मधेस आन्दोलनको क्रममा २०७२ सालदेखि वीरगंजमा ईरिक्शा सञ्चालनमा आएको हो । मधेस आन्दोलनताका दुईवटा ईरिक्शा सञ्चालनमा आएका थिए । अन्य सवारीसाधनहरूमा रोक लागे पनि नयाँ प्रयोगको ईरिक्शामा भने रोक नलाग्दा त्यतिखेर एकपछि अर्काे गरी आठ/दश वटा ईरिक्सा सञ्चालनमा आए । राम्रो आम्दानी हुने देखेपछि आन्दोलनपछि ईरिक्शाको व्यवसायले गति लिन थाल्यो र ईरिक्शाको सङ्ख्या बढ्न थाल्यो । रिक्शा, टाँगाको शहर भनेर चिनिने वीरगंज महानगरमा ईरिक्शाको सङ्ख्या बढेपछि यहीं एसेम्बल हुन थाल्यो । अहिले वीरगंजमा ईरिक्शा एसेम्बल गर्ने थुप्रै कारखाना छन् । ईरिक्शासँगै टेम्पो, सिटीराइड र अहिले ह्यास, म्याजिक भ्यानहरू सञ्चालनमा छन् । वीरगंज–पथलैया रूटमा सिटीराइड सञ्चालनमा छन् भने ह्यास र म्याजिक भ्यानहरू पनि सो रूटका साथै कलैया रूटमा पनि चलिरहेका छन् । सिटीराइड, ह्यास, म्याजिक भ्यानहरू विधिवत्रूपमा यातायातबाट रूट परमिटसहित तोकिएको क्षेत्रमा सञ्चालन हुँदै आएका छन् । उनीहरूले यातायातमा दर्ता, नवीकरण, महानगरपमा दर्ता आदि कानूनी प्रक्रियालाई पूरा गरेका छन् भने सवारी चालकहरूसँग पनि सवारी अनुमतिपत्र छ । तर ईरिक्शा, अटोधनीले भने यस प्रकारका कानूनी प्रक्रिया पूरा गरेका प्रमाणहरू छैनन् । जो कोहीले पनि ईरिक्शा, अटो खरीद गर्ने, विनाइजाजत प्रयोगमा ल्याइरहेका छन् ।

यातायात र महानगरपालिकाले यसको दर्ता, रूट परमिट, सवारी चालक अनुमतिपत्र आदिबारे शुरूदेखि चासो नदेखाएका कारण अहिले यसको सञ्चालन भद्रगोल अवस्थामा छ । रिक्शा, टाँगा र विक्रम टेम्पोले बद्नाम वीरगंजमा अहिले ईरिक्शा र टेम्पो समस्या भएका छन् । यातायातको तथ्याङ्कमा केवल अढाई सयको सङ्ख्यामा ईरिक्शा दर्ता छन् भने महानगरमा छ सयको हाराहारीमा दर्ता छन् । तर महानगरमा मात्रै छ हजारभन्दा बढी नै सञ्चालनमा छन् । महानगरपालिकामा दर्ता रहेका ईरिक्शा, टेम्पोहरूको रूट निर्धारण गरिएको छ । तर सोही रूटमा अनधिकृतरूपमा ठूलो सङ्ख्यामा ईरिक्शा, टेम्पो सञ्चालन हुँदा यसको सञ्चालनमा नियन्त्रण भएको छैन । अवैधरूपमा सञ्चालित ईरिक्शा र टेम्पोहरू ट्राफिक प्रहरीको लागि दुहुनो गाई भएको छ । जतिखेर पनि चेकजाँच गर्दा ५०, सयवटा समातिन्छन्, दण्डित हुन्छन्, केही सरकारको राजस्वमा दाखिला हुन्छ भने केही ट्राफिक प्रहरीको गोजीमा जान्छ । महानगरमा दर्ता छैन, यातायातमा दर्ता छैन, सवारीधनी कागजात र सवारी चालक अनुमतिपत्र पनि छैन । वयस्क, बूढादेखि नाबालकसमेतले मनोमानी तरीकाले चलाउँदै आएका छन् ।

भद्रगोल अवस्थामा रहेको ईरिक्शा, टेम्पोका कारण राजस्व दाखिला गर्दै कानूनी प्रक्रिया पूरा गरेर सञ्चालन हुँदै आएका सिटीराइड, ह्यास र म्याजिक भ्यानहरूलाई मर्का पर्नु स्वाभाविक हो । राजमार्गमा ईरिक्शा, टेम्पो सञ्चालन अनुमति छैन तर परवानीपुर, जीतपुर, सिमरा र पथलैयासम्म सञ्चालनमा आउँदा सिटीराइड, ह्यास र म्याजिक भ्यानलाई मर्का परिरहेको छ । हिजो बिहीवारदेखि ईरिक्शा, टेम्पोको अनधिकृत सञ्चालनको विरोध गर्दै आन्दोलनमैं उत्रेका छन् । उनीहरूको माग सम्बोधन हुनेगरी अव्यवस्थित ईरिक्शा, टेम्पोलाई व्यवस्थित गर्न जिम्मेवार निकाय अघि
बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here