जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जिल्लाको कमान सम्हालेको एक महीनापछि पत्रकारहरूसँग भेटघाट गर्दै पुरानै कुरा दोहो¥याए, तस्करी बन्द गर्छु, बिचौलियामुक्त जिप्रका बनाउँछु । पर्सा जिल्लामा खुला सीमाका कारण तस्करी हुँदै आएको छ, यो कुरा नौलो होइन । पारि सस्तो हुने वस्तुहरू वारि तस्करी भएर आउने र पारि महँगो हुने वस्तुहरू वारि तस्करीकै माध्यमबाट आउने क्रम दशकौंदेखि चल्दैछ । प्रहरी र प्रशासनका प्रमुखहरू परिवर्तन भएको अवस्थामा केही दिन, साता र महीनाका लागि तस्करी बन्द हुने र त्यसपछि सञ्चालन हुने सबैलाई थाहा भएकै कुरा हो । पर्सा जिल्लाको इतिहासमा तस्करी बन्द भएको देख्न त के सुन्नमा पनि आएको छैन । नयाँ प्रहरी प्रमुखको आगमनमा भने दुई/चार महीना तस्करी हुने गर्छ । यस अघिका प्रहरी उपरीक्षक कोमल शाहले सरुवा भएर पर्सा आएपछि चार महीना तस्करी बन्द गरे । नेपाली काङ्ग्रेसबाट गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा आएका उनी लगत्तै चुनावपछि नेकाको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिलेपछि र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री भएपछि पर्सा जिल्लाको तस्करी बन्द राख्न बाध्य भएका थिए ।

 

तत्कालीन प्रउ शाह पूर्वप्रम देउवानजीक रहेर काम गरेकाले उनलाई उनकै पालामा पर्सा जिल्ला सरुवा गरिएको चर्चा चलेको थियो । तर संयोग नै भनौं देउवा सरकार ढल्यो र प्रउ शाह पर्सामा राम्रो काम गरेर देखाउन विवश भए । रवि लामिछाने नागरिकता काण्डमा फसे, पदमुक्त भए अनि एमाले–माओवादी समीकरण पनि ढल्यो र नेकाको सहयोगमा माओवादी अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बने । त्यसपछिको अवधिमा भने पर्सा जिल्लामा तस्करी कुन रूपमा खुल्यो यो कसैबाट लुकेको छैन । पर्सामा भर्खर आएका प्रउ ढुङ्गेल नेका गठबन्धनमा रहेको बखत पर्सामा सरुवा भएका हुन् । पर्सामा आउने प्रहरी प्रमुखलाई हतार हुन्छ पत्रकारसँग भेटघाट गर्ने, यहाँको वस्तुस्थितिको बारेमा बुझ्ने तर प्रउ ढुङ्गेलले त्यो परम्परा ब्रेक गरे । उनले आफ्नो छुट्टै दलबल ल्याएर पर्सा जिल्लाको सीमा नाकाहरूको अवलोकन गरे, वस्तुस्थिति बुझ्ने कार्य गरे । तर यसैबीच फेरि राजनीतिमा अर्काे संयोग बन्यो । नेकासँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष प्रम प्रचण्डले एमालेसँगको सहकार्यमा नयाँ मन्त्रिमण्डल विस्तार गरे अनि यो मन्त्रिमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री भए ।

रवि लामिछाने गृहमन्त्री भएपछिको केही दिनमा नै पर्साका प्रउ ढुङ्गेलले हिजो पत्रकारसँग भेटघाट गरे र यसअघि प्रहरी प्रमुखले गर्दै आएको उही पुरानै कुरा दोहो¥याए, तस्करी शून्यमा ल्याउँछु भनेर । अरूले बन्द गर्छु भन्दै आएका थिए यिनले शून्यमा ल्याउँछु भने फरक यत्ति मात्र हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट बिचौलिया हटाउने कुरा पनि गरेका छन् । यो कति पनि असम्भव छैन ।

आफ्नो मातहतको कार्यालयमा आफूले चाहेका असल काम गर्न सकिन्छ । तर तस्करी बन्द गर्ने कार्य एकजनाले आटेर गर्न सकिने काम होइन । यसमा धेरैजनाको स्वार्थ बाझिएको छ । तस्करी संस्थागतरूपमा हुँदै आएको छ । असम्भव केही हुँदैन तर असम्भवलाई सम्भव गर्न भने कठिन हुन्छ र यो काममा खरो उत्रिए सबैले वाहवाही गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here