मुम्बई, ४ चैत/एएनआई
विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले राजनीतिक जागरणका लागि आयोजना गरेको ‘जनन्याय पदयात्रा’ आइतवार मुम्बईको मणिभवन सङ्ग्रहालयबाट शुरू भई क्रान्ति मैदानमा पुगी समापन भएको छ । यससँगै अभियानको यो चरणको सबै कार्यक्रम सकिएको छ ।
आइतवार आयोजित पदयात्रामा केन्द्रीय नेता राहुल गाँधी, पार्टीका महासचिव प्रियङ्का गाँधी वाड्रा र अभिनेत्री स्वरा भास्करले सहभागिता जनाएका थिए ।
पदयात्रालाई गाँधी स्मारक स्तम्भमा पुगेर पुष्पहार अर्पण गरी नेता राहुलले यो चरणको जनन्याय यात्राको औपचारिक समापन गरेका हुन् ।
पदयात्रापछि आयोजित कोणसभामा अभिनेत्री स्वरा भास्करले राहुलले सञ्चालन गरेको भारत जोडो यात्राको दुई चरणको प्रशंसा गरेकी थिइन् ।
उक्त अवसरमा नागरिकता संशोधन ऐन (सिएए)का विषयमा केन्द्र सरकारको आलोचना गर्दै चुनावी घेराबाट बाहिर आएको वास्तविकता लुकाउन सत्ताधारी गठबन्धनले सिएएको अधिसूचना र नियमहरू जारी गरेको उनले बताइन् ।
सत्ताधारी गठबन्धनले १० वर्षदेखि जनतालाई मूर्ख बनाउन यो रणनीति प्रयोग गर्दै आएको उनले जिकिर गरिन् ।
काङ्ग्रेस महासचिव वाड्राले जनतालाई राष्ट्रको वास्तविक अवस्था जानकारी गराउन ‘भारत जोडो न्याय यात्रा’को आयोजना गरिएको बताइन् ।
उनले छ हजार ७०० किलोमिटर यात्रा गर्दै अभियान शनिवार मुम्बईमा पुगेको बताइन् । देशको वास्तविकता बुझ्नुको महŒवलाई जोड दिंदै नेता वाड्राले भनिन्, “राष्ट्रको बारेमा सत्य बुझ्नु महŒवपूर्ण रहेको र न्याययात्राले यो काम गरेको आफ्नो बुझाइ रहेको छ ।”
कार्यक्रममा राहुल गाँधीले जनचेतनामा जानाजानी आक्रमण भइरहेको र यसबारे जनतालाई सुसूचित गर्न ‘न्याययात्रा’ को अभियान चलाइएको र यसको औपचारिक समापन भएको बताए ।
उनले अभियानको अन्त्यसँगै प्रसिद्ध सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “देशवासीका आँखामा लुकेका आशा र ससाना सपनाहरू साथमा लिएर आएको छु ।”
उनले शनिवार भारत जोडो न्याययात्राको यो चरणको कार्यक्रमको समापन भएको र यो न्यायको लागि लडाइँको सुरुआत भएको तर अन्त्य नभएको बताए । रासस