ओमप्रकाश चौधरी, सेढवा, ८ चैत/
मौसम परिवर्तनसँगै पर्साका ग्रामीण भेगमा विभिन्न रोगको प्रकोप बढेको छ । दिउँसो गर्मी बढ्ने तथा बिहान र साँझ चीसो हुने गरेका कारण अहिले रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला, आँखा पाक्ने जस्ता रोगका बिरामीहरू बढेका छन् ।
जाडो सकिन लागेको तथा गर्मी आउन लागेको कारण रोगको प्रकोप बढेको एकजना चिकित्सकले बताए । ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकामा अहिले रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला, आँखा पाक्ने जस्ता रोगका बिरामीहरू बढेका छन् । जीराभवानी गापा–२ शान्तिनगर निवासी देविका श्रेष्ठले छोरीलाई ज्वरो तथा गलगाँड भएको बताइन् । वार्षिक परीक्षा चलिरहेको बेला छोरी बिरामी परेकोले समस्या भएको उनले दुःखेसो पोखिन् ।
जगरनाथपुर गापा–१ पिपडाढीका राजकिशोर चौधरीले गाउँमा रुघाखोकी र झाडापखालाको प्रकोप बढेको बताए ।
जीराभवानी गापा–२ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले मौसममा आएको परिवर्तनसँगै अहिले बिरामीको चाप बढेको बताए । सामान्य अवस्थामा भन्दा अहिले बिरामी सङ्ख्या वृद्धि भएको उनले बताए । अहिले देखिएका बिरामीहरूमा रुघाखोकी, झाडापखाला, भाइरल ज्वरो तथा आँखा पाक्ने समस्या बढी देखिएको उनले जानकारी गराएका छन् ।
पटेर्वासुगौली गापा–२ स्थित गादी स्वास्थ्य चौकीका इन्चार्ज रियाज मियाँले सो स्वास्थ्य चौकीमा दैनिक १०–१५ जना बिरामी आउने गरेकामा अहिले सो सङ्ख्या बढेर दुई गुणा भएको बताए । उनले पनि स्वास्थ्य चौकीमा आउने बिरामीहरूमा रुघाखोकी, ज्वरो र झाडापखालाका बिरामी बढी हुने गरेको बताए ।
सखुवाप्रसौनी गापाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वरप्रसाद रौनियारले मौसम परिवर्तन हुने समयमा प्रत्येक वर्ष यस प्रकारका बिरामीहरू देखा पर्ने गरेको बताए । उनले यस प्रकारका रोगबाट जोगिनका लागि सरसफाइमा ध्यान दिनुपर्ने, पौष्टिक र झोलिलो पदार्थ बढी खाने, सकभर तातो पानी पिउँदा राम्रो हुने बताए । उनले आफ्नो पालिकाका मानिसहरूलाई यसबारेमा सचेत गराउने कार्य भइरहेको बताउँदै स्वास्थ्यसम्बन्धी समस्या आइपरेको खण्डमा गापाका स्वास्थ्यकर्मी, चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सुझाएका छन् ।