ओमप्रकाश चौधरी, सेढवा, ८ चैत/
पर्साका थरुहट र जङ्गल क्षेत्रका किसानहरू अहिले चैते धानबाली रोपाइँका लागि खेत तयारीमा जुटेका छन् ।

जिल्लाको गण्डक नहरदेखि उत्तरी थरुहट र जङ्गल क्षेत्रसँग जोडिएका ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका केही वडाका किसानहरू यतिखेर चैते धानबालीका लागि खेत तैयारी गरिरहेका छन् ।

तोरी र सुर्ती बाली भिœयाइसकेका किसानहरू खाली खेतमा चैते धानको तयारी गरिरहेका हुन् । उनीहरूले अबको एक सातादेखि रोपनी थाल्नेछन् । रोपनीका लागि यहाँका किसानहरूले धानको बीउ छरिसकेका छन् भने बीउ पनि तयारी अवस्थामा छ । बीउ तयारीका लागि तीनदेखि चार साताको समय लाग्ने गरेको छ । तोरी र सुर्ती बाली भिœयाए लगत्तै किसानहरूले हर्दिनाथ (१४४२) जातका धानको बीउ लगाएका थिए । पर्सा जिल्लामा चैते धानबालीमा हर्दिनाथ (१४४२) लगाइन्छ । अन्यत्र भने चैते धानका लागि चैत–४ र ५ पनि लगाइन्छ ।

ठोरी गापा–५ का किसान कल्याण बस्नेतले आफ्नो वडामा करीब ८० प्रतिशत खेतीयोग्य जमीनमा चैते धान लगाउने तयारी गरिएको बताए । उनले चार/पाँच दिनपछि रोपाइँका लागि बीउ तैयार हुने भएकाले किसानहरूले खेत जोत्ने, आली लगाउने कार्यमा व्यस्त रहेका उनले बताए ।
थरुहट क्षेत्र र जङ्गलसँग जोडिएको पर्सामा तीनपटक बाली हुन्छ । दुई बाली धान र एक बाली अन्य सुर्ती, तोरी, गहुँ आदि । ठोरीमा गहुँखेती निकै कम हुन्छ र यहाँ तोरी, सुर्ती खेती गरिन्छ भने अन्य पालिकाहरूमा गहुँसमेतको खेती गरिन्छ ।

पटेर्वासुगौली गापा–२ मकवानीटोलका बिगामहरा चमारले होलीपछि चैते धान रोपाइँ शुरू हुने बताए । किसानहरूले रोपाइँका लागि बीउ, खनजोत तथा सिंचाइको व्यवस्था मिलाइसकेका छन् । तर चैते धानका लागि पनि मलको समस्या हुने उनले बताए । उनले पटेर्वासुगौलीका दुईवटा वडामा चैते धान करीब ७० प्रतिशत खेतमा हुने गरेको बताए ।

गत वर्ष चैत धानबाली लगाएका किसानहरूले प्रतिकट्ठा पाँचदेखि आठ मन (२०० देखि ३२० किलो) उत्पादन गरेका र यो देखेर पनि केही किसानहरू चैते धानखेतीतर्फ आकर्षित भएका किसान महराले बताए । उत्पादनका साथै चैते धानको भाउ पनि राम्रो पाएको उनले बताए ।

जीराभवानी गापा कृषि शाखा प्रमुख क्षत्रबहादुर गुप्ताले सो पालिकामा गत वर्ष एक सय हेक्टर जमीनमा चैते धानबाली लगाइएको तर यस वर्ष भने यो धानबालीका लागि किसानहरूमा गजबको उत्साह देखिएको बताए । उनले चैते धानका लागि यस वर्ष किसानहरूले गहुँबालीका केही अंश उखेलेर चैत धानबालीका लागि बीउ रोपेको बताए । उनले यसपटक पालिकामा करीब एक हजार हेक्टर जमीनमा चैते धानखेती हुने अनुमान गरिएको बताए ।

जगरनाथपुर गापा–१ पिपरडाँडीका कारी चौधरीले सो पालिकाका किसानहरूमा पनि चैत धानखेतीप्रति आकर्षण बढेको बताए । त्यहाँका किसानहरूले पनि गहुँबालीका केही अंश खाली गराएर धानको बीउ छरेका र यस वर्ष जगरनाथपुरमा पनि चैते धानखेती गत वर्षको तुलनामा वृद्धि हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here