशय चेतनासँग हुन्छ । यो जीवनको त्यो अवस्था हो, जहाँ प्राणीले माता–पिताको गर्भमा प्रवेश गर्दछ र चेतना प्राप्त गर्दछ । अर्थात् गर्भावस्थामा प्राप्त चेतनालाई विज्ञान भनिन्छ । यसको कारण ती चित्त धाराहरू हुन्, जसले कुशल र अकुशल कर्महरूको स्वरूप प्रकट गर्दछ । नामरूपको कारण विज्ञान हो । नामरूप भनेको मनसँग गर्भस्थ शरीर हो ।

यसको अभिप्राय भ्रुणको मानसिक र शारीरिक अवस्थासँग हुन्छ । मन र शरीर समूहलाई नामरूप भनिन्छ । नाम र रूप गरी यसमा दुई शब्द हुन्छन् । रूपमा पृथ्वी, जल, तेज र वायु गरी चार महाभूत पर्दछन् भने नाममा संज्ञा, वेदना, संस्कार र विज्ञान आउँदछ । यी पाँचैलाई संयुक्त रूपमा पञ्चस्कन्ध भनिन्छ । पञ्चमहाभूत र पञ्चस्कन्ध दुवैलाई मिलाएपछि नामरूप हुन्छ । षडायतनको कारण नामरूप हो । आँखा, नाक, कान, जिभ्रो, छाला र मन गरी छ इन्द्रियहरू नै छ आयतन वा षडायतन हो । स्पर्शको कारण षडायतन मानिन्छ । इन्द्रिहरूको विषयसँग संयोग हुँदा स्पर्श हुन्छ । वेदनाको कारण स्पर्श हो ।

सुख–दुःखको अनुभूतिलाई वेदना भनिन्छ । इन्द्रिय तथा मनको बाह्य वस्तुसँग सम्पर्क हुँदा जुन अनुभूति हुन्छ, त्यसलाई वेदना भनिन्छ । सुखरूप, दुःखरूप र उदासरूप गरी वेदना तीन प्रकारका हुन्छन् । तृष्णाको कारण वेदना हो । विषयहरूप्रति आसक्तिलाई तृष्णा भनिन्छ । इन्द्रियहरूबाट प्राप्त सुखानुभूतिप्रति लालसा तृष्णा हो । सुखप्रतिको आसक्ति तृष्णा हो । काम तृष्णा (इन्द्रिय सुखको इच्छा), भव तृष्णा (जीवित रहने इच्छा) र विभव तृष्णा (धन सम्पत्तिको इच्छा) गरी तृष्णा तीन प्रकारका हुन्छन् । उपादानको कारण तृष्णा हो ।

उपादान भनेको जगत्का वस्तुहरूप्रति राग र मोह हुनु हो । यो तृष्णाको बहुलता हो । कामोपादान (कामवासनामा लिप्त रहनु), दृष्टयुपादन (मिथ्या सिद्धान्तमा विश्वास), शीलव्रतोपादान (व्यर्थको शीलाचारमा लाग्नु) र आत्मावादोपादान (आत्माको अस्तित्वमा दृढ आग्रह) गरी उपादान चार प्रकारका हुन्छन् । भवको कारण उपादान हो । भव (अस्तित्व) भनेको जन्म ग्रहण गर्ने इच्छा हो । उत्पत्तिभव र कर्मभव गरी यो दुई प्रकारको हुन्छ । जातिको कारण भव हो । भविष्यको जीवनसँग सम्बन्धित शृङ्खला जाति र जरामरण हो । जाति भनेको जन्म लिनु अर्थात् शरीर धारण गर्नु हो । जरामरणको कारण जाति हो ।

जरामरण भनेको दुःखको प्रतीकको रूपमा प्रयुक्त शब्द हो । यहाँ जराको अर्थ बुढेसकाल र मरणको अर्थ मृत्यु हो । जीवनका दुःखहरूको साङ्केतिक नाम जरामरण हो । यसरी यी बाह्र चक्रले दुःखका कारणहरूको खोजी मात्र गर्दैन, त्यसको विनाशको कुरा पनि गर्दछ । यसरी प्रतीत्यसमुत्पादको सबभन्दा प्रमुख विशेषता के हो भने यी बाह्र चक्र मानवका भूत, वर्तमान र भविष्यका जीवनमा व्याप्त हुन्छन् । त्यसैले शान्ति तथा लोभ, घृणा र भ्रमरहित अवस्थाको रूपमा चित्रण गरिएको छ । निर्वाणलाई जीवनको अन्तको रूपमा लिइएको देखिंदैन । यद्यपि निर्वाण प्राप्ति यही जीवनमा पनि सम्भव छ भन्ने कुरा प्रस्ट्याइएको छ ।

बुद्धका अनुसार प्रत्येक मानवले स्वयं निर्वाण प्राप्त गर्नुपर्दछ । बुद्धजस्तै मानिसले यो जीवनमा आप्mना दुःख निरोध गरी निर्वाण प्राप्त गर्न सक्दछ । यसैले निर्वाणलाई जीवनको अन्त भन्दा पनि जीवनकालमा नै प्राप्यताको रूपमा बुद्धले व्याख्या गरेका छन् । निर्वाणको शाब्दिक अर्थ निभ्नु हो । निर्वाण प्राप्त भएपछि सबै दुःखको अन्त्य हुन्छ अथवा सबै दुःख निष्क्रिय अवस्थामा जान्छ र तिनको अनुभव पूर्णरूपले समाप्त हुन्छ । त्यसकारण निर्वाणलाई आनन्ददायक अवस्था मानिएको छ, जसबाट बाँकी जीवन कुनै पनि दुःखको अनुभव नगरी शान्तिपूर्वक बित्छ । यसबाट मृत्युपछि पुनर्जन्मको भय पनि समाप्त हुन्छ ।

निर्वाण निष्क्रियता र अकर्मण्यताको अवस्था होइन । व्यक्तिले निर्वाण प्राप्त गरेपछि चार आर्य सत्यमा निरन्तर विचार वा मनन गर्दछ र जब एकपटक अखण्ड समाधिद्वारा स्थायी रूपले प्रज्ञा प्राप्ति भएपछि निरन्तर समाधिमा पनि रहनुपर्दैन र कर्मबाट अलग रहने कुनै आवश्यकता पनि पर्दैन । निर्वाण प्राप्त व्यक्तिले पनि कर्म गर्नुपर्दछ तर त्यो कर्म स्वार्थमय नभएर लोककल्याणको लागि हुनुपर्दछ । निर्वाण प्राप्त भएपछि करुणा र दयाले प्रेरित भएर जनकल्याणको लागि स्वयंलाई सक्रिय राख्न सकिन्छ ।

बुद्ध दर्शनले मानवीय प्रवृत्तिको राम्ररी विश्लेषण गरेको छ । यस अनुसार मानिसको मन नै सम्पूर्ण कर्महरूको नियन्त्रक हो । त्यसकारण मानिसको गलत प्रवृत्तिलाई नियन्त्रित गर्नको लागि उसको मनमा सद्विचारको प्रवाह गरी उसलाई सदमार्गमा लानु जरूरी हुन्छ । बुद्ध दर्शनले सांसारिक दुःख सम्बन्धमा चार आर्य सत्य र सांसारिक दुःखबाट मुक्तिको लागि अष्टाङ्गिक मार्गको सिद्धान्त प्रतिपादन गरेको हो । बुद्ध दर्शनको मध्यमार्गको सिद्धान्त अनुसार मानिसले सबै प्रकारका आकर्षण र कायाक्लेशबाट बच्नुपर्दछ ।

मानिसले न अत्यधिक इच्छा राख्नुहुन्छ, न अत्यधिक तप (दमन) नै गर्नुपर्छ, वरन् बीचको मार्ग अँगालेर दुःख निरोधको प्रयास गर्नुपर्दछ । सम्यकको अर्थ नै दुई अतिबीचको मध्य स्थिति हो । दुवै अति खराब हुन्छ । बुद्ध दर्शन अनुसार जसले आप्mनो जीवनको परिदृष्टि ठीक राख्नेछ, जसले सही सङ्कल्प वा इच्छा राख्नेछ, जसको वाणी राम्रो हुन्छ, कर्म राम्रो हुन्छ, जसले जीविकाको लागि सबभन्दा राम्रो साधन चुन्दछ, जसले आप्mना इन्द्रियहरूलाई नियन्त्रणमा राख्नको लागि निरन्तर व्यायाम गर्दछ उही सारा दुःखबाट मुक्त हुनेछ । यसरी सूक्ष्मभन्दा सूक्ष्म चीजमा बुद्धले पर्याप्त विचारविमर्श गरेका छन् ।

यो दर्शनले पूर्णरूपले यथार्थमा बाँच्ने शिक्षा दिन्छ । तर आजको युगमा बुद्धको सिद्धान्त लागू गर्न सकिने वातावरण नै छैन । यसर्थ बुद्धको दर्शनलाई पनि वर्तमान व्यवस्था भित्र लागू गर्न सकिंदैन भन्ने कुरा बौद्ध मार्गीहरूले बुझ्न जरूरी छ । बुद्धकै मार्गमा हिंड्नको लागि पनि समाजवादी समाज निर्माण हुनु जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here